८ पुस, काठमाडौं । रेडियो नेपालमा आन्तरिक
प्रतियोगिताबाट हालै सातौं तहको वरिष्ठ प्रशासकीय अधिकृतमा बढुवा गरिएकी
सुमन कुशवाहको बढुवा बदर गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको
निर्देशन बेवास्ता गरिएको छ । कुशवाहको बढुवासम्बन्धी नतिजा बदर गर्न
अख्तियारले गत मंसिर १ गते नै रेडियो नेपालको नाममा पत्र पठाए पनि
अहिलेसम्म त्यसको कार्यान्वयन गरिएको छैन ।
अख्तियारले उजुरीकर्ता प्रेमप्रसाद भट्टराई र सीताकुमारी शर्मालाई परीक्षाको नतिजा रद्द भएको जानकारी गराएको पत्र अख्तियारको निर्देशनअनुसार रेडियो
नेपालले उक्त आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा बदर भएको सूचना
निकाल्नुपर्नेमा अहिलेसम्म गुपचुप राखिएको छ । उक्त परीक्षाको नतिजा
प्रकाशनमा अनियमितता भएकोे ठहरसहित पत्र पठाएलगत्तै रेडियो नेपालका
तत्कालीन कार्यकारी निर्देशक तपनाथ शुक्लाले पदबाट राजीनामा दिएका थिए ।
आन्तरिक परीक्षाको नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै प्रतिस्पर्धीहरु
प्रेमप्रसाद भट्टराई र सीताकुमारी शर्माले अख्तियारमा दिएको उजुरीमाथि
अनुसन्धान हुँदा अनियमितता भएको पत्ता लागेको थियो ।
अख्तियारको निर्देशनअनुसार रेडियो नेपालले
नतिजा बदर भएको सूचना ननिकाल्दा छाएको अन्योलसँगै बढुवा गरिएकी सुमन
कुशवाहले बढुवापत्रको माग गर्दै संचार मन्त्रालयमा निवेदन दिएकी छन् ।
रेडियो नेपालले अख्तियारको निर्देशन गुपचुप राखी अनियमित ढंगले गरिएको
बढुवा थमौति गर्ने षडयन्त्रमा लागेको कर्मचारीहरुको आशंका छ ।
रेडियो नेपालको नियमावलीमा १ पदको
विज्ञापनको लिखित परीक्षाको नतिजा प्रकाशित गर्दा बढीमा २ जना उम्मेदवारको
मात्र नाम प्रकाशित गर्ने प्रावधान छ । उक्त परीक्षाको लिखितमा नाम
निकाल्दा नियमावली विपरित ३ जनाको नाम प्रकाशित गरिएको थियो । त्यस्तै
अन्तरवार्ताका क्रममा पनि नियमावलीमा प्रावधान भए बमोजिम विज्ञको नियुक्ति
रेडियो बाहिरबाट गर्नुपर्नेमा पदपूर्ति समितिका सचिव गौतम तिमिलालाई राखेर
बाहिरको विज्ञले दिनुपर्ने नम्बर उनीद्वारा दिलाइएको थियो ।

