**चर्चित ढुंगेल**
सन्
२०११ जुलाईमा विश्व नेपाली साहित्य महासंघ ब्रुनाइले ‘विश्व खुल्ला अडियो
कविता प्रतियोगिता’ आयोजना गरेको थियो । विश्वका २७ देश र नेपालका १९
जिल्लाका कविहरुले सो प्रतियोगिताका भाग लिएका थिए । कतारबाट मसहित ११ जना
कविहरुले सहभागिता जनाएका थियौँ । संयोगले मेरो कविता प्रथम भयो । विश्वकै
नेपालीभाषी साहित्यप्रेमीहरुले मेरो कविता मन पराए ।
मलगायत हाम्रो संस्था
नवोदित साहित्यिक मोवाइल पुस्तकालयलाई कविताले केही हदसम्म चिनायो । त्यो
वेला म संस्थाको सचिव थिएँ । संस्थाका साथीहरु, बिभिन्न साहित्यिक संस्था,
जिल्लाका संस्था, समाजका अगुवा र त्यो वेलाका राजदुतलगायतले बधाइ पनि दिए ।
मान्छे अरुले सम्मान दिनलायक केही उपलब्धी गरेपछि फुरुङ्ग हुनेरहेछ । म
पनि भएँ । जीवनमै मैले अरु कुनै कविता नलेखे पनि म कवि भएँ । मलाई ‘यो
मान्छे कवि हो’ भनेर चिनाउने कविता ‘सपनाको अवसान’ यतिखेर आएर ‘मैले
नलेखेको भए हुन्थ्यो’ भन्ने लागेर आएको छ ।जीवनको कुनै कालखण्डमा मान्छेले राखेको धारणा वा बिचार समयको अर्को कालखण्डमा परिवर्तन हुने रहेछ । आफैँले लेखेको कुनै सदाबहार गीत समयको अर्को कुनै कालखण्डमा ‘यस्तो लेखेको भए हुने’ वा ‘नलेखेको भए हुने’ भन्ने बिचार आउने रहेछ । हो, मलाई अहिले ‘सपनाको अवसान’ नलेखेकै भए हुन्थ्यो भन्ने लागेर आएको छ । मैले अरु कुनै कविता नलेखेकोमा मलाई यस्तो लागेको होइन । हुन त साथीहरुले ‘चर्चित दुर्घटनामा परेर प्रथम भयो’ भन्छन् । शिव अधिकारी एउटै गीत ‘सपना भुलाइ सारा आँशु पिएर जाउ, मन्दिरमा छ तिम्रै तश्बिर लिएर जाउ’ बाट अजम्बरी गीतकार कहलिए भने मैले एउटै कविताबाट कवि नहुने के आधार छ र ? लेख्नलाई त त्यसपछि पनि मैले कविता लेखेको हुँ तर ‘एउटै बाउका सन्तान एकै स्तरका हुँदैनन्’ भनेजस्तो मेरा अन्य कविता ‘सपनाको अवसान’ जत्तिका भएनन् । मैले यसलाई स्वीकार गरेको छु ।
सन् २०१२ सेप्टेम्बर ४ तारिकको एउटा घटनाले गर्दा मलाई ‘सपनाको अवसान’ नलेखेको भए हुन्थ्यो भन्ने लागेको हो । कवितामा ‘एउटा गाउँले ठिटो शिक्षा लिन शहर पस्छ । शहरमा उच्चशिक्षाको प्रमाणपत्र नबिकेपछि/ठूलो मान्छे हुने सपना नटिकेपछि हरियो बाँसजस्तो पासपोर्ट बोकेर खाडी आउँछ । खाडीको कमाइले ऋणपान तिरेर घरमा राडी नहाल्दै उसको सुतेकै अवस्थामा प्राणपखेरु उड्छ । उसँगै उसको परिवारले देखेको सपना टुट्छ ।’ ठ्याक्कै त्यस्तै भवितब्य जानेरै लेखे झैँ मैले भोग्नु परेको छ । सन् २००६ डिसेम्बर १५ तारिकमा मेरा ससुराबा कतार आउनु भएको हो । यताको एउटा जोड्नी कम्पनिमा ‘अलराउण्डर हेल्पर’को काम गर्ने उहाँले मेरा कान्छा सालालाई सन् २००९ अगष्टमा र मलाई सन् २०१० फेब्रुवरी ४ तारिकमा आफु कार्यरत कम्पनिमा क्रमश: ड्राइभर र डिजाइनरमा तान्नु भएको थियो । जेठो सालो यताको एउटा कम्पनिमा चित्त नबुझेर भागेका रहेछन् । उनी भर्खर जेल बसेर गएकाले दुई बर्ष आउन नपाउने भए । त्यसैले तिनलाई साउदी पठाउन सफल भएका ससुराबाको योगदान अमूल्य छ ।
