फिरौती बुझाए पनि छोरा फिर्ता दिएनन्

वीरगन्ज, पुस ८ – झन्डै तीन महिनाअघि अपहरणमा परेका छोराको रिहाइका लागि अपहरणकारीलाई परिवारले फिरौतीबापत १० लाख बुझाइसक्यो । तैपनि छोरा घर फिर्ता नभएपछि परिवार बिलखबन्दमा परेको छ । चारैतर्फबाट हार खाइसकेपछि अपहरण भएको ७० दिनपछि परिवारले शनिबार पत्रकार सम्मेलन गरी अपहरित छोरोको अवस्था
बुझिदिन आग्रह गरेको हो । ‘फिरौती रकम दिएको डेढ महिना बितिसक्दा पनि छोरो घर फिर्ता आएको छैन,’ पत्रकार सम्मेलनमा भक्कानिँदै राजुकी आमा अनितादेवीले सुनाइन् । अपहरणकारीले भनेको व्यक्तिलाई बिहारको मोतीहारी लखौरानिवासी विनोद सिंहलाई १० लाख बुझाएको अपहरितका बाबु शम्भुले जानकारी दिए । ‘फिरौती दिएको २ दिनपछि छोरालाई बाराको सिमरामा छाडिदिने बताएका थिए,’ शम्भुले भने, ‘आज ४० दिन बितिसक्यो ।’ शुक्रबार छाडिदिने दिएको म्याद पनि सकेपछि हार खाएर पत्रकार सम्मेलन गरेको उनले खुलाए । अपहरण भएदेखि छोरासँग फोनमा सम्पर्क नभएको परिवारले जनाएको छ । भारतीय नम्बरबाटै अपहरणकारीसँग कुरा हुने गरेको छ ।
‘गत असोज २७ गते वीरगन्जको घन्टाघरचोकस्थित एक पीसीओ पसलबाट छोरो राजु प्रजापतिको मोबाइलमा फोन आएको थियो,’ बुवा शम्भु पण्डितले भने, ‘माईस्थान मुख्य सडकको कपडा पसलमा बसेको छोरा फोन गर्नेलाई भेट्न गएपछि फर्केको छैन ।’ राजुले बोक्ने मोबाइल नम्बरको कल विवरणबाट प्रहरीले अन्तिम फोन घन्टाघरको पीसीओबाट आएको जनाएको थियो । तीन दिनपछि राजुकै नम्बरबाट अपहरणकारीले घरमा फोन गरेर पैसा माग गरेपछि कान्छो छोरो अपहरणमा परेको ५२ वषर्ीय पण्डितले
बताए । उनले भने, ‘सुरुमा ७० लाख माग गरेका थिए ।’ एक महिनाको मोलमोलाईपछि १० लाखमा सहमति भएको थियो । फिरौती लिए पनि छोरा घर नफर्केपछि परिवारले फिरौती रकम लिने भारतीय विनोद सिंह र उनका सहकर्मी विनय सिंहमाथि मोतीहारी प्रहरी चौकीमा एफआईआर दर्ता गराएको छ । ‘एफआईआर दर्ता गराएको दुई हप्ता बित्दा पनि मोतीहारी प्रहरीले कुनै पहल गरेको छैन,’ राजुका बुवा शम्भुले भने । पर्सा प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले अपहरणकारीले प्रयोग गर्ने सीमाको लोकेसन पत्ता लगाएर मोतीहारी प्रहरीको सहयोगमा करिब आधा दर्जन ठाउँमा छापा मारेको बताए । ‘अपहरणकारीको नाम, ठेगाना र फोटोसहितको पहिचान भइसक्यो,’ एसपी अधिकारीले भने, ‘अपहरणकारी भारतीय भएकाले पक्राउ गर्न समस्या परेको हो ।’
Source:ekantipur

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......