१९ मंसिर, सिरहा । कुटपिट गरी श्रीमतीको
हत्या गर्ने श्रीमान्सँगै सहयोगी एक चिकित्सकलाई पनि पक्राउ गरेर वडा
प्रहरी कार्यालय लहानले कर्तव्य ज्यान मुद्दा चलाएको छ । श्रीमतीको हत्या
गर्ने तरेगना गोविन्दपुर- ७ का सहमद मियाँ र हत्या गर्न सहयोग गरेका सोही
ठाउँका चिकित्सक गणेश साहलाई सोमबार पक्राउ गरी कर्तव्य ज्यान मुद्दा
चलाइएको वप्रका लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो ।
प्रहरी स्रोतका अनुसार साह अवैध रूपमा लहान नगरपालिका-६ स्थित गणेश उपचार
केन्द्र क्लिनिकका सञ्चालक हुन् ।
अभियुक्त मियाँले घरायसी विवादका कारण
आफ्नै २६ वर्षीया श्रीमती सनीचरीलाई कुटपिट गरी गत मंसिर १६ गते राति
गम्भीर घाइते बनाएका थिए । घाइते श्रीमतीको उपचार गराउन नाटकीय ढङ्गले
मियाँले साहको क्लिनिकमा भर्ना गराएर हत्या गरिएको प्रहरीको दाबी छ ।”
हत्या गर्ने नै उद्देश्य थियो त्यसैले अवस्था गम्भीर भए पनि सनीचरीको उपचार
गराउन अन्यन्त्र लगेनन्”, प्रहरी निरीक्षक खतिवडाले भन्नुभयो- “उपचारकै
क्रममा १७ गते राति सनीचरीको मृत्यु भइसके पनि प्रहरीलाई खबर नगरी उनीहरूले
शव घर लगेर जलाउने प्रयास गरेका थिए ।”
“घाइते बनाउँदा मात्र होइन, सनीचरीको
मृत्यु भइसके पनि प्रहरीलाई खबर नदिएर शव जलाउन घर लगेकाले हत्या गरेको
प्रस्ट छ” प्रहरी निरीक्षक खतिवडाले भन्नुभयो । किटानी जाहेरीका आधारमा
अनुसन्धान गर्दा मृतक सनीचरीका श्रीमान् मियाँ र चिकित्सक साह दोषी
देखिएकाले कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरी निरीक्षक खतिवडाको भनाइ छ ।
मृतक सनीचरीको माइती पक्षले पनि हत्यामा मियाँ र चिकित्सक साहको मिलोमतो
रहेको आरोप लगाएको छ । वप्रका लहानमा मृतका दाजु भदैया- ७ का मो अली अकबरले
हत्यामा मियाँ र चिकित्सक साहको हात रहेको भन्दै सोमबार नै किटानी जाहेरी
दिएका थिए । रासस
