१७ पुस, सोलुखुम्बु । सोलुखुम्बुको वाकु- ४ फोर्चेमा रहेको नमुना प्रावि
चार महिनादेखि बन्द छ । विद्यालयमा कार्यरत एक मात्र शिक्षिकाले पारिश्रमिक
नपाएको भन्दै विद्यालय जान छाडेपछि विद्यालय बन्द भएको हो ।आफूले गत फागुनदेखि भदौ महिनासम्मको तलबभत्ता नपाएपछि असोजदेखि विद्यालय जान छडेको शिक्षिका चन्द्रकला राईले बताउनुभयो ।आˆनो पारिश्रमिकका सम्बन्धमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले
बेवास्ता गरेको र जिल्ला शिक्षा कार्यालयले पनि तलब दिने स्रोत नभएको बताएपछि आफूले बाध्य भएर पढाउन छाडेको शिक्षिका राईको भनाइ छ ।
तलबको कुरा गर्दा अध्यक्षका आफन्तले धम्कीसमेत दिएको शिक्षिकाको आरोप छ । तर, व्यवस्थापन समितिका अध्यक्ष पेमनुरी शेर्पा भने आफूलाई शिक्षिकाको तलबका सम्बन्धमा केही थाहा नभएको बताउनुहुन्छ ।
जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद काप्रीले पनि विद्यालय बन्द भएकोबारे कार्यालयलाई थाहा नभएको र अब चाँडै बुझेर आवश्यक कारबाही अघि बढाउने बताउनुभयो ।
विसं २०६१ मा स्थापना भएको सो विद्यालयमा कक्षा २ सम्म पढाइ भइरहेको थियो । सो गाउँबाट नजिकमा अर्को विद्यालय भेट्न एक दिन नै लाग्ने भएकाले अहिले त्यस विद्यालमा पढ्ने सबै विद्यार्थी विद्यालय जान छाडेका छन् । रासस
