आँखा र नाक ढाके राम्रो, मापसेको तातो एकछिनमात्र
१० पुस, काठमाडौं । चिसोले देशभरको जनजीवन
कष्टकर बनाएको छ । तराईका कतिपय ठाउँमा चिसोकै कारण मान्छेको मृत्यु भएको
खबर पनि सार्वजनिक भैरहेका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण
बिहान-बेलुका घर बाहिर निस्कन समस्या छ । चिसोले बालबालिका र
बृद्धबृद्धालाई बढी सताएको छ । अरुलाई पनि चिसोले उत्तिकै दुःख दिएको छ ।
योबेला रुघाखोकी नलाग्ने मान्छे निकै कम छन् ।
चिसोमा ध्यान नदिँदा स्वास्थ्य समस्या
हुने भएकाले धेरै कुरामा विचार पुर्याउनुपर्ने चिकित्सकहरु बताउँछन् ।
बालबालिका, गर्भवती र सुत्केरी महिला तथा बृद्धबृद्धालाई यो बेला बढी ध्यान
दिनुपर्छ । अरुले पनि उत्तिकै ख्याल गर्नुपर्ने हुन्छ । कसरी जोगिने त
चिसोबाट ? चिकित्सक डा. वासुदेव पाण्डेको सल्लाह यस्तो छ ः
छालाको हेरचाहः
चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ ।
चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा
लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ । नाकमुख छोप्ने
मास्क र गाला, कान तथा गला ढाक्ने टोपी लगाउनुपर्छ । हिँडडूल गर्दा चश्मा
लगाउनु आँखाका लागि राम्रो हुन्छ । शरीरका अरु अंग ढाके पनि अनुहारको त्यति
ख्याल गरिएको पाईंदैन । तर, अनुहारको पनि उत्तिकै हेरविचार गर्नुपर्छ ।
खानपानमा ध्यानः
जाडोमा घाममा बस्ने तथा आगो या हिटर
ताप्ने भएकाले शरीरभित्र पानीको मात्रा कम हुन जान्छ । त्यसकारण चिसोमा
पानी लगायतका झोलिलो कुरा बढी सेवन गर्नुपर्छ । तर चिसो होइन, तातोमा जोड
दिनुपर्छ । पानी पनि तताएर पिउनुपर्छ । खानेकुरा पनि तातो नै खानुपर्छ ।
तातो झोल र प्रोटिनयुक्त खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
योबेला चुरोट, बिडी, चिया कफी र मदिरा बढी
सेवन गर्ने चलन छ । जुन स्वास्थ्यका लागि राम्रो होइन । यसले क्षणिक रुपमा
तातो भएको जस्तो लागे पनि त्यस्तो हुँदैन । स्वास्थ्यलाई नकारात्मक असर
गर्छ । चिया र कफीको मात्रा कम हुनु राम्रो हुन्छ । जाँडरक्सी र चुरोटबिडी त
सेवन नै गर्न हुँदैन ।
आगो र हिटरको प्रयोग कमः
जाडोमा आगो ताप्नु राम्रो भए पनि हिटरले
नकारात्मक असर पुर्याउन सक्छ । झ्यालढोका थुनेर हिटर बाल्न हुँदैन । एकछिन
कोठा तताएर निभाउनुपर्छ । नत्र कार्बन मोनोअक्साईड ग्यासले
श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै मान्छेको ज्यानै जाने
सम्भावना समेत हुन्छ । आगो पनि धेरै ताप्न हुँदैन । घाम ताप्नु सबैभन्दा
उपयुक्त हुन्छ ।
चिसो र तातोको सन्तुलनः
चिसोबाट एकैपटक धेरै तातो पार्दा शरीरलाई
बेफाइदा हुन्छ । त्यसैले धेरै चिसो भएको छ भने एकैपटक आगोको छेउमा जान
हुँदैन । शरीरलाई बिस्तारै तातो बनाउनुपर्छ । तातोपानीले नुहाउनु राम्रो भए
पनि पानीलाई शरीरले सहनसक्ने मात्र बनाउँदा राम्रो हुन्छ । अर्थात मन
तातोभन्दा पनि कम तातो भएको पानी उपयुक्त हुन्छ ।
रुघाखोकीलाई औषधि हैनः
सामान्य रुघाखोकीका लागि औषधिभन्दा घरेलु
उपचार नै राम्रो हुन्छ । तातोपानी, पानीको बाफ र झोल खानेकुराले रुघाखोकी
निको पार्छ । रुघाखोकी लाग्दा सकभर बाहिर ननिस्कँदा राम्रो । निस्कनै परे
रुमालले नाकमुख छोप्नुपर्छ । स्वस्थ मान्छेले रुघाखोकी लागेको मान्छेबाट
टाढा बस्नुपर्छ । ज्वरो नै आयो भने स्वास्थ्य संस्थामा जाँच गर्न जानुपर्छ ।
रुघाखोकीका लागि मात्रै चाहिँ घरेलु उपचार नै उपयुक्त हुन्छ । तर,
एकहप्ताभन्दा बढीरुघाखोकी लागिरहृयो भनेचाहिँ जाँच गराउन जानुपर्छ ।
