५ पुस, काठमाण्डौं । सुन्दर भविष्यको सपना
बोकेर खाडी पुगेका कलिला नेपाली चेलीहरु पेटमा बच्चा बोकेर आएका समाचार
पुरानै हुन् । अव अर्की यस्ती चेली थपिएकी छन् जो खाडीमा सुरक्षित रहनि तर
आफ्नो मुलुकमा पाइला टेक्नासाथ राजधानी मै बलात्कृत भइन् र पेटमा बच्चा
बोकिन् ।
भोजपुरकी चेली (नाम सुरक्षित) ले तीन बर्ष
साउदीमा दुःख गरेर कमाएको दुई लाख अध्यागमनका कर्मचारीले लुटे, उनलाई
सान्तवना दिने भनेर बसपार्कसम्म पुर्याएका सुरक्षाकर्मीले अस्मितासमेत
लुटेर रुवाउँदै घर पठाए ।
पोखराको एक होटलमा भाँडा माझ्ने उनलाई एक
दलालले तीन वर्षअघि दिल्लीको बाटो हुँदै खाडी पठाइदिएका थिए । घरेलु
कामदारका रुपमा दुःख गरेर कमाएको पैसाले अव जीवन सुखी हुन्छ भन्दै उनी ६
मंसिरमा अन्तरारष्ट्रिय विमानस्थलमा उत्रिएकी थिइन् । दलालले उनलाई पर्वतकी
विमला केसीको नाममा पासपोर्ट बनाएर पठाएका थिए, अर्काको पार्सपोर्टमा
विदेश गएको भनेर उनलाई विमानस्थलमै अध्यागमनका कर्मचारीले नियन्त्रणमा लिए ।
अध्यागमनको कार्यालयमा कालिकास्थानमा पुर्याएपछि उनीसँग भएको सवै
सम्पत्ति लुटियो, पैसा नदिए जेलमा राख्ने धम्काउँदै विभागका प्रहरी जवान
पर्शुराम बस्नेत र त्यहीँका नायव सुव्बा सोमनाथ खनालले पैसा लुटे ।
त्यतिले पुगेन, उनलाई घर पठाइदिने भन्दै
गोंगबुस्थित सोलुखुम्बु गेस्टहाउसमा लगी जवान बस्नेतले बलात्कार गरे ।
यसबीचमा उनीसँग भएको केही सामान पनि बस्नेतले लुटे । लुटिएको ज्यान र खाली
झोला बोकेर घर फर्किएकी उनले बस्नेतलाई फोन गरेकी थिइन् । आधा पैसा दिन्छु
भन्दै प्रलोभन दिएर बस्नेतले उनलाई फेरि काठमाण्डौं बोलाएका थिए । २९
मंसिरमा काठमाण्डौं आएकी उनले मीतदाईको सहयोगमा बस्नेतलाई पक्राउ गराएकीको
खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
