समाचार विश्लेषण । एमाओवादी अध्यक्ष
प्रचण्डले शनिबार एकाबिहानै एमाले नेता कृष्णलाल महर्जनका घरमा भएको छलफलमा
कांग्रेसबाहेकको पार्टीबाट प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको छ ।
प्रचण्डले मधेसी दलबाट प्रधानमन्त्री बनाउन चाहेको बताइएको छ । मधेसीभित्र
‘इमान्दार नेता’ भनेर प्रचण्डले महन्थ ठाकुरलाई संकेत गरेको बताइए पनि
यसअघि उहाँले लाजिम्पाटमा आयोजित पत्रकार भेटघाटमा मधेसी मोर्चाका संयोजक
विजयकुमार गच्छदारको नाम लिनुभएको थियो ।
प्रचण्डले किन सुशील कोइरालाको ठाउँमा
मधेसी मोर्चाको नाम प्रस्ताव गर्नुभएको होला ? यसबारे उहाँको मनसाय खुलस्त
नभए पनि प्रचण्डद्वारा राखिएको यस्तो प्रस्तावले पार्ने प्रभावचाँहि सहजै
अनुमान लगाउन सकिन्छ । आगामी सरकार सकभर माओवादीकै नेतृत्वमा बनाउने, नभए
मधेसी गठबन्धनबाट बाहिर उम्कन नदिने प्रचण्डको रणनीति यसमा प्रष्टै देखिन्छ
। यद्यपि कांग्रेसको नाममा सहमति हुन नसकेको र एमाओवादीलाई कांग्रेसले
नमानेका कारण तेस्रो विकल्प खोज्नुपरेको प्रचण्डको तर्क छ । एमालेको
नेतृत्व मान्न मधेसी दलहरु बढ्ता नकारात्मक देखिन्छन् ।
प्रस्तावले मधेसी दलमा विवाद बढाउने
मधेसी दलबाट प्रधानमन्त्री छान्ने
प्रचण्डको प्रस्तावले मधेसी मोर्चाकै घटकहरुभित्र विवाद बढाउने प्रायः
निश्चितै छ । मधेसी मोर्चाको संयोजक रहेको र उपप्रधानमन्त्री पनि भैसकेको
नाताले विजयकुमार गच्छदारले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविकै हुनेछ ।
तर, मोर्चाका अन्य घटकहरु गच्छदारको विकल्पमा ठाकुरको पक्षमा एक मत
देखन्छिन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा ५ दल छन् । गच्छदार
अध्यक्ष रहेको लोकतान्त्रिक फोरम, महन्थ ठाकुरको तमलोपा, राजेन्द्र महतोको
नेपाल सद्भावना, राजकिशोर यादवको गणतान्त्रिक फोरम र महेन्द्रराय यादवको
तमलोपा नेपाल मधेसी मोर्चाका घटक हुन् । तर, यीमध्ये चारदल ठाकुरको पक्षमा
रहेको बताइन्छ ।
राजेन्द्र महतोको पार्टीबाट अनिल झा अलग
भएकोमा गच्छदारलाई दोष दिने गरिएको छ । त्यसैगरी महेन्द्ररायलाई उकासेर
तमलोपा फुटाएको र गणतान्त्रिक फोरममा पनि नन्दनकुमार दत्त र राजकिशोर
यादववीच झगडा चर्काएको आरोप गच्छदारमाथि लाग्ने गरेकाले मधेसी मोर्चाले
उहाँलाई प्रधानमन्त्री छान्ने सम्भावना न्यून रहेको स्रोत बताउँछ । ठाकुर
भने सर्वसम्मत् छानिन सक्ने दाबी गरिएको छ ।
अन्य मधेसी दलसमेत गच्छदारको विपक्षमा
मोर्चामा रहेका बाहेक
मोर्चा बाहिरका मधेसी दलहरुसमेत विजय गच्छदारलाई प्रधानमन्त्रीमा रुचाउने
पक्षमा छैनन् । गच्छदारबाट फुटेर राष्ट्रिय मधेस समाजवादी पार्टी बनाएका
शरदसिंह भण्डारी महन्थ ठाकुरका पक्षमा खुलेर लागेका छन् भने उपेन्द्र यादव
नेतृत्वको फोरम नेपालका नेताहरुले कांग्रेस नेतालाई भेटेर विजय गच्छदार
स्वीकार्य नहुने बताइसकेका छन् ।धेरै मानिसहरुले महन्थ ठाकुरलाई
दक्षिणतिरको छिमेकीले पत्याएको नेता मान्छन् । यो आधारमा पनि ठाकुरको भागमा
प्रधानमन्त्री पद पर्न सक्नेे अनुमानचाँहि यसअघिदेखि नै लगाइँदै आएको छ ।
स्रोतका अनुसार मधेसी मोर्चाको तर्फबाट प्रधानमन्त्री बन्ने स्थिति आएमा
नेपाली कांग्रेसले समेत गच्छदारलाई भन्दा ठाकुरलाई नै रोज्ने सम्भावना बढी छ
। तर, आफूले सभापति सुशीललाई उमेद्वार तय गरिसकेको अवस्थामा कांग्रेसले
मधेसी दलको नेतृत्व स्वीकार्ने सम्भावना सहज भने देखिँदैन ।
फुटाउनकै लागि प्रधानमन्त्री वितरण ?
