३० मंसिर, रुकुम । रक्षक नै भक्षक भएपछि
कसको के लाग्नु र ? स्थानैपिच्छे श्रीमती फेर्दै हिँड्ने एक प्रहरीमाथि
यहाँका महिलाले अविलम्ब कारबाही गर्न माग गरेका छन् ।
बर्दिया स्थायी घर भई हाल इलाका प्रहरी
कार्यालय लुहाम सल्यानमा कार्यरत प्रहरी जवान सचेतन लामिछानेलाई
अन्तरपार्टी महिला सञ्जाल रुकुमले कारबाहीको माग गरेको हो । रुकुम बस्दा
रुकुमकोटकी सुनिता सुनारसँग बिहे गरी अलपत्र पारेको आरोप सञ्जालले लगाएको छ
। दुई वर्षअघि सुनितासँग बिहे गरेका लामिछानेले छोरी जन्मेसँगै सुनितालाई
बेवास्ता गर्दै आएका छन् । मेरो सम्पत्ति देखेर पछि लागेकी चरित्रहीन आइमाई
भन्दै लामिछानेले सुनितालाई धम्क्याउने गरेको सञ्जालकी सल्लाहकार तथा
नेपाल महिला सङ्घ रुकुमकी सचिव मनिषा भण्डारीले बताउनुभयो ।
सञ्जालका अनुसार प्रहरी लामिछानेले
सुनितासँगै अन्य चार महिलासँग पनि बिहे गरेका छन् । रुकुमकै कोल गाविसकी एक
किशोरीबाट छोरी जन्माएका उनले सुरुमा रुकुम सरुवा भएर आउँदा अर्की श्रीमती
ल्याएका थिए भने हाल दाङ भैसी नाकाकी एक महिलासँग बिहे गरेका छन् ।
उनीबाट पनि एक छोरी रहेको पाइएको छ ।
एक/एक छोरीसहितकी यसअघिकी दुईवटी श्रीमती हाल कहाँ छन् भन्ने पनि केही
नखुलेको सञ्जालले बताएको छ । न्याय र उचित क्षतिपूर्तिको निम्ति सुनिताले
सञ्जाललाई गुहारेपछि उनलाई न्याय दिलाउन सञ्जाल लागि परेको हो ।
क्षतिपूर्ति दिनुपर्ने, बिहे दर्ता र छोरीको जन्मदर्ता गराउनुपर्ने माग
राखेर सञ्जालसहित जिल्लास्थित अन्य सरोकारवाला निकाय अहिले आन्दोलनमा छन् ।
पीडित सुनितालाई न्याय दिलाउन उनीहरु दिनहुँ जिल्ला प्रशासन र जिल्ला
प्रहरीमा धाइरहेका छन् ।
आरोपित लामिछानेलाई रुकुम झिकाएर
दुवैपक्षबीच सल्यानमा गएर बिहे दर्ता र छोरीको जन्मदर्ता गराउने समझदारी
भएको भएपनि समझदारी नमानेर ऊ भागेर गएपछि समस्या जटिल बनेको सञ्जालकी
सल्लाहकार भण्डारीले बताउनुभयो । “ऊ कार्यरत जिल्ला सल्यान गएर व्यक्तिगत
घटना दर्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा बिहे र छोरीको जन्मदर्ता
गर्ने समझदारी भएको थियो”, भण्डारीले भन्नुभयो -”तर ऊ सुनितालाई नलिएरै
यहाँबाट भागेछ ।”
अर्की श्रीमतीका साथ रुकुम आएका लामिछाने
यहाँबाट भागेपछि महिलाले पुनः जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब
उपरीक्षक राजेन्द्रप्रसाद भट्टसँग छलफल गरेका छन् । आफूहरुसँगको छलफलका
क्रममा डिएसपी भट्टले जिम्मेवार मान्छेसँग सुनितालाई सल्यान पठाई त्यतैको
प्रहरीको सहयोगमा पीडितलाई न्याय दिलाउन प्रयास गर्ने बताएको अन्तर पार्टी
सञ्जालकी सदस्य निर्मला गिरीले बताउनुभयो ।
यदि त्यसो गर्दा पनि सुनिताले न्याय नपाए
प्रहरी जवान लामिछानेलाई पुनः जिल्लामा झिकाउने समझदारी रुकुम प्रहरी र
महिला सञ्जालबीच भएको बताइएको छ । रासस
