रिमसँग नेपालका माओवादीको अझै छुटेन एकतर्फी प्रेम
१७ पुस, काठमाण्डौं । सन् १९८४ मा स्थापना
भएको अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलन (रिम) ले नेपालका बाबुराम र
प्रचण्डलाई माया गर्न छाडेको छ । तर, बाबुराम र प्रचण्डले भने रिमलाई
एकतर्फीरुपमै भए पनि माया गर्न छाडेका छैनन् ।
एमाओवादीको भृकुटीमण्डप भेलाले रिमबारे
भनेको छ – ‘रिमभित्र र
बाहिर रहेका कम्युनिष्ट क्रान्तिकारी पार्टी र
समूहहरुसँग सम्बन्ध बनाउँदै योजनावद्ध ढंगले अगाडि बढ्न जरुरी छ ।’ तर,
एमाओवादीले रिमसँग सम्बन्ध बनाउने बताए पनि उता रिमका अन्य सदस्यले चाँहि
प्रचण्ड र बाबुरामलाई सत्तोसराप गर्न थालेका छन् । रिमको सदस्य रहेको
आरसीपी अमेरिकाले विश्वभरका माओवादी पार्टीलाई पठाएको पत्रमा प्रचण्डलाई
भन्दा बाबुराम भट्टराईलाई बढ्ता गाली गरिएको छ ।
अमेरिका र नेपालका माओवादीको शीतयुद्ध
नेपालमा माओवादीले जनयुद्ध शुरु गरेको
केही वर्षपछिबाटै रिमका सदस्य रहेका अमेरिका र नेपालका माओवादीवीच
सैद्धान्तिक झगडा चर्किन थालेको हो । माओवादीको चर्काे अनुयायी आरसीपी
अमेरिकाले सन् २००५ अक्टोबरमा नेकपा माओवादीलाई पत्र पठाएर वैचारिक युद्धको
फायर खोलेको थियो । त्यसयता आरसीपी अमेरिकाले सन् २००८ र २००९ मा थप
तीनवटा पत्र पठाएको थियो । सन् २००८ मा आरसीपी अमेरिकाले दुईवटा पत्र
लेखेको थियो । यसवीचमा नेपालको माओवादीले चाहि सन् २००६ जुलाईमा एउटा पत्र
पठाउनुबाहेक अमेरिकी माओवादीलाई कुनै जवाफ फर्काएन । आरसीपी अमेरिकाले सन्
२००९ मा नेकपा माओवादीलाई पत्र लेखेर जनयुद्ध वीचैमा छाडेर शान्ति
प्रक्रियामा आएको र जनमुक्ति सेना नेपाली सेनामा समायोजन गर्न लागेकोमा
तीब्र विरोध जनाएको थियो ।
फेरि बाबुराम र प्रचण्डको विरोध
सन् २००९ मा आफूले पठाएको पत्रको एकीकृत
नेकपा माओवादीले कुनै जवाफ नफर्काएपछि क्रुद्ध बनेको आरुसीपी अमेरिकाले गत
मेमा प्रचण्ड र बाबुरामको चर्को विरोध गर्दै संसारभरका माओवादी
पार्टीहरुलाई ४२ पृष्ठ लामो पत्र लेखेको छ । सो पत्रमा नेपालको जनयुद्ध पनि
पेरुमा जस्तै असफल भएको र प्रचण्ड-बाबुरामको नेतृत्वले क्रान्तिलाई धोका
दिएको निश्कर्ष निकालिएको छ । रिम कमिटीलाई पठाइएको यो गोप्य पत्र आरसीपी
अमेरिकाले हालै छलफलका लागि भन्दै सार्वजनिक गरेको छ ।
माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्दै
आएको आरसीपी अमेरिकाले सार्वजनिक गरेको पत्रमा रिममा मतभेद देखा परेको,
विश्वमा कम्युनिज्म दोबाटोमा आइपुगेको र रिम संकटमा परेको उल्लेख गरिएको छ ।