राष्ट्रपतिले दिएको
समयसीमाभित्र प्रधानमन्त्री छान्न नसकेका दलहरु एक-अर्काको मोर्चालाई
फुटाउन र कमजोर बनाउनका लागिसमेत प्रधानमन्त्रीको पद बाँड्ने अभियानमा
लागेको देखिन्छ ।एकसाता अघि भएको आन्तरिक भेटमा एमाले बरिष्ठ नेता
माधवकुमार नेपालले प्रचण्डलाई तपाईको नेतृत्वमा भए हामी आउन सक्छौं, तर
बाबुरामलाई स्वीकार्न सकिँदैन भन्दै प्रचण्डलाई उक्साएको चर्चा
एमाओवादीभित्र चलेको छ । त्यलगत्तै प्रचण्डसँग भएको आन्तरिक छलफलमा
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हामीलाई फुटाउन र खेल्न खोजिएको हो,
तपाईलाई पनि प्रधानमन्त्री दिँदैनन् भन्दै प्रचण्डलाई भ्रममा नपर्न
भन्नुभएको थियो । साथै आगामी चुनावपछिको कार्यकारी प्रमुखमा आफूले
प्रचण्डलाई पूर्ण सहयोग गर्ने र महाधिवेशनमा पनि उहाँकै नेतृत्व स्वीकार्ने
भट्टराईले स्पष्ट पारेपछि बाबुराम-प्रचण्डवीच खेल्ने एमाले नेताको प्रयास
असफल पारिएको माओवादी सूत्र बताउँछ ।
बाबुराम र प्रचण्डवीच खेल्न नसकेपछि
कांग्रेस र एमालेका नेताहरुले मधेसी मोर्चालाई आफूतिर तान्ने रणनीति लिन
लागेको र यसैक्रममा महन्थ ठाकुर, विजयकुमार गच्छदार र उपेन्द्र यादलाईसमेत
कांग्रेस सभापति सुसील कोइरालाले भेटिसकेको अवस्थामा प्रचण्डबाट मधेसी
नेतालाई प्रधानमन्त्री बनाउने प्रस्ताव आउनुमा कांग्रेस-एमालेसित मधेसी
मोर्चालाई नजिक हुन नदिने एमाओवादीको रणनीति पनि हुन सक्छ । यद्यपि कुनै
भित्री चालबाजी नभई मिल्नकै लागि कांग्रेस-माओवादबिाहेकको तेस्रो विकल्प
खोजौं भन्ने प्रचण्डको इमान्दार प्रस्ताव हो भने चाँहि त्यो त्यति नाजायज
विकल्प नहोला ।
माओवादी अध्यक्ष प्रचण्डले फालेको यो
पासाको जवाफ कांग्रेस, एमालेलगायतका विपक्षी दलहरुले कसरी दिन्छन्, त्यो
हेर्न अझै केही दिन लाग्ला । विपक्षीले सुशील कोइरालालाई प्रधानमन्त्रीका
लागि छनौट गरिसकेका छन् । अब मधेसी मोर्चाले पनि अर्काे प्रधानमन्त्री छाने
भने प्रधानमन्त्रीका दाबेदारहरु ४ जना हुनेछन् । नेकपा-माओवादीले
रामबहादुर थापा वादललाई यसअघि नै प्रधानमन्त्रीका लागि प्रस्ताव गरिसकेको छ
भने राजावादी किशोरी महतोले प्रधानमन्त्रीको दाबी गर्दै शीतलनिवासमा
निवेदन नै हालिसकेका छन् ।
कतिपयको तर्क के छ भने घुमाई-फिराई
प्रचण्ड आफैं प्रधानमन्त्री बन्न चाहन्छन् । तर, डा. बाबुरामको विकल्पमा
आफैं बन्छु भन्न प्रचण्डलाई अप्ठ्यारो छ । मधेसी मोर्चाबाट पनि सुशील
कोइरालाको जस्तै नाम प्रस्ताव गर्न लगाउने र त्यसमा कांग्रेस, एमालेले
मानेनन् भन्ने देखाएर आफैं अगाडि बढ्ने प्रचण्डको मनोविज्ञान रहेको दाबी
केही विश्लेषकहरुको रहेको छ । तथापि माधव नेपालले प्रचण्डलाई प्रधानमन्त्री
हुन गरेको भित्री आग्रहबाहेक यो दाबीलाई पुष्टि गर्नेगरी घटनाक्रम परिपक्व
भैसकेको छैन ।

