कविता- साकेलाको दर्पणभित्र अव्यक्त प्रेम कथाहरु


by Tirtha Sangam Rai

उभौलीको यो स्वर्णिम बिहानी
साकेलाको यो रमझम मौसम
म आँशु टिपिरहेछु हरेक दिन
सुकाई रहेछु बिस्कुन रहरको
तुवालो बिहिन मध्य घाममा

भूमध्य रेखाको केन्द्र विन्दुमा
यो निस्सासिदो बिरही क्षितिजमा
केहि साकेलाका उदास गीतहