आफ्नै सरकारले संबिधान संशोधन गर्न र चुनाबको तिथि तोक्न पाउनुपर्ने
३० मंसिर, काठमाडौं । प्रधानमन्त्री डा.
बाबुराम भट्टराईले शनिबार राष्ट्रपतिसँगको भेटमा दलका नेतालाई सहमतिको
गृहकार्यका लागि आफूले लिखित बुँदा उपलब्ध गराएको जानकारी दिनुभएको छ ।
तिनै बुँदा बोकेर कांग्रेस नेता कृष्णप्रसाद सिटौला यतिबेला दौडधूप
गरिरहनुभएको छ । प्रधानमन्त्री भट्टराईले तयार पार्नुभएको पूर्वशर्तसहितको
उक्त प्रस्ताव एमालेलगायत अन्य दलका हातमा समेत पुगिसकेको छ ।
प्रधानमन्त्री
डा. भट्टराईले चुनावको मिति र त्यसका लागि आवश्यक संवैधानिक एवं कानूनी
अड्चनहरु आफैंले नफुकाई कांग्रेसलाई सत्ता सुम्पन नसकिने अडान उक्त
प्रस्तावमा राख्नुभएको छ । आफ्नै सरकारले चुनावको तिथि तोक्नुका साथै बाधा
अड्काऊ फुकाऊमार्फत् संविधान संशोधन गरेपछिमात्रै सुशील कोइरालालाई सत्ता
हस्तान्तरण गर्ने पूर्वशर्त प्रधानमन्त्रीले राख्नुभएको छ ।
चुनावको टुंगो नलगाई सत्ता छोड्दा
कांग्रेस र राष्ट्रपति मिलेर मुलुकलाई झन् दुर्घटनातर्फ लैजान सक्ने भन्दै
प्रधानमन्त्रीले आफ्नै सरकारद्वारा संविधान संशोधन गर्न पाउनुपर्ने शर्त
राख्नुभएको हो ।
‘संबिधानसभाको चुनाव हुने निश्चितता हुने
सर्तमा माओवादीले सरकारको नेतृत्व छाड्न तयार छ । बैशाखमा संबिधानसभाको
चुनाव हुनका लागि पुस १५ भित्र जसरी पनि निर्वाचनसम्बन्धी कानुनहरु संसोधन
हुनुपर्छ र मिति तोकिसक्नुपर्छ ।’-प्रधानमन्त्री भट्टराईको भनाइ उधृत गर्दै
स्रोतले अनलाइनखबरसित भन्यो ।
‘अहिले राष्ट्रपतिले अध्यादेश रोकेर
बसिरहनुभएको छ, चुनाव गर्नलाई यसअघि सरकारले सिफारिस गरेका अध्यादेश र अब
चुनाव गर्नका लागि सिफारिस गरिने अध्यादेश तत्काल जारी गर्नुपर्छ ।
निर्वाचनको मिति तोक्ने र त्यसका लागि चाहिने सबै कानुनी प्रावधानहरु यही
सरकारले मिलाउनुपर्छ । चुनाव हुने निश्चित भएपछिमात्रै हामी कांग्रेसलाई
नेतृत्व दिन तयार छौं ।’-प्रधानमन्त्रीको प्रस्ताव छ ।
‘हाम्रो चिन्ता र शंका के हो भने यही
अवस्थामा सरकारको नेतृत्व छाड्ने हो भने विगतको संबिधानसभाले स्थापित गरेका
एजेण्डालाई कांग्रेसले मान्दैन र संबिधानसभाको चुनाव पनि गर्दैन ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर अनन्तकालसम्म सत्ता लम्ब्याइरहन्छन र
चुनाव पनि गर्दैनन् । त्यसैले चुनाव हुने सुनिश्चित गर्नका लागि के-के
गर्नुपर्ने सबै अहिल्यै गरौं । चुनाव हुन्छ भन्ने ग्यारेन्टी भए हामी
नेतृत्व छाड्न तयार छौं ।’, प्रधानमन्त्री भट्टराईको भनाइ उधृत गर्दै
स्रोतले भन्यो ।
‘उहाँहरुले अहिले जे गर्ने हामी
गरिहाल्छौं नि किन शंका गर्नुहुन्छ भन्नुहुन्छ, त्यो तरिकाले हुँदैन, चुनाव
हुने सुनिश्चित हुनैपर्छ ।’ प्रधानमन्त्रीको जोड छ, ‘हामी लड्यौँ भने यो
प्रकृया भत्किने त निश्चित नै छ । त्यसैले यो प्रकृयालाई बचाउन हामी लचिलो
हुन तयार भएको हो ।’
प्रधानमन्त्री छाड्न आतुर, बुद्धिजीवीद्वारा नछाड्न दबाव
स्रोतका अनुसार प्रधानमन्त्री भट्टराई
सहमतिका लागि तत्काल पद त्याग गर्न आतुर देखिनुभएको छ । तर, चुनावको
ग्यारेन्टीविनै सरकार छाड्दा मुलुकको राजनीति झन् दुर्घटनामा पर्ने भन्दै
शुक्रबार केही नाम चलेका बुद्धिजीवीहरुले सुशील कोइरालाले चुनाब गराउन
नसक्ने ठोकुवा गर्दै विनाशर्त कांग्रेसलाई सरकार जिम्मा नलगाउन
प्रधानमन्त्री डा. भट्टराईलाई दबाव दिएका छन् ।
उता, नेपाली कांग्रेसले भने प्रधानमन्त्री
भट्टराईले राख्नुभएको प्रस्ताव मान्ने संकेत अहिलेसम्म दिएको छैन ।
राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई दिनुभएको चौथो चरणको समयसीमा सोमबार
सकिँदैछ ।
