अनुचित कार्यको प्रमाण फेला परे दण्डित हुन तयार
२ पुस, काठमाडौं । प्रधानमन्त्री पदमा
हुनुहुन्छ डा. बाबुराम भट्टराई, उता उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)
को सञ्चालक समितिको अध्यक्षमा हालै चयन हुनुभएको छ प्रमकी जेठीसासू तिमिला
यमी । आफन्त तिमिला केयुकेएलको अध्यक्ष भएपछि यसबारे आएका समाचारहरुबारे
प्रधानमन्त्री आफै अगाडि सरेर बोल्नुपरेपछि यो घटनाले उहाँलाई कति चिन्तित
गराएको रहेछ भन्ने प्रष्ट भएको छ ।
तिमिलालाई
अध्यक्ष चयनका क्रममा आफ्नो कुनै दबाब वा आर्थिक
संलग्नतासहितको प्रमाण
फेला परेमा दण्डित हुन तयार रहेको प्रधानमन्त्रीले गम्भीर मुद्रामा
बताउनुभएको छ । सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सहरी विकास
मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री भट्टराईले कतिपय सञ्चार
माध्यमले यथार्थ नबुझी केयुकेएलका सम्बन्धमा आफूलाई जोडेर समाचार
सम्प्रेषण गरेकोमा आफू मर्माहत भएको बताउनुभएको हो ।
“म सदाचार, सुशासन र लोकाचारमा विश्वास
गर्ने भएकाले पदको दुरुपयोग नहोस् भन्नेमा सचेत छु । केयुकेएलको नियुक्तिमा
मेरो वा परिवारको कुनै दबाब र आर्थिक प्रलोभन भएको प्रमाणित भएमा त्यसलाई
सच्याउन म तयार छु ।”
प्रधानमन्त्री डा बाबुराम भट्टराईले
केयुकेएलको सञ्चालक समितिको अध्यक्ष चयनका क्रममा आफ्नो कुनै दबाब वा
आर्थिक संलग्नतासहितको प्रमाण फेला परेमा दण्डित हुन तयार रहेको बताउनुभएको
छ ।
उहाँले एसियाली विकास बैंकको सहयोग लिँदा
सार्वजनिक निजी साझेदारीको अवधारणलाई पालना गर्दा सो संस्थामा निजी
क्षेत्रको पनि सहभागिता रहेका कारण साधारणसभा हुन ढिलाइ भएको सन्दर्भमा
कुनै समाचार नआउनु र व्यक्तिगत पक्षलाई मात्रै जोडेर समाचार आउनु दुःखद्
भएको जनाउनुभयो । राज्यका निकायलाई सुधारका लागि सचेत गराउने सञ्चार
माध्यमको दायित्वलाई आफूले सधैं सम्मान गर्ने तर अप्रमाणित विषयलाई
अतिरञ्जित हुँदा आफूलाई दुःख लागेको बताउनुभयो ।
