४ पुस, काठमाण्डौं । एकीकृत नेकपा
माओवादीका अध्यक्ष प्रचण्डका व्यापारिक साझेदार अजेय सुमार्गीलाई कृषि
मन्त्रालयबाट टपक्क टिपेर अख्तियारको सचिवमा लगिएका गणेश जोशीको ‘बरद
बाहुली’बाट सातखत माफ दिने काम भएको छ ।
आजको
जन आस्था साप्ताहिकमा प्रकाशित समाचार अनुसार सुमार्गीमाथि कारबाही गर्न
घुँडा धसेर लागेको सार्वजनिक लेखा समिति संविधानसभा विघटनसँगै आर्यघाट
पुगेर दल तथा देशवासीहरु सहमति र सत्ता परिवर्तनको खेलमा रमिते बनिरहेका
बेला अघिल्लो हप्ता सुटुक्क सुमार्गीको नेपाल स्याटलाइट टेलिकमलाई अभयदान
दिने र सोमबार हुने सर्वोच्चको सुनुवाईमा न्यायाधीशलाई फकाईफुल्याई गर्न
सजिलो पार्ने तारतम्थ मिलाईएको हो । बाबुराम प्रचण्डको सहमतिमा दूरसञ्चार
प्राधिकरणमा दिगम्बर झाको नियुक्ति हुनु र उनले कार्यभार सम्हाल्ने
वित्तिकै टेबलमा सुमार्गीलाई चोख्याउने अख्तियारको पत्र आइपुग्नुबीच गजबको
संयोग देखिएको छ ।
नेताको आडमा व्यापारीले कसरी फाइदा
लिन्छन् जान्नुपरेमा व्यापारिक साझेदारको कम्पनीले पाएको सफाइले देखाउँछ ।
सुमार्गीको नेपाल स्याटलाईट मोबाइललाई झन्डै कौडीको मोलमा जिएसएम मोवाइल
सञ्चालन गर्ने लाइसेन्स प्रचण्ड प्रधानमन्त्री हुँदा उपलब्ध गराइएको थियो ।
यो प्रकरणमा विघठित संविधानसभाको सार्वजनिक लेखा समितिले छानविन गरी
सम्बद्ध व्यक्तिमाथि कारबाहीका निम्ति कडा सिफारिस गर्यो ।
संवैधानिक निकायमा मुद्दा रहँदै कम्पनी नै
बेचेर कुस्त नाफा प्रचण्डसमक्ष पस्किसकेका उनलाई अख्तियारले गत साता
चोख्याइदिएको हो । अनुसन्धान अधिकृत समीर सिलवालको हस्ताक्षर भएको पत्र
लेखिएको छ,’नेपाल दूरसञ्चार ऐन ०५३ को दफा २३ को फरक फरक उपदफाको आधारमा
अनुमतिपत्र प्रदान गरेको देखिँदा थप छानविन गर्नुपर्ने नदेखिएकाले उजुरी
तामिलीमा राखि लगत कट्टा गर्नेगरी मिति ०६९/८/२१ मा निर्णय भएको बेहोरा
जानकारी गराइएको छ ।
