२३ मंसिर, कैलाली । जनताको घरमा बास बस्ने
अभियान अन्तर्गत कैलालीको टीकापुर स्थित मुक्तकमैया शिविर पुग्नुभएका
प्रधानमन्त्री बाबुराम भट्टराईले मुसाको अचार, ढिकरी र जाँड खानुभयो ।
टीकापुर नगरपालीकाको विजयनगरका बाबुराम
चौधरीको घरमा बस्नुभएका प्रधानमन्त्रीलाई थारु परम्परा अनुसार स्वागत
सत्कार
गरिएको थियो । प्रधानमन्त्रीलाई दिन तयार पारिएको जाँड देखेर उहाँले
भन्नुभयो ‘मलाई मदिरा पिउने बानी छैन् तर, सम्मानको लागि एक घुट्को लिन्छु
।’ मुसाको अचार पनि प्रधानमन्त्रीले मिठो मानेर खानुभयो ।
थारु परम्परा अनुसार आफ्नो घरमा आउने
पाहुनाहरुका लागि मुसाको चटनी, जाँड तथा ढिकरीको परिकार खुवाउने र खुट्टा
धोएर ढोग्ने चलन रहेको छ । सोही परम्पराअनुसार बाबुरामको परिवारले
प्रधानमन्त्रीको स्वागत गरेपनि उहाँले खुट्टा धोएर ढोग्न भने मान्नुभएन ।
‘यो सामन्ती संस्कार चाहिं मलाई नगराउनुस’ भन्दै खुट्टा धुन दिन भट्टराईले
अस्वीकार गर्नुभएको थियो ।

प्रधानमन्त्री भट्टराईको स्वागतका लागि
पुरै मुक्त कमैया बस्तीका बासिन्दा २ दिनदेखि नै खानपान र बसोबास
व्यवस्थापनका लागि जुटेका थिए । ‘मुक्त कमैया शिविरमा प्रधानमन्त्री आउनु
भनेको सवै कमैयाको घरमा आउनु जस्तै हो’ भन्दै उनीहरुले प्रधानमन्त्रीको
स्वागत गरेका थिए । साँझ खानपानसँगै प्रधानमन्त्रीले मुक्त कमैयाका
गुनासाहरु पनि सुन्नुभएको थियो ।






