वैद्यको दस्तावेज बजारभरि, प्रचण्डको अझै अत्तोपत्तो छैन

पुस, काठमाडौं । नेकपा माओवादीको महाधिवेशन पौष २५ देखि काठमाडौंमा हुँदैछ भने एमाओवादीको महाधिवेशन माघ २० देखि हेटौडामा । वैद्यपक्षीय माओवादीले महाधिवेशनमा पेश गर्ने दस्तावेजको मस्यौदा कार्यकर्तामाझ छलफलका लागि पठाइसकेको छ । तर, एमाओवादी अध्यक्ष प्रचण्डले अहिलेसम्म दस्ताबेज लेख्न भ्याएका छैनन् ।

एमाओवादीको दस्तावेज तयार पार्ने जिम्मा यसअघि प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तीन जनाले लिएका थिए । तर, पछिल्लो बैठकले यो जिम्मेवारी प्रचण्ड एक्लैलाई सारेको छ । विगतमा दस्तावेज लेख्न राजधानी बाहिरको होटलतर्फ जाने गरेका प्रचण्डले राजनीतिक व्यस्तताका कारण होटलमा आराम गर्न जान भ्याएका छैनन् ।
प्रचण्ड एक्लैले तयार पार्ने दस्तावेजले पार्टीभित्रका गुट-उपगुटहरुलाई औपचारिकरुपमा अन्त्य गर्छ कि गर्दैन भन्ने प्रश्न अहिले एमाओवादीभित्रैबाट उठ्न थालेको छ ।
वैद्यपक्षको विद्रोहपछि एमाओवादीमा गुट र विचार समूहको अन्त्य गरिएको भनिए पनि विगतका गुट-उपगुट अस्थित्वहीन भैसकेका छैनन् । त्यस्ता गुटहरुमा प्रचण्ड, बाबुराम र नारायणकाजी समूहलाई मुख्यरुपमा लिने गरिएको छ भने पूर्वएकताकेन्द्रका स्वनाम साथीको नेतृत्वमा चौथो गुट रहेको छ ।
अमिक शेरचन, लीलामणि पोखरेल, धनश्याम शर्मा पौड्याल आदि नेताहरुको स्पष्ट गुट नभए पनि बाबुराम, प्रचण्ड र नारायणकाजीको गुटका लागि यी नेताहरुो भूमिका ‘रसायन’जस्तै देखिन्छ ।
 विगतमा बाबुराम समूहमा रहेका राम कार्कीले फरक राजनीतिक दस्तावेज तयार पारेर एमाओवादीमा पाँचौं गुटको जन्म गराइसकेका छन् । शान्ति प्रक्रियापछि विभिन्न पार्टीबाट एमाओवादीमा प्रवेश गरेका नेताका थप उपगुटहरु पनि भित्रभित्रै क्रियाशील छन् ।
वैद्य पक्ष अलग भएपछि गत साउनमा भृकुटीमण्डपमा आयोजित एमाओवादीको विस्तारित बैठकमा गुटको अन्त्य हुनुको साटो कुटाकुट र कुर्सी हानाहान नै भयो । विचारका हिसाबले प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा बाबुरामलगायत सबैले समर्थन गरे भने भारतलाई हेर्नेबारे नारायणकाजी श्रेष्ठले प्रष्ट विमति राखे । तर, स्वनाम साथी र राम कार्की समूहले प्रचण्डको दस्तावेजप्रति फरक मत रेकर्ड गराएनन् ।  राजनीतिक विचारमा दुई लाइन नदेखिए पनि दुईपक्षवीच भनाभन र कुटाकुटले एमाओवादीभित्रको गुट-उपगुट राजनीतिक विचारधारामा भन्दा पनि नेतृत्व र आर्थिक प्रश्नमै बढ्ता केन्दि्रत हुने देखाएको छ ।
आगामी महाधिवेशनमा नेताहरुको विचार मिले पनि पद र आर्थिक विषयमा भने फेरि झगडा पर्न सक्ने संकेत भृकुटीमण्डप भेलाले देखाइसकेको छ । सो भेलापछि अमिक शेरचनको नेतृत्वमा गठित सम्पत्ति छानविन आयोगको प्रतिवेदन अहिलेसम्म बाहिर आएको छैन ।
आफ्नो विचारको प्रतिनिधित्व नभए तेस्रो धार जन्मने
यसैवीच एमाओवादीका एक नेताले अनलाइनखबरसँग कुरा गर्दै महाधिवेशनलाई शक्तिशाली अंग बनाइनुपर्ने र दस्तावेजमाथि तल्लो तहसम्म छलफल गर्न पाउनुपर्ने बताएका छन् । ‘अहिलेसम्म दस्तावेज आएको छैन, महाधिवेशनलाई प्राविधिक भेलाजस्तोमात्रै बनाएर हुँदैन, पुरनो नेतृत्वले नयाँ विचार र कार्यक्रम ल्याउन सकेन भने हामी तेस्रो विकल्प लिएर आउन बाध्य हुनेछौं ।’, ती नेताले भने-’तेस्रो विकल्प सम्भव छ ।’
प्रचण्डलाई धपेडी
एमाओवादीले पौष १० गते महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । प्रचण्डले तयार पार्ने दस्तावेजलाई सोही बैठकले पारित गरेपछि बल्ल तल्ला कमिटीमा पठाउने बाटो खुल्ने छ । तर, दस्तावेज लेख्नका लागि प्रचण्डसँग अब लगभग एक हप्तामात्रै समय छ । पुस २५ देखि माघ १० सम्म जिल्ला सम्मेलनहरु आयोजना गरिने भएकाले यसअघि नै केन्द्रीय कमिटीबाट दस्तावेज पारित गरी तल्ला कमिटीमा पठाउनुपर्ने हुन्छ ।
जिल्ला सम्मेलनमा कार्यकर्ताले दस्तावेजमाथि आफ्नो मत व्यक्त गर्न पाएनन् भने एमाओवादीको महाधिवेशन ‘पल्टनियाँ आइसके, खाना दाना तयार छैन’ भन्ने माओत्सेतुङको भनाइजस्तै हुनेछ । त्यसैले राष्ट्रिय राजनीतिमा सक्रिया रहेका प्रचण्डलाई अबको एक साताभित्र सबै पक्षको विचारलाई समेटेर दस्तावेज एवं राजनीतिक कार्यदिशा तयार गर्नुपर्ने ‘प्रेसर’ बढेको छ ।
वैद्य पक्षमा पनि दुईलाइनको समस्या
एमाओवादीको भन्दा एक महिनाअघि नै महाधिवेशन गर्न लागेको वैद्यपक्षीय माओवादीले दस्तावेजको मस्यौदा कार्यकर्तामाझ पठाएर आफूलाई अलि व्यवस्थित देखाउन खोजेको छ । तर, बजारमा आइसकेको वैद्यको यो दस्तावेजमा पार्टीभित्रको दुईलाइनको प्रतिनिधित्व देखिँदैन । दस्तावेजले पार्टीको ठोस कार्यदिशा तय नगरेका कारण यही संसदीय गोलचक्करमा फसिरहने कि नयाँ विद्रोहमा जाने भन्नेबारे वैद्य पक्षको महाधिवेशनमा बहस हुने मणि थापा लगायतका पूर्वमाओवादी नेता एवं राजनीतिक विश्लेषकहरुले बताइरहेका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......