बैकल्पिक केन्द्रीय सदस्यहरु बढुवामा पर्ने, पोलिटब्यूरोमा रावलको चर्चा
२५ मंसिर, काठमाडौं । नेकपा एमालेले
पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई पार्टी उपाध्यक्ष बनाउने भएको छ । साथै
अशोक राईको समूह अलग भएपछि खाली बनेका पदहरुमा मनोनित हुन पाइने भएपछि
एमालेका एक दर्जन नेताहरु उत्साही देखिएका छन् ।
एमाले
परित्याग गरेका उपाध्यक्ष अशोक राईको स्थानमा नेम्बाङलाई ल्याउने तयारी
भइरहे पनि सोमबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकले नेम्बाङलाई तत्काल
केन्द्रीय सदस्यमात्रै बनाउने र प्रक्रिया
मिलाएर उपाध्यक्षको जिम्मेबारी
दिने एक नेताले बताए । ‘नेम्बाङलाई उपाध्यक्ष बनाउने पक्का जस्तै छ’ एक
नेताले भने-’उपाध्यक्ष निर्वाचित भएर आउने पद भएकाले यसका लागि केही
प्रक्रिया मिलाउनुपर्छ । त्यसका लागि उहाँलाई हाल केन्द्रीय सदस्यमात्रै
बनाइनेछ ।’
यस्तै केन्द्रीय सदस्य भीम रावललाई विजय
सुब्बाले पार्टी छाडेपछि खाली भएको बैकल्पिक पोलिटब्युरो सदस्यमा बढुवा
गर्ने तयारी भैरहेको एमाले स्रोत बताउँछ । त्यसैगरी खाली रहेका केन्द्रीय
सदस्य पदमा बैकल्पिक केन्द्रीय सदस्यहरुबाटै बढुवा गर्ने एमालेको तयारी छ ।
‘बैठकले रिक्त केन्द्रीय समितिमा
नयाँहरुबाट राजेन्द्र राई, कृपाश्वर शेर्पा, सानु श्रेष्ठ, शेरबहादुर
तामाङ, शेरधन राईलाई ल्याउने पक्का छ । यस्तै रवीन्द्र अधिकारी, हिक्मत
कार्की र गणेश काङमाङ राईको नाम पनि एमालेभित्र चर्चामा छ । एमालेमा
उपाध्यक्ष, बैकल्पिक पोलिटव्युरो सदस्यसहित एक दर्जन केन्द्रीय सदस्य पद
रिक्त रहेको छ ।
बैठकमा स्थायी समितिले गरेको नेताहरुको
कार्यविभाजन सम्वन्धीप्रस्ताव पेश भएको छ । छलफलमा केही नेताहरुले भने
त्यसमा असन्तुष्टि जनाएका छन् । यस्तै अध्यक्ष झलनाथ खनालले राजनीतिक
प्रतिवेदन पेश गर्नु भएको छ । राजनीतिक गतिरोधका कारक माओवादी भएको भन्दै
खनालले प्रतिवेदनमा आन्दोलनमा जानु पर्नेमा जोड दिनु भएको छ ।

