प्रचण्ड यसकारण फर्किए संबिधानसभा पुनर्स्थापनामा


१२ पुस, काठमाडौं । नेपाली राजनीतिका चतुर खेलाडी मानिने एमाओवादी अध्यक्ष प्रचण्डले केही दिनयता फेरि संबिधानसभा पुनर्स्थापनाको कार्ड फ्याँकेका छन् । आफैले सुशीललाई प्रधानमन्त्री प्रस्ताव गरेपछि गठवन्धनभित्र देखिएको विवाद मिलाउने क्रममा सोमबारबाट उहाँले पुनर्स्थापनाको प्रस्ताव दोहोर्‍याएका छन् ।

संविधानसभा पुनस्र्थापनाबारे छलफल गर्ने भनिएको संघीय
लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन सचिवालयको बैठक बुधबार बस्दै नबसी स्थगित भयो । एमाओवादी अध्यक्ष प्रचण्ड संयोजक रहेको २१ दलीय गठबन्धनभित्र ‘संविधानसभा पुनर्स्थापना’को मुद्दाले मंगलबारबाटै प्रवेश पाइसकेको छ । गठवन्धनको वैठक बिहीवार दिउँसो डाकिएको छ ।

सरकारको नेतृत्व सुशील कोइरालालाई सुम्पने विषयमा सत्तारुढ गठबन्धनभित्र मत बाझिएपछि गठबन्धनलाई एउटै नारामा गोलबन्द गर्न प्रचण्ड आफैंले संविधानसभा पुनर्स्थापनाको विकल्प दोहोर्‍याएका हुन् । प्रचण्डले यसअघि पनि सार्वजनिकरुपमै संविधानसभा पुनर्स्थापनाको पक्षमा वकालत गरिसकेका थिए । एमाले र कांग्रेसले पुनर्स्थापनाबारे आ-आफ्नो दलभित्र बहसमा प्रतिबन्ध लगाएपछि चार दलले निर्वाचनमा जाने सहमति बनाएका थिए ।

पुनर्स्थापनाको पक्ष र विपक्ष

संविधानसभा पुनर्स्थापनाको चाहना राख्ने प्रचण्ड एक्ला नेता होइनन् । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल घोषितरुपमै संविधानसभा पुनस्थापनाका पक्षपाती नेता हुन् । नेपाली कांग्रेसका ७० भन्दा बढी सभासद्हरुले संविधानसभा पुनस्थापना हुनुपर्छ भन्दै पार्टी सभापति कोइरालालाई यसअघि नै लिखित ज्ञापनपत्र बुझाइसकेका छन् । उपसभापति रामचन्द्र पौडेल, रत्ना शेरचनलगायतले चुनावका लागि छोटो समय संविधानसभा पुनर्स्थापना गर्नुपर्ने तर्क गर्दै आए पनि सभापति सुशीलको जोडबलमा केन्द्रीय कार्यसमितिले पुनर्स्थापनाबारे नबोल्न कांग्रेस नेताहरुलाई निर्देशन दिइसकेको छ ।

कांगेसमा जस्तै नेकपा एमालेमा पनि संविधानसभा पुनस्थापना हुनुपर्छ भन्ने मत बलियो छ । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्व अर्थमनत्री सुरेन्द्र पाण्डे लगायत एमालेका अधिकांश युवा नेताहरु पुनर्स्थापनाको पक्षमा छन् । पुनर्स्थापनाबारे नबोल्न पार्टीले निर्देशन गर्दागर्दै पूर्व सभासद् रवीन्द्र अधिकारी खुलेर पुनर्स्थापनाको पक्षमा लागिसकेका छन् ।

एकीकृत माओवादी र नेकपा माओवादीका अधिकांश सभासद् पुनर्स्थापनाको पक्षमा छन् । सरकारमा रहेका मधेसी दलहरुले घोषितरुपमा निर्वाचनको कुरा गरे पनि अधिकांश सभासद्हरु पुनर्स्थापना होस् भन्ने चाहन्छन् ।

सत्ता गठबन्धनमा रहेका साना दलका नेताहरु संविधानसभाको पुनर्स्थापना चाहन्छन् । नेपाः राष्ट्रिय पार्टी का बुद्धरत्न मानन्धर भन्छन्- ‘नयाँ चुनावमा जानका लागि पनि पुनस्र्थापना आवश्यक छ । खास गरी संविधान संशोधन गरेर आवश्यक ऐन कानुन बनाउनुपर्ने भएकाले पाँच मिनेटका लागि भए पनि पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो पार्टीको जोड हो ।’ मन्त्रीसमेत रहेका संघीय सद्भावनापार्टीका अनिलकुमार झाभन्छन्- ‘जानुपर्ने चुनावमै हो । तर, अहिले चुनावमा जाने वातावरण नबनिरहेको अवस्था छ । त्यसैले यतिबेला पुनर्स्थापना बाध्यता हो । तर, हाम्रो पार्टीको पहिलो जोड भनेको चुनाव नै हो ।’

