काठमाडौं, मंसिर २७ । राजधानीमा जारी
राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बल
एपीएफ र क्षेत्र नम्बर ८ पोखरा विजयी भएका छन् । पुल्चोकस्थित
इन्जिनियरिङ्ग मैदानमा एपीएफले क्षेत्र नम्बर १ बिराटनगरलाई १ सय ६२ रनको
भारी अन्तरले हरायो ।
एपीएफले प्रस्तुत गरेको २ सय ७१ रनको लक्ष्य पछ्याएको बिराटनगरले ३५ ओभर १ बलमा सबै विकेट गुमाएर मात्र १ सय ८ रनमा जोड्यो । बिराटनगरका बिधान गोस्वामीले सर्वाधिक ३२ रन बनाए भने एपिएफका बषन्त रेग्मी र अमृत भट्टराईले ३–३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । एपीएफका सुवास खकुरेलले ८६ तथा परेश लोहनीले ६५ रन बनाए । बिराटनगरका मञ्जित श्रेष्ठले ४ विकेट लिए ।
उता, कीर्तिपुर मैदानमा पोखराले क्षेत्र नम्बर ६ बैतडीलाई २८ रनले हरायो । जारी प्रतियोगितामा पोखराको यो लगातार दोस्रो जित हो । पोखराले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याएको बैतडीले सबै विकेट ४३ ओभर २ बलमा गुमाएर मात्र १ सय ७३ रन बनायो ।
बैतडीका सन्तोष भट्टले अविजित ४२ रन बनाए । यसअघि पोखराले ४८ ओभर ४ बलमा ९ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । विजेता टोली पोखराका निश्चल पाण्डेले सर्वाधिक ७३ रन बनाए ।
बैतडीका यज्ञमान कुमालले ४ विकेट लिए । प्रतियोगिता अन्तर्गत भोलि कीर्तिपुर मैदानमा एपिएफले बैतडीको सामना गर्दा इन्जिनियङ्गि मैदानमा बिरगञ्जले नेपालगञ्जको सामना गर्नेछ ।
