११ पुस, काठमाडौं । जनजातिहरुको नयाँ
पार्टी ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’को घोषणा आगामी आइतबार
हुने भएको छ । सामाजिक लोकतन्त्रलाई मूल सिद्धान्त एवं बहुल राष्ट्रवाद र
आदिवासीबादलाई सहसिद्धान्त बनाएको यो पार्टीले पहिचानसहितको संघीयताका लागि
पहल गर्ने नेताहरुले बताएका छन् ।
नयाँ पार्टीमा कांग्रेसबाट छुटि्टएका
कुमार राई, एमालेबाट अलगिएका पासाङ शेर्पा, जनजाति अगुवाहरु चैतन्य सुब्बा,
कृष्ण भट्टचनलगायत
छन् ।
‘१५ गते आइतबार हामी पार्टीको घोषणा
गर्दैछौं’ सुुब्बाले अनलाइनखबरसँग भन्नुभयो-’त्यसका लागि विभिन्न
समूहहरुसँग अन्तिम चरणको वार्ता गर्दैछौं ।’ उहाँका अनुसार एकीकृत संघीय
समाजवादी पार्टी र संयुक्त जातीय मुक्ति मोर्चासँग सहमति भइसकेको छ भने
पूर्व सभासद राजकुमार नाल्बोले नेतृत्व गरेको संघीय समाजवादी पार्टीसँग
अन्तिम चरणको वार्ता भइरहेको छ ।
‘तराईका साथीहरुसँग पनि व्यक्तिगत रुपमा
कुराकानी भइरहेको छ’ सुब्बाले भन्नुभयो-’खस क्षेत्री समाजका साथीहरुसँग पनि
सहकार्य गर्न सकिन्छ कि भनेर छलफलमा छौं ।’
अध्यक्षमण्डल प्रणाली अङ्गकिार गर्ने
सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टीको अध्यक्षमण्डल भने ठूलो हुने
देखिएको छ । पार्टी गठनमा सक्रिय कुमार राईले अनलाइनखबरसँग भन्नुभयो-’३/४
सदस्यीय बनाउने प्रयास भइरहेको छ । तर, एकता प्रयासमा आएका साथीहरुलाई
समेट्दा ९ सदस्यीयसम्म हुनसक्छ ।’ अध्यक्ष मण्डलमा रहेका नेताहरुले पालै
पालो पार्टीको नेतृत्व गर्नेछन् । यस्तै केन्द्रीय तदर्थ समिति बढीमा ६७
सदस्यी हुने बताइएको छ । कांग्रेस र एमालेबाट बाहिरिएका र आदिवासीवादलाई
स्वीकार गर्ने बहुसंख्यक जनता आफ्नो पक्षमा रहने भन्दै नेताहरुले आफूहरु
नयाँ शक्तिका रुपमा आउने दावी गर्छन् ।
‘अशोक राईको पार्टी भाइ एमाले’
एमाले परित्याग गरेका अशोक राई समूहसँग
सैद्धान्तिक विवाद भएपछि जनजाति अगुवाहरुले नयाँ पार्टी खोल्न लागेका हुन् ।
राई समूहले माक्सवादलाई नछाडेपछि जनजातिहरु दुई खेमामा बाडिएका हुन् ।
एमाले परित्याग गरेकाहरुले हालै मात्र अशोक राईको नेतृत्वमा संघीय समाजवादी
पार्टी गठन गरिसेकेका छन् । तर, नयाँ पार्टी गठनमा सक्रिय नेताहरुले भने
उक्त पार्टी ‘भाइ एमाले’ मात्र भएको बताउँछन् । पहिचानसहितको संघीयताको
मुद्धा उठाएर एमालेमा विद्रोह गरेको तर, फेरि माक्सबादलाई काखी च्यापेर
आफ्नो एजेण्डा छाडेको उनीहरुको आरोप छ । तर, अशोक राई समूहमा रहेकाहरु भने
कांग्रेसमा असफल भइसकेको समाजिक लोकतन्त्र स्वीकार गर्नु पर्ने अडानका कारण
एउटै पार्टी बनाउन नसकिएको बताउँछन् ।

