१४ पुस, काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छादारले भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रयास गरेका छन् । भारतीय नागरिक रामचेत यादब (आरसी यादब) लाई गच्छादारले अंगीकृत नागरिकता दिलाउन खोजेका हुन् ।
हाल कैलालीमा बसोबास गर्दै आएका यादब भारत उत्तरप्रदेश राज्यको खिरी जिल्ला स्थित लक्षीमापुरका स्थायी बासिन्दा हुन् । भारतीय नागरिक यादबलाई गच्छादारले यसअघि नै उनको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य बनाएका छन् । आफू गृहमन्त्री रहेकै बेला शक्ति प्रयोग गरेर उनले यादवलाई नागरिकता दिलाउने प्रयास गरेको नयाँ पत्रिकामा खबर छ ।
मन्त्रालयको स्रोत अनुसार गृहमन्त्री गच्छादारले यादवलाई अंगीकृत नागरिकता दिलाउन अपनाउनुपर्ने सवै प्रक्रिया छिटोभन्दा छिटो पूरा गर्न मन्त्रालयको नागरिकता महाशाखासमेत हेर्ने सहसचिव भोला सिवाकोटीलाई निर्देशन दिएका छन् । गृहमन्त्री गच्छादारको दवाव बढेपछि सहसचिव सिवाकोटीले उनलाई नागरिकता दिन कैलाली प्रशासनलाई पठाएको फाइलको अध्ययन थालेका छन् । महाशाखाका अधिकारीहरुले भने यादवलाई नागरिकता दिनु नयिमविपरीत हुने भन्दै फाइल अघि बढाउन नहुेनमा जोड दिएका छन् ।
गृहमन्त्रीको तिब्र दवाव रहिरहेमा यादवलाई नेपाली नागरिकता दिने फाइल अगाडी बढाउन बाध्य हुनुपर्ने अवस्था रहेको मन्त्रालयका एक कर्मचारीले बताएका छन् ।

