शीर्ष बैठकमा जान नेताहरुको होडबाजी

गए चर्चा हुने, नत्र ओझेलमा
१९ मंसिर, काठमाडौं । केही हप्ताअघि एमाले पार्टी कार्यालयमा भएको विपक्षी दलहरुको बैठकमा आफ्नै पार्टी नेता अर्जुननरसिंह केसीलाई देख्दा कांग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल छक्क परे । बोलाउँदै नबोलाएको मान्छे कसरी आइपुग्यो भनेर उनीहरुले एमाले अध्यक्ष झलनाथ खनालसित खुसुक्क सोधीखोजीसमेत गरे । खनालको जवाफ थियो -’तपाईंकै पार्टी नेता, कसरी आइपुगे मैले कसरी भन्ने ?’
केसीलाई हामीले बोलाएका हैनौं, उसले जे पनि बोल्छ, अब अरु बैठकमा सहभागी नगराउनुस् । दुवैले खनाललाई सल्लाह दिए । बैठक आहृवान गर्ने जिम्मा पाएको एमालेले केसीलाई बोलाएको हो कि भन्ने उनीहरुको आशंका थियो । तर, खनालले आफूहरुले उनलाई नबोलाएको स्पष्टीकरण दिए । आफ्ना बारेमा आफ्नै नेताहरुले गरेको सो टिप्पणी केसीले भने पत्तै पाएनन् । स्रोतका अनुसार केसीलाई बैठकमा कसैले बोलाए पनि बैठक छ भन्ने थाहा पाएर उनी आफैं त्यहाँ पुगेका रहेछन् ।
पहिले अरु पार्टीसँग हुने छलफलमा निरन्तर सहभागी हुने र बैठकपछि पत्रकारसँग बोल्न अघि सर्ने कांग्रेस नेता केसी हिजोआज ओझेलमा परेका छन् । अहिले उनलाई न कोइरालाले सम्झन्छन्, न शेरबहादुर देउवाले । बैठक छ भन्ने थाहा भयो र त्यहाँ जान मिल्ने भयो भने केसी आफैं कुद्छन् । पत्रकारले सोधी हालेमा बोल्छन् पनि ।
हरेक दिनजसो हुने दलहरुको छलफलमा नियमित सहभागी हुनेलाई सबैले चिन्ने र उनीहरुको चर्चा पनि हुने भएकाले नेताहरु यस्ता ठाउँमा जान हानथाप गर्छन् । तर, जान खोज्ने सबैले यसैगरी मौका पाउँदैनन् । बैठकमा सहभागी हुनेहरु शीर्ष नेताको कोटीमा पर्ने र नहुने चाहिँ ओझेलमा पर्ने भएकाले नेताहरुमा यस्तो हानथाप बढेको हो ।
एमाओवादीमा प्रचण्डको एकाधिकार
अरु दलसँगको शीर्षबैठकमा सहभागी हुन एमाओवादीबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्षहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश नै पुग्ने गर्छन् । तर, भट्टराई प्रधानमन्त्री भएका कारण हिजोआज उनी कम मात्रै यस्ता बैठकमा सहभागी हुन्छन् । एक त विपक्षीले भट्टराई देखीसहँदैनन् । अर्को कुनै कुनै बैठकमा प्रधानमन्त्रीको हैसियतले बस्न नमिल्ने पनि हुन्छ । यसकारण धेरैजसो बैठक प्रचण्ड र श्रेष्ठले नै धान्दै आएका छन् ।
पार्टी नेताहरु पोष्टबहादुर बोगटी, अमिक शेरचन, गिरिराजमणि पोखरेल, अग्नीप्रसाद सापकोटालगायतका नेताहरु पनि हिजोआज बैठकमा सहभागी हुने गरेका छन् । मोहन बैद्य, रामबहादुर थापा, देव गुरुङलगायतका नेताहरु छुट्टएिर हिँडेपछि यी नेताहरुको पालो आएको हो । तर, सबै बैठकमा यी नयाँ अनुहारको सहभागिता हुँदैन । प्रचण्डले जसलाई बोलाए, उसकै पालो आउँछ । ’हामीमा यही जाने भन्ने हुँदैन, अध्यक्षज्यूले बोलाएका आधारमा जाने हो’ मओवादी नेता गिरीराजमणि पोखरेलले भने-’उहाँले बोलाउनुभयो भने कहिलेकाहीँ जाने हो, तर मलाई त्यसरी चर्चा हुने ठाउँमा जाने रहर छैन ।’
माओवादी स्रोतका अनुसार पहिले श्रेष्ठलाई साथ लिने प्रचण्ड हिजोआज या त एक्लै, या बोगटी वा सापकोटालाई लिएर हिँड्छन् । पार्टी विभाजन हुनुअघि विपक्षीसँग चर्को कुरा गर्ने बेला उनले देव गुरुङलाई अघि सार्थे भने नरम कुरा गर्ने बेलामा गुरुङलाई लाँदैनथे ।
कांग्रेसका कोही ओझेलमा
मुलुकमा लोकतन्त्र स्थापना भएपछि अन्तरिम संविधान, संविधानसभा, माओवादी सेना र हतियारको व्यवस्थापन लगायतका विषयमा हुने वार्ता र बैठकमा कांग्रेसबाट डा. शेखर कोइराला, चक्रप्रसाद बास्तोला, रमेश लेखक कहिल्यै छुट्दैनथे । तर, हिजोआज कोइराला र बास्तोला गुमनाम जस्तै भैसकेका छन् । हिजोआज हराउनुभयो नि भन्ने अनलाइनखबरको प्रश्नमा बास्तोला भन्छन् -’अब मभन्दा अरु शीर्ष भए होला, त्यसैले बोलाउँदैनन् र जान्न पनि ।’ पार्टीमा जिम्दारी प्रथा भएकाले यस्तो भएको उनको गुनासो छ ।
अरु दलसँग बैठकमा जानुपर्दा कोइरालाले पौडेल र सिटौलालाई कहिल्यै छाड्दैनन् । सिटौलाको सिफारिसमा हिजोआज मिनेन्द्र रिजाल पनि बाक्लै उपस्थित हुने गरेका छन् । त्यसपछि रामशरण महत, प्रकाशशरण महत, प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू, रमेश लेखकको पालो आउँछ । अलि विशेष बैठक हुँदा शेरबहादुर देउवा पनि सहभागी हुने गर्छन् ।
एमालेमा दुईजना शीर्ष
मंगलबार राष्ट्रपतिले डाकेको छलफलमा अरु सबै दलक अध्यक्ष र सभापति मात्र सहभागी भए । तर, एमालेबाट चाहिँ पार्टी अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल दुवै सहभागी भए । पार्टी अध्यक्षको हैसियतले खनाल र पार्टीको वार्ता टोली संयोजकको नाताले नेपाल पुगेका हुन् । पार्टी अध्यक्ष खनाल भएपनि एमालेमा नेपालले पनि आफूलाई उत्तिकै शीर्षस्थानमा राख्न चाहन्छन् । त्यसो त अरु पार्टीले पनि खनाललाई भन्दा नेपाललाई नै बढी विश्वास गर्छन् । विगतको अनुभव, समस्या समाधानको कार्यसूची बनाउने र तर्क गर्ने क्षमताका कारण खनालभन्दा नेपाल बलियो देखिएका हुन् ।
खनाल र नेपाल जस्तै भीम रावलले कुनै पनि बैठक छुटाउँदैनन् । एक त उनी आफैं बैठकमा जान अग्रसर हुन्छन् । त्यसबाहेक बैठकमा हुने छलफल र एजेण्डालाई ल्यापटपमा लिपिबद्ध बनाएर राख्ने, कानुनका कुरा आउँदा तर्क गर्न सक्ने र बोल्ने क्षमता पनि राम्रो भएकाले खनाल र नेपाल दुवैले उनलाई मन पराउँछन् । त्यसपछि प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, बामदेव गौतम, विष्णु पौडेल, शंकर पोखरेल, भरतमोहन अधिकारी लगायतका नेताहरुको पनि पालो आउँछ । स्रोतका अनुसार बैठकमा सीमित मान्छे मात्रै जानुपर्यो भने को को जाने भनेर छनोट गर्न एमालेलाई मुश्किल पर्छ । कहिलेकाहीं खनाल र नेपालको पनि राय बाझिन्छ । कांग्रेसमा देउवा जस्तै एमालेमा केपी ओली पनि विशेष बैठक हुँदा सहभागी हुन्छन् । उनी उपस्थित भएको बैठकलाई अरु दलले पनि महत्वको रुपमा लिन्छन् ।
मोर्चामा पनि उस्तै समस्या
सत्तारुढ मधेसी मोर्चाका शीर्षनेताहरुमा महन्थ ठाकुर पहिलो नम्बरमा पर्छन् । तर, सरकारमा जाँदा सबैभन्दा ठूलो दल भएको र मोर्चाको नेतृत्व पनि गरेकाले विजयकुमार गच्छदार आफैंलाई शीर्ष ठान्छन् । त्यसैले धेरै संयुक्त बैठकमा उनी नै सहभागी हुन्छन् । ठाकुर र राजेन्द्र महतो कहिलेकाहीँ मात्र सहभागी हुन्छन् । पहिले बैठक र छलफलमा बाक्लै उपस्थित हुने हृदयेश त्रिपाठी, महेन्द्र यादवलगायतका मधेसी नेताहरु अहिले गुमनामजस्तै भएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......