‘धुर्बे’को आतंकले चितवनमा तनाव

गोली ठोक्न टोली परिचालनपछि 'धुर्बे' बेपत्ता


३ पुस, काठमाडौं । मान्छे देख्नेवित्तिकै झम्टेर मारिहाल्ने जंगली हात्ती ‘धुर्बे’ बेपत्ता भएपछि यतिबेला चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरु हैरान भएका छन् । त्यसै छोड्दा यसले थप जनधनको क्षति गर्न सक्ने भएकाले ‘धुर्बे’लाई गोली ठोकेर मार्ने सहमति भएको छ । सहमतिलगत्तै बन्दुक र गोली बोकेर निकुञ्जका सुरक्षाकर्मी जंगल पसिसकेका छन् । तर, शनिबार राति गर्दि गाविसका एक दम्पत्ति मारेर हिँडेको हात्तीको अत्तोपत्तो छैन ।

को हो ‘धुर्बे’ ?
‘धुर्बे’का रुपमा बद्नाम यो हात्तीले तीन वर्षदेखि आतंक मच्चाउन थालेको हो । एक वर्षअघि चितवन निकुञ्जको मुख्यालय अगाडि निकुञ्ज सुरक्षार्थमा खटिएका ध्रुब नाम गरेका सिपाहीलाई मारेपछि सबैले यो हात्तीलाई धुर्बे भन्न थालेका हुन् । आतंक मच्चाउन थालेको तीन वर्ष भए पनि अढाई महिनादेखि भने धुर्बे झन् मात्तिन थालेको स्थानीय बासिन्दाको भनाइ छ । यसबीच निकुञ्ज वरपरका बारा, पर्सा, चितवन र नवलपरासीमा धुर्बेको आतंक बढेको छ । अहिलेसम्म धुर्बेले ९ जनालाई मारिसकेको छ ।
मान्छे देख्नेबित्तिकै आक्रमण गरिहाल्ने धुर्बेको बानीले अहिले संरक्षण अधिकृत र स्थानीय यसको बिरोधमा उत्रिएका हुन् । तर, आफूमाथि खतरा रहेको थाहा भएर हो कि क्या हो, धुर्बे अहिले जंगलभित्रै बेपत्ता छ । उसको गतिविधि नियाल्न निकुञ्जका प्राविधिकले रेडियो कलरसमेत जोडेका छन् । तर, अहिले यो हात्ती रेडियो कलरको ‘सिग्नल’ भित्र छैन ।
‘धुर्बे’विरुद्ध आन्दोलन जारी
यता ‘धुर्बे’ नामको हात्तीलाई नमारेसम्म शव नउठाउने भन्दै गाउँलेले प्रदर्शन चर्काएका छन् । जंगली हात्ती तत्काल मार्नुपर्ने, मृतकका परिवारलाई १० लाख रुपैंया क्षतिपूर्ति दिनुपर्ने, नारायणगढबाट माडी जाने सडक चौडा पार्नुपर्ने लगायतका माग राख्दै गाउँलेले मंगलबार पनि प्रदर्शन गरेका छन् । उनीहरुले भरतपुरको चौबीसकोठी, माडीलगायतका ठाउँमा सडक अवरुद्ध गरेर आन्दोलन गरेका हुन् । पीडितहरुको आन्दोलनलाई स्थानीय राजनीतिक दलले पनि समर्थन जनाएका छन् ।
हात्तीको आक्रमणबाट शनिबार राति मारिएका स्थानीय बुद्धिराम बोट र उहाँकी श्रीमती जरियाको शव गर्दी गाविसको चौतारोमा राखिएको छ । हात्ती मार्न प्रशासनले चासो नदिएको स्थानीयबासिन्दाको आरोप छ । तर, निकुञ्ज प्रशासनले भने हात्ती मार्न निकुञ्जको सेना नै खटाईएको जानकारी दिएको छ । ‘जहाँ देख्यो त्यहीं मार्ने आदेशसहित टोली फिल्डमा खटिएको छ’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमक कार्कीले भन्नुभयो -’निकुञ्जले सबै काम छाडेर अहिले हिंश्रक जंगली हात्ती ध्रुबे मार्ने कामलाई पहिलो प्राथमिकता दिएको छ ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......