त्यस्तै मन्त्रीसमेत रहेका साना दलका अर्का एक नेताले अनलाइनखबरसँग भने- ‘मुलुक अब संविधानसभा पुनस्थापनाको पक्षमा गयो, यसले रामचन्द्र पौडेललाई प्रधानमन्त्री हुने सम्भावना बढाउँछ भने वैद्य पक्षका समानुपातिक सभासद्लाई कारवाही गर्न प्रचण्डका लागि बाटो खुल्छ ।’

सत्तारुढ गठबन्धनमा आवद्ध साना दलहरु पुनःस्थापनाको पक्षमा लागे पनि विपक्षी गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने पुनस्र्थापना कुनै हालतमा संभव नरहेको बताउनुहुन्छ । ‘पुनस्र्थापना गर्ने आधार पनि छैन, कसले गर्ने ? त्यसैले चुनावको विकल्प छैन ।’ केसीको कथन छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भन्नुहुन्छ-’पुनस्र्थापनाको हैन, निर्वाचन नै उपयुक्त विधि हो ।’ नेकपा मालेका महासचिव सीपी मैनालीको तर्क छ- ‘हाम्रो पार्टी पुनस्र्थापनाको पक्षमा छैन । अहिलेको राजनीतिक निकासका लागि चुनावमै जानुपर्छ । नयाँ जनादेशमा जानुपर्छ । पुरानो जनादेशको अब औचित्य छैन ।’

प्रचण्ड किन चाहन्छन् पुनर्स्थापना ?

सत्तारुढ गठबन्धनमा मंगलबारबाट एकाएक संविधानसभा पुनर्स्थापनाको नाराले प्रवेह पाउनुमा एमाओवादी अध्यक्ष प्रचण्डको पहिलेदेखिकै योजनाले काम गरेको छ । निर्वाचनमा जानका लागि र सरकार परिवर्तन गर्न एवं रिक्त संवैधानिक निकायमा पदपूर्ति गर्न संविधानसभा पुनस्थापनापछि बाटो खुल्नेमा कांग्रेस, एमाले र माओवादीका अधिकांश नेताहरु सहमत देखिन्छन् र यो तर्क उतिसाह्रो निराधार एवं तर्कहीनजस्तो पनि देखिँदैन ।

तर, सत्तारुढ गठबन्धन औपचारिकरुपमै संविधानसभा पुनर्स्थापनाको पक्षमा गयो भने यसले नेपाली कांग्रेसभित्र अप्ठ्यारो स्थिति ल्याउन सक्छ । संविधानसभा पुनर्स्थापना भएको खण्डमा संविधानसभा सदस्यबाटै प्रधानमन्त्री चयन गर्नुपर्ने हुनाले सुशील कोइराला प्रधानमन्त्री हुने सम्भावना तत्कालका लागि सकिने छ र रामचन्द्र पौडेल या शेरबहादुर देउवाका दिन खुल्न सक्छन् । तर, यो भन्दा बढी पुनर्स्थापनाबारे बहस हुँदा कांग्रेस र एमालेभित्र पुनः आन्तरिक एवं वैचारिक किचलो बढ्न सक्ने अनुमान पनि माओवादी अध्यक्ष प्रचण्डले लगाएकै हुनुपर्छ । उता पार्टी फुटाएका तर औपचारिक रुपमा दल दर्ता नगराइसकेका वैद्यपक्षीय माओवादीका समानुपातिकतर्फका सभासद् प्रचण्डको निस्कासन कारवाहीमा पर्ने सम्भावना भयो भने वैद्य पक्षलाई पनि कमजोर पार्ने र केही सभासद्लाई आफूतिर तान्ने अवसर एमाओवादीले पाउने अनुमानलाई पनि त्यतिबेला निराधार मान्न सकिँदैन । यस्तो समस्या एमालेको अशोक राई समूहमा पनि पर्न सक्छ ।

अड्को-पड्को तेलको धूप

सत्तारुढ गठबन्धन पुनस्थापनाको पक्षमा लाग्नु भनेको एकप्रकारले आगामी बैसाख यता चुनाव हुन सक्दैन भन्ने टुंगोमा पुग्नु पनि हो । तर, चुनाव नहुने अवस्थामा कमसेकम संविधानसभा पुनर्स्थापनासम्म भयो भने सरकार परिवर्तन गर्न, रिक्त रहेका संवैधानिक निकायहरु भर्न अनि कानूनी एवं संवैधानिक समस्या समाधान गर्न एउटा आधार भने पक्कै पाइने छ भन्ने अनुमान प्रचण्डले पक्कै पनि लगाएकै हुनुपर्छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......