नेपालको माओवादीमा देखिएको विचलन र यसले पार्ने प्रभावका बारेमा पनि
विश्लेषण गरिएको छ । ‘हामीलाई नेपालमा कसरी संशोधनवादी लाइन हाबी भयो
भन्नेबारे विश्लेषण गर्न दिनोस्’ भन्दै पत्रमा बाबुराम भट्टराईलाई यसको दोष
लगाइएको छ । प्रचण्ड बेलाबखत बाबुराम भट्टराईसँग चर्काे र कडारुपमा दुरी
राख्न खोज्छन्, तर प्रचण्डभित्र पनि उस्तैखालको व्यवहारवाद, चुनावपरस्त
धारणा अन्तरनिहीत छ ।’ पत्रमा विश्लेषण गर्दै भनिएको छ ।
लामे पत्रमा आरसीपी अमेरिकाका नेता बब अभायकिनले कम्युनिष्ट आन्दोलनबारे आफ्नो नयाँ संश्लेषणसमेत प्रस्ताव गरेका छन् ।
वैद्यपक्षीय माओवादीको रिम प्रेम
एकीकृत माओवादीले जस्तै वैद्यपक्षीय
माओवादीले पनि महाधिवेशनमा पेश गर्नका लागि तयार पारेको आफ्नो दस्तावेजमा
रिमप्रति प्रेमभाव दर्शाएको छ । वैद्यको दस्तावेजमा भनिएको छ-’ आज
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा रिम निस्क्रिय र सिथिल बन्दै गएको छ ।
यसो हुनुका पछाडिको प्रमुख कारण रिम कमिटीमा भएको गम्भीर वैचारिक,
राजनीतिक मतभेद नै रहेको छ । मतभेदका मुख्य दुईवटा विषयहरु रहेका छन् :
पहिलो, कमिटीमा रहेको तात्कालीन नेकपा (माओवादी)ले गरेको शान्ति प्रकृयामा
प्रवेश गर्ने निर्णयप्रति आरसीपीको गम्भीर असहमति र दोस्रो, नेकपा
(माओवादी) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलनमा पारित गरेको
“प्रचण्डपथ”प्रति पनि असहमति । यी विषयमा आफ्नो प्रष्ट असहमति राख्दै
आरसीपीले नेकपा (माओवादी) लाई लामो पत्र पठायो, तर यसको जवाफ कहिल्यै दिइएन
। त्यसपछि, आरसीपीले यसका अध्यक्ष क बब अवाकीयद्वारा प्रस्तावित “नयाँ
संश्लेषण”लाई अघि सार्यो र रिम कमिटीमा के प्रस्ताव राख्यो भने कमिटीले
कुनै टुंगो लगाउनु पर्दछ । यसबारे कमिटीका पार्टीमा नै मत विभाजन देखापर्यो
। यसका साथै नेपालको माओवादी पार्टीको नेतृत्वले झन् क्रान्तिप्रति
विश्वासघात गर्ने र गद्दारी गर्ने बाटो समात्यो र त्यो नव संशोधनवादमा पतन
भयो । यो नेतृत्वको भूमिका रिमलाई जसरी हुन्छ विघटित गराउने नै रहनु
स्वाभाविक थियो । यी सबै घटनाक्रमका कारण रिम कमिटी निष्कृय बन्न पुग्यो
।….. अहिले रिम निष्कृय भएको छ, विघटन भएको छैन ।’
रिमबारे वैद्यले थप भनेका छन्- ‘विविध
कारणले गर्दा रिममा संसारका सबै माओवादी कम्युनिष्ट पार्टीहरु सम्मिलित हुन
सकिरहेका थिएनन् । अब हामीले त्यो कमीलाई पूरा गर्नु आवश्यक छ । त्यसका
निमित्त केही प्रयासहरु अघि बढिसकेका छन् । अब यसलाई तीब्रता दिनुपर्ने
आवश्यकता छ ।’

