‘सपनाको अवसान’ नलेखेको भए हुन्थ्यो

**चर्चित ढुंगेल**

सन् २०११ जुलाईमा विश्व नेपाली साहित्य महासंघ ब्रुनाइले ‘विश्व खुल्ला अडियो कविता प्रतियोगिता’ आयोजना गरेको थियो । विश्वका २७ देश र नेपालका १९ जिल्लाका कविहरुले सो प्रतियोगिताका भाग लिएका थिए । कतारबाट मसहित ११ जना कविहरुले सहभागिता जनाएका थियौँ । संयोगले मेरो कविता प्रथम भयो । विश्वकै नेपालीभाषी साहित्यप्रेमीहरुले मेरो कविता मन पराए ।
मलगायत हाम्रो संस्था नवोदित साहित्यिक मोवाइल पुस्तकालयलाई कविताले केही हदसम्म चिनायो । त्यो वेला म संस्थाको सचिव थिएँ । संस्थाका साथीहरु, बिभिन्न साहित्यिक संस्था, जिल्लाका संस्था, समाजका अगुवा र त्यो वेलाका राजदुतलगायतले बधाइ पनि दिए । मान्छे अरुले सम्मान दिनलायक केही उपलब्धी गरेपछि फुरुङ्ग हुनेरहेछ । म पनि भएँ । जीवनमै मैले अरु कुनै कविता नलेखे पनि म कवि भएँ । मलाई ‘यो मान्छे कवि हो’ भनेर चिनाउने कविता ‘सपनाको अवसान’ यतिखेर आएर ‘मैले नलेखेको भए हुन्थ्यो’ भन्ने लागेर आएको छ ।


जीवनको कुनै कालखण्डमा मान्छेले राखेको धारणा वा बिचार समयको अर्को कालखण्डमा परिवर्तन हुने रहेछ । आफैँले लेखेको कुनै सदाबहार गीत समयको अर्को कुनै कालखण्डमा ‘यस्तो लेखेको भए हुने’ वा ‘नलेखेको भए हुने’ भन्ने बिचार आउने रहेछ । हो, मलाई अहिले ‘सपनाको अवसान’ नलेखेकै भए हुन्थ्यो भन्ने लागेर आएको छ । मैले अरु कुनै कविता नलेखेकोमा मलाई यस्तो लागेको होइन । हुन त साथीहरुले ‘चर्चित दुर्घटनामा परेर प्रथम भयो’ भन्छन् । शिव अधिकारी एउटै गीत ‘सपना भुलाइ सारा आँशु पिएर जाउ, मन्दिरमा छ तिम्रै तश्बिर लिएर जाउ’ बाट अजम्बरी गीतकार कहलिए भने मैले एउटै कविताबाट कवि नहुने के आधार छ र ? लेख्नलाई त त्यसपछि पनि मैले कविता लेखेको हुँ तर ‘एउटै बाउका सन्तान एकै स्तरका हुँदैनन्’ भनेजस्तो मेरा अन्य कविता ‘सपनाको अवसान’ जत्तिका भएनन् । मैले यसलाई स्वीकार गरेको छु ।

सन् २०१२ सेप्टेम्बर ४ तारिकको एउटा घटनाले गर्दा मलाई ‘सपनाको अवसान’ नलेखेको भए हुन्थ्यो भन्ने लागेको हो । कवितामा ‘एउटा गाउँले ठिटो शिक्षा लिन शहर पस्छ । शहरमा उच्चशिक्षाको प्रमाणपत्र नबिकेपछि/ठूलो मान्छे हुने सपना नटिकेपछि हरियो बाँसजस्तो पासपोर्ट बोकेर खाडी आउँछ । खाडीको कमाइले ऋणपान तिरेर घरमा राडी नहाल्दै उसको सुतेकै अवस्थामा प्राणपखेरु उड्छ । उसँगै उसको परिवारले देखेको सपना टुट्छ ।’ ठ्याक्कै त्यस्तै भवितब्य जानेरै लेखे झैँ मैले भोग्नु परेको छ । सन् २००६ डिसेम्बर १५ तारिकमा मेरा ससुराबा कतार आउनु भएको हो । यताको एउटा जोड्नी कम्पनिमा ‘अलराउण्डर हेल्पर’को काम गर्ने उहाँले मेरा कान्छा सालालाई सन् २००९ अगष्टमा र मलाई सन् २०१० फेब्रुवरी ४ तारिकमा आफु कार्यरत कम्पनिमा क्रमश: ड्राइभर र डिजाइनरमा तान्नु भएको थियो । जेठो सालो यताको एउटा कम्पनिमा चित्त नबुझेर भागेका रहेछन् । उनी भर्खर जेल बसेर गएकाले दुई बर्ष आउन नपाउने भए । त्यसैले तिनलाई साउदी पठाउन सफल भएका ससुराबाको योगदान अमूल्य छ ।

दुई छोरा र ज्वाईँलाई खुट्टो टेकाएपछि घरैमा बसेर केही गर्ने उहाँको चाहना थियो । अवको चोटी जाँदा फिनिष्ट जाने उहाँको बिचार थियो तर त्यो अधुरै रहेर उहाँ त यो संसारबाटै पो फिनिष्ट जानु भयो । कन्टेनरको पेन्टिङ्गका लागि दिनहुँ उहाँलगायत अरु केही साथीहरु रास्लाफान जानुहुन्थ्यो । एकदिन काम सकेर गाडी चढ्ने बेलामा ‘पेट दुख्यो’ भन्नु भएछ । नेपाली ड्राइभर भाइले हमद हस्पिटल ल्याउँदै गर्दा गरफामा ‘उल्टी गर्छु’ भनेर भन्नु भएछ । ति भाइले गाडी रोकिदिएपछि उत्रिएर बाटाको किनारमा जानु भएछ । उल्टी गर्नु भएछ र फेरि गाडीमा फर्किनु भएछ । गाडी चढेको केही मिनेटमै सिटैमा गल्र्याम्म ढल्नु भएछ । अरु साथीहरुले उठाउँदा चेत हराइ सकेको रहेछ । भाइले हतार हतार हमदतिर गाडी दगुराएछन् । गराफाबाट हमद आउन १५/२० मिनेट लागेछ । हस्पिटल आउँदासम्म होष आएनछ । हस्पिटलमा एडमिट गरेपछि ति भाइले मलाई फोन गरे । म र मेरो कान्छो सालो सँगै गयौँ हेर्न । सुरुमै डाक्टरले भनिहाल्यो ‘उल्टी गरेकाले खानाको टुक्रो श्वास नलिमा छिरेकाले अक्सिजन नपाएर अचेत’ हुनु भएको कुरो । ति डाक्टरका अनुसार ‘एउटा स्वस्थ मान्छेले नौ मिनेटसम्म अक्सिजन पाएन भने उसको दिमाख मर्छ’ रे । डाक्टरले अनेक प्रयास गरेपछि मुटु चल्ने भयो तर अर्थोक केही नचल्ने । मुटु चल्न थालेपछि मैले टाक्टरलाई सोध्दा उनले भने, ‘यस्तो प्रकृतिले अचेत भएका बिरामीको फर्किने सम्भावना दस प्रतिशत हुन्छ, फर्किहाले पनि मानसिक सन्तुलन ठिक हुँदैन । कोमामा जाने सम्भावना पन्चानब्बे प्रतिशत हुन्छ ।’

अठार दिनको ‘विश्वस्तरिय उपचार’ गराउँदा पनि उहाँको स्थितिमा सुधार भएन । बरु दिनदिनै खराव हुँदै गयो । दिमाख फर्किएन । किड्नीले पिसाव बनाउन छोड्यो । हेर्दाहेर्दै शरिरले औषधी लिन नसक्ने भयो । यसैबीच सेप्टेम्बर ४ तारिक हस्पिटलबाट फोन आयो र हामी हेर्न गयौँ । भारतिय एक डाक्टरले ‘अव अन्तिम अवस्था’ भएको बताए । मुटु चल्न बन्द हुँदै गएको बताए । हामीले देख्दा देख्दै एकपटक मुटु चल्न छोड्यो र केही डाक्टर भेला भएर छाती थिचथाच पारेर फेरि चल्ने बनाए । त्यसको दस मिनेटमा मैले मेरै आँखाले देखेँ, उहाँले अन्तिम श्वास लिनु भयो र छोड्नु भयो । यत्ति भएपछि उहाँको छाती हल्लिन छोड्यो । मैले यति नजिकबाट कसैले अन्तिम श्वास छोडेको भोगेकै थिइँन । भोगेँ । अलिपर बसेर चिन्तित साला भाइलाई ‘बुवा रहनु भएन’ भनेर सुनाइ दिएँ । साउदीमा हुने जेठा साला भाइलाई पनि सुनाइ दिएँ । रास्लाफानमा कार्यरत मेरा दाजुलाई पनि सुनाएँ । तर ससुरालीघरमा सुनाउने हिम्मत भएन । दाजुलाई बुवालाई ‘के गरुँ ?’ भनेर सोध्न लाएँ । बुवाले ‘सत्य कुरा भन्दा केही हुँदैन, सुनाइदिनु । केही समय रुन्छन्, कराउँछन् र शव ल्याउञ्जेलमा थाक्छन्’ भन्नु भएछ । कुरो ठिकै लाग्यो र ससुरालीका बन्धु/छिमेकीलाई सुनाइदिएँ । धन्न मेरा साला भाइहरुको मुटु दह्रो रहेछ, होष हराएनन् । बरु संयमता अपनाएर सत्यलाई स्वीकार गरे ।