दुई छोरा र ज्वाईँलाई खुट्टो टेकाएपछि घरैमा बसेर केही गर्ने उहाँको चाहना थियो । अवको चोटी जाँदा फिनिष्ट जाने उहाँको बिचार थियो तर त्यो अधुरै रहेर उहाँ त यो संसारबाटै पो फिनिष्ट जानु भयो । कन्टेनरको पेन्टिङ्गका लागि दिनहुँ उहाँलगायत अरु केही साथीहरु रास्लाफान जानुहुन्थ्यो । एकदिन काम सकेर गाडी चढ्ने बेलामा ‘पेट दुख्यो’ भन्नु भएछ । नेपाली ड्राइभर भाइले हमद हस्पिटल ल्याउँदै गर्दा गरफामा ‘उल्टी गर्छु’ भनेर भन्नु भएछ । ति भाइले गाडी रोकिदिएपछि उत्रिएर बाटाको किनारमा जानु भएछ । उल्टी गर्नु भएछ र फेरि गाडीमा फर्किनु भएछ । गाडी चढेको केही मिनेटमै सिटैमा गल्र्याम्म ढल्नु भएछ । अरु साथीहरुले उठाउँदा चेत हराइ सकेको रहेछ । भाइले हतार हतार हमदतिर गाडी दगुराएछन् । गराफाबाट हमद आउन १५/२० मिनेट लागेछ । हस्पिटल आउँदासम्म होष आएनछ । हस्पिटलमा एडमिट गरेपछि ति भाइले मलाई फोन गरे । म र मेरो कान्छो सालो सँगै गयौँ हेर्न । सुरुमै डाक्टरले भनिहाल्यो ‘उल्टी गरेकाले खानाको टुक्रो श्वास नलिमा छिरेकाले अक्सिजन नपाएर अचेत’ हुनु भएको कुरो । ति डाक्टरका अनुसार ‘एउटा स्वस्थ मान्छेले नौ मिनेटसम्म अक्सिजन पाएन भने उसको दिमाख मर्छ’ रे । डाक्टरले अनेक प्रयास गरेपछि मुटु चल्ने भयो तर अर्थोक केही नचल्ने । मुटु चल्न थालेपछि मैले टाक्टरलाई सोध्दा उनले भने, ‘यस्तो प्रकृतिले अचेत भएका बिरामीको फर्किने सम्भावना दस प्रतिशत हुन्छ, फर्किहाले पनि मानसिक सन्तुलन ठिक हुँदैन । कोमामा जाने सम्भावना पन्चानब्बे प्रतिशत हुन्छ ।’
अठार दिनको ‘विश्वस्तरिय उपचार’ गराउँदा पनि उहाँको स्थितिमा सुधार भएन । बरु दिनदिनै खराव हुँदै गयो । दिमाख फर्किएन । किड्नीले पिसाव बनाउन छोड्यो । हेर्दाहेर्दै शरिरले औषधी लिन नसक्ने भयो । यसैबीच सेप्टेम्बर ४ तारिक हस्पिटलबाट फोन आयो र हामी हेर्न गयौँ । भारतिय एक डाक्टरले ‘अव अन्तिम अवस्था’ भएको बताए । मुटु चल्न बन्द हुँदै गएको बताए । हामीले देख्दा देख्दै एकपटक मुटु चल्न छोड्यो र केही डाक्टर भेला भएर छाती थिचथाच पारेर फेरि चल्ने बनाए । त्यसको दस मिनेटमा मैले मेरै आँखाले देखेँ, उहाँले अन्तिम श्वास लिनु भयो र छोड्नु भयो । यत्ति भएपछि उहाँको छाती हल्लिन छोड्यो । मैले यति नजिकबाट कसैले अन्तिम श्वास छोडेको भोगेकै थिइँन । भोगेँ । अलिपर बसेर चिन्तित साला भाइलाई ‘बुवा रहनु भएन’ भनेर सुनाइ दिएँ । साउदीमा हुने जेठा साला भाइलाई पनि सुनाइ दिएँ । रास्लाफानमा कार्यरत मेरा दाजुलाई पनि सुनाएँ । तर ससुरालीघरमा सुनाउने हिम्मत भएन । दाजुलाई बुवालाई ‘के गरुँ ?’ भनेर सोध्न लाएँ । बुवाले ‘सत्य कुरा भन्दा केही हुँदैन, सुनाइदिनु । केही समय रुन्छन्, कराउँछन् र शव ल्याउञ्जेलमा थाक्छन्’ भन्नु भएछ । कुरो ठिकै लाग्यो र ससुरालीका बन्धु/छिमेकीलाई सुनाइदिएँ । धन्न मेरा साला भाइहरुको मुटु दह्रो रहेछ, होष हराएनन् । बरु संयमता अपनाएर सत्यलाई स्वीकार गरे ।
मान्छे भएर होला ज्यान गए पनि आस त हुन्छ नै । कहीँकतै इन्सुरेन्स पाइन्छ कि भनेर कम्पनिको मालिकलाई सोधेँ । जवाफमा उसले सन् २००९ देखि कम्पनिमा कार्यरत कुनै पनि कामदारको विमा नगरेको बतायो । विमा गरेकै भए पनि हस्पिटलमा बितेकाले र मृत्युको कारण हृदयघात भएकाले विमा रकम नपाइने प्रावधान रहेको बतायो । मलाई चित्त नबुझेर कागजपत्र बनाउन दुतावास जाँदा द्धितिय सचिव जयबहादुर राईलाई सोधीहेरेँ । उहाँले पनि ‘जोर नगर्नु, केही नपाइने भएकाले कोर्टकचहरी नधाउनु । ड्युटी सकिएर फर्केपछि अफ ड्युटी हुने भएकाले विमाको नियमले नै नपाउने छ । तपाईँको क्लेम गर्दा पैसा मात्रै खर्च हुन्छ तर पाउने केही होइन’ भन्नु भयो । हामीले पनि आस मारिदियौँ ।
चार दिन कागजपत्र बनाउन दौडधुप गरेपछि हामी शव लान सफल भयौँ । शवलाई लगेज सँगसँगै उता हुने आफन्तले बाहिर निकाले । झापाबाट तीन बर्षअघि ससुराली नगरकोट सरेकाले होला सवै आफन्त दाहसंस्कारमा सहभागी हुन आर्यघाट आएका थिए । सासुआमा र मेरी श्रीमतिको दोहोरो रुवाइसँगै मैले पनि आँशु थाम्न सकिन, लुकेरै रोएँ । बिछोडको बादलले मनको भित्तो हानेपछि आँखाको डिलमा बलेँसी झर्ने रहेछ । झरिरह्यो । यो घडी मलाई एउटा कुरो साह्रै सम्झनामा आएको छ । दुई छोरालाई ससुराबाले ‘ऋण तिरेर मेरा लागि दुई लाख जम्मा गरिदियौ भने जान्छु’ भन्नु भएको थियो । करिव तीन लाख ऋण तिरेर दुई भाइले दुई लाख जम्मा गरिदिएर ‘अव जानु’ भन्दा उहाँले अर्को अड्को थापेर थप दुई लाख राखिदिन भन्नु भयो । तर केटाहरुले त्यो सपना साकार पारिदिन नपाउँदै बुवाले धर्ती छोड्नु भयो ।
रेगिस्तानमा आएर मैले लेखेको कविता उहाँमा लागु भएकोमा मलाई ‘सपनाको अवसान’ नलेखेकै भए हुन्थ्यो भन्ने लागिरहेको छ । कता कता म आफुलाई दोषी ठानिरहेको छु । ससुराबाकै जस्तो बार्षिक सयौँ नेपालीले यहाँ जीवन गुमाइरहेका छन् । ति र तिनका परिवार अल्पकालिन विमाका कारण सित्तैमा ज्यान गुमाए जस्ता भएका छन् । चाँढै दिर्घकालिन विमाका लागि नेपाली नियोगले कदम चालोस् । म राजदुत मायाकुमारी शर्माज्युलाई बिभिन्न संघसंस्थाका कार्यक्रमको प्रमुख अथिति हुनुभन्दा चार लाख नेपाली श्रमिकको हकहितका लागि योजना बनाउन र कार्यान्वयन गर्नतिर लाग्न हार्दिक आग्रह गर्दछु । ताकी अर्को कुनै कविले फेरि ‘सपनाको अवसान’ नलेखोस् र लेखे पनि त्यो कसैको जीवनमा मेल नखाओस् । कतै न कतै मेरै कविताको भाव जस्तो भएर ‘जीवनकै अवसान’ भोग्ने ति सवै मृतात्माप्रति मेरो हार्दिक श्रद्धाञ्जलि
