विश्वमा अझै पनि यस्ता थुप्रै देश छन्,
जहाँका मानिसहरु पेटभरी खान पाउँदैनन् । पछिल्ला अध्ययनहरुका अनुसार
भोकमरीका कारण ज्यान गुमाउनेहरुको संख्या ठूलो छ । तर, यही बिश्वमा
अर्कोथरि मानिसहरु पनि छन, जो खान नपाएर हैन, धेरै खाएर ज्यान गुमाइरहेका
छन् ।
एक
अध्ययनका अनुसार विश्वमा भोकमरीले भन्दा बढी मानिस धेरै खाएर मर्छन् । सन्
२०१० मा अहिलेसम्मको सबैभन्दा ठूलो स्वास्थ्य अध्ययनमध्येको एक अध्ययन
गरिएको थियो । उक्त अध्ययनमा
मृत्युको कारण विश्लेषण गरिएको थियो । जसलाई
२० वर्ष पहिले संकलन गरिएको तथ्यांकसँग तुलना गरियो, जतिबेला पोषणको अभाव
विमारी र मृत्युको मुख्य कारण थियो ।
अध्ययनले सन् २०१० मा विश्वमा मोटोपनका
कारण ३० लाख मानिसभन्दा बढीको मृत्यु भएको देखाएको छ । जुन कुपोषणका कारण
हुने मृत्यु भन्दा तीन गुणा बढी हो । मोटोपनको मुख्य कारण आवश्यकताभन्दा
धेरै खानु हो ।
रिपोर्टका अनुसार अफि्रकामा भने अहिले पनि असमयमै हुने मृत्युको कारण कुपोषण नै छ ।
अध्ययन रिपोर्टका सहलेखक क्वीन्सल्याण्ड
यूनिभर्सिटीका प्रोफेसर एलन लोपेज भन्छन्-’यो निष्कर्षले हामीलाई
आश्चर्यचकित पारेको छ । जब हामीले सबै प्रमाण हेरौं, पछिल्लो २ दशकमा
खासगरी बच्चाहरुमा कुपोषणको प्रभाव निकै घटेको छ । तर, मोटोपनका कारण हुने
विरामी तिब्र गतिमा बढिरहेको छ ।’
अध्ययनका अनुसार मोटोपन धनी देशहरु मात्र
हैन, विकासशील देशमा पनि ठूलो समस्या बन्दैछ । प्रोफेसर एलनले भन्नुभयो-’यो
अब धनी देशहरुमा मात्र समस्या रहेन । पछिल्लो दशकमा मोटोपनको समस्या
बढिरहेको छ । हैरानीमा पार्ने कुरा के छ भने विकासशील देशमा पनि मोटोपनको
चुनौती बढिरहेको छ ।’-बीबीसी
