१, पुस काठमाडौं । राजधानीको त्रिचन्द्र
क्याम्पसका ४३ जना विद्यार्थीले कुनै पनि प्रक्रिया पूरा नगरी स्नातकोत्तर
दोस्रो वर्षको परीक्षा दिएको खुलेको छ । स्ववियुका केही पदाधिकारी र
विद्यार्थी नेताको दबाबमा उनीहरूले परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट
प्रवेशपत्र लिई समाजशास्त्र तथा ग्रामीण विकास विषयमा परीक्षा दिएका हुन् ।
घटनाबारे उजुरीपछि छानबिन थालेको
राष्ट्रिय सतर्कता केन्द्रको टोलीले उनीहरूका लागि पशुपति बहुमुखी
क्याम्पसको छुट्टै हलमा व्यवस्था मिलाइएको फेला पारेको छ । ‘दोस्रो वर्षको
परीक्षा सुरु हुने अघिल्लो दिन र्फम भरेर जाँच दिएको भेटियो,’ केन्द्र
स्रोतले कान्तिपुरसित भन्यो, ‘स्ववियुका पदाधिकारी र विद्यार्थी संगठनको
दबाबमा छुट्टै कोठामा राखेर यसरी जाँच दिन पाएकाहरूलाई छुट्टै हलमा चिट
चोर्ने सुविधा थियो ।’
अघिल्लो दिन नै र्फम भरेको थाहा पाउनासाथ
स्ववियुका केही असन्तुष्टले केन्द्रमा उजुरी दिएका थिए । घटनाबारे उजुरीपछि
राष्ट्रिय सतर्कता केन्द्रले टोली नै गठन गरेर छानबिन थालेको छ । छुटेका
सबै फारममा त्रिचन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख शंकर भण्डारीको
हस्ताक्षर छ । तर उनले ती सबै फारममा आफूले हस्ताक्षर नगरेको प्रतिक्रिया
दिए । ‘रूजु भएर आएका फारममा सधैं हस्ताक्षर गरिन्छ, तर सबै हस्ताक्षर मेरा
होइनन्,’ भण्डारीले भने, ‘छानबिनपछि मात्रै कति फर्जी हुन् थाहा होला ।
मैले गलत काम गरेको छैन । पुष्टि भए कारबाही भोग्न तयार छु,’ कान्तिपुर
दैनिकमा खबर छ ।
स्रोतका अनुसार शुल्क र विलम्ब
जरिवानासमेत गरी ६५ हजार रुपैयाँभन्दा बढी रकमको भौचरसमेत साथमा पठाएको छ ।
‘उक्त भौचरसमेत नक्कली हुनसक्ने आशंका छ,’ केन्द्र स्रोतले भन्यो, ‘आवश्यक
परे बैंक भौचरसमेत छानबिन हुनेछ ।’
हालसम्मको छानबिनका क्रममा ४३ जना
विद्यार्थीले अघिल्लो वर्ष त्रिचन्द्र क्याम्पसमा नियमित विद्यार्थीले पूरा
गर्नुपर्ने प्रक्रिया पालना नगरेको र दोस्रो वर्षसमेत भर्ना नभई एकैचोटि
परीक्षा र्फम भरेको केन्द्रको आशंका छ । अघिल्लो वर्ष उनीहरू भर्ना भए,
नभएको यकीन नभएकाले केन्द्रले छानबिन गर्दैछ । स्ववियु पदाधिकारीको
दबाबसामु निरीह बनेर क्याम्पस प्रशासनले छुट विद्यार्थीको र्फम र शुल्क
संकलन गरी दर्ता गरिदिन आग्रहसहित बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा
पत्र पठाएको भेटिएको छ । ‘सरसर्ती हेर्दा सेटिङ मिलाएर चिट चोर्ने
उद्देश्यले एकैपटक सबै काम गरेको देखिन्छ,’ स्रोतले भन्यो । घटनापछि
केन्द्रले उपसचिव शेरबहादुर ढुंगानाको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक
गणेश गिरी र नायब निरीक्षक बुद्धिराम खनाल रहेको समिति गठन गरेको छ ।
छानबिन जारी रहेको भन्दै समितिमा रहेकाहरूले कुनै प्रतिक्रिया दिन अस्वीकार
गरे ।
त्रिचन्द्र क्याम्पस प्रशासनबाट
प्राप्त कागजातअनुसार, मंसिर १३ गतेदेखि सुरु हुने परीक्षाका लागि १० गते
र्फम भरिएको थियो । विलम्ब शुल्कसहित संकलन गरिएको छुट र्फम स्वीकार गर्न
आग्रह गर्दै सहायक क्याम्पस प्रमुख शंकर भण्डारीले हस्ताक्षर गरेको पत्र
परीक्षा नियन्त्रण कार्यालय बल्खु पठाइएको थियो । पछि छानबिन टोलीका
सदस्यहरूसँगको कुराकानीमा बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयका
पदाधिकारीले समेत कागजात र हस्ताक्षर नक्कली हुनसक्ने आशंका गरेको
केन्द्रको स्रोतले जनायो । ‘यदि उनको प्रतिक्रिया सही भए फर्जी कागजातका
आधारमा त्रिभुवन विश्वविद्यालयमा सयौं नक्कली परीक्षार्थीले जाँच दिएको
हुनुपर्छ,’ स्रोतले भन्यो ।
सक्कलीले पाएनन्
प्रक्रिया नपुर्याएका र भर्नासमेत नभएका
विद्यार्थीलाई राजनीतिक दबाबका भरमा परीक्षाको सुविधा दिने त्रिभुवन
विश्वविद्यालयले फारम हराएका वास्तविक विद्यार्थीलाई परीक्षाबाट वञ्चित
गरेको थियो । भद्रगोल र अव्यवस्थित कार्यालयमा कर्मचारीहरूको लापरबाहीका
कारण फारम हराउँदा गत वर्ष २५ जना विद्यार्थीले परीक्षा दिन पाएका थिएनन् ।
प्रधानमन्त्री मातहतको हेलो सरकारले गत वर्ष फारम भरेका र हराएका
विद्यार्थीलाई परीक्षाबाट वञ्चित नगर्न निर्देशन दिएपछि त्रिविले परीक्षा
लिएको थियो । ‘निर्देशन पनि त्रिविले हाम्रो परीक्षा त लियो, तर नतिजा नै
प्रकाशित भएन,’ पीडितमध्येकी एक कृष्णा पौडेलले भनिन्, ‘कर्मचारीको
लापरबाहीले फारम हराउँदा हामी पीडित हुनुपर्यो ।’