मान्छे भएर होला ज्यान गए पनि आस त हुन्छ नै । कहीँकतै इन्सुरेन्स पाइन्छ कि भनेर कम्पनिको मालिकलाई सोधेँ । जवाफमा उसले सन् २००९ देखि कम्पनिमा कार्यरत कुनै पनि कामदारको विमा नगरेको बतायो । विमा गरेकै भए पनि हस्पिटलमा बितेकाले र मृत्युको कारण हृदयघात भएकाले विमा रकम नपाइने प्रावधान रहेको बतायो । मलाई चित्त नबुझेर कागजपत्र बनाउन दुतावास जाँदा द्धितिय सचिव जयबहादुर राईलाई सोधीहेरेँ । उहाँले पनि ‘जोर नगर्नु, केही नपाइने भएकाले कोर्टकचहरी नधाउनु । ड्युटी सकिएर फर्केपछि अफ ड्युटी हुने भएकाले विमाको नियमले नै नपाउने छ । तपाईँको क्लेम गर्दा पैसा मात्रै खर्च हुन्छ तर पाउने केही होइन’ भन्नु भयो । हामीले पनि आस मारिदियौँ ।

चार दिन कागजपत्र बनाउन दौडधुप गरेपछि हामी शव लान सफल भयौँ । शवलाई लगेज सँगसँगै उता हुने आफन्तले बाहिर निकाले । झापाबाट तीन बर्षअघि ससुराली नगरकोट सरेकाले होला सवै आफन्त दाहसंस्कारमा सहभागी हुन आर्यघाट आएका थिए । सासुआमा र मेरी श्रीमतिको दोहोरो रुवाइसँगै मैले पनि आँशु थाम्न सकिन, लुकेरै रोएँ । बिछोडको बादलले मनको भित्तो हानेपछि आँखाको डिलमा बलेँसी झर्ने रहेछ । झरिरह्यो । यो घडी मलाई एउटा कुरो साह्रै सम्झनामा आएको छ । दुई छोरालाई ससुराबाले ‘ऋण तिरेर मेरा लागि दुई लाख जम्मा गरिदियौ भने जान्छु’ भन्नु भएको थियो । करिव तीन लाख ऋण तिरेर दुई भाइले दुई लाख जम्मा गरिदिएर ‘अव जानु’ भन्दा उहाँले अर्को अड्को थापेर थप दुई लाख राखिदिन भन्नु भयो । तर केटाहरुले त्यो सपना साकार पारिदिन नपाउँदै बुवाले धर्ती छोड्नु भयो ।

रेगिस्तानमा आएर मैले लेखेको कविता उहाँमा लागु भएकोमा मलाई ‘सपनाको अवसान’ नलेखेकै भए हुन्थ्यो भन्ने लागिरहेको छ । कता कता म आफुलाई दोषी ठानिरहेको छु । ससुराबाकै जस्तो बार्षिक सयौँ नेपालीले यहाँ जीवन गुमाइरहेका छन् । ति र तिनका परिवार अल्पकालिन विमाका कारण सित्तैमा ज्यान गुमाए जस्ता भएका छन् । चाँढै दिर्घकालिन विमाका लागि नेपाली नियोगले कदम चालोस् । म राजदुत मायाकुमारी शर्माज्युलाई बिभिन्न संघसंस्थाका कार्यक्रमको प्रमुख अथिति हुनुभन्दा चार लाख नेपाली श्रमिकको हकहितका लागि योजना बनाउन र कार्यान्वयन गर्नतिर लाग्न हार्दिक आग्रह गर्दछु । ताकी अर्को कुनै कविले फेरि ‘सपनाको अवसान’ नलेखोस् र लेखे पनि त्यो कसैको जीवनमा मेल नखाओस् । कतै न कतै मेरै कविताको भाव जस्तो भएर ‘जीवनकै अवसान’ भोग्ने ति सवै मृतात्माप्रति मेरो हार्दिक श्रद्धाञ्जलि

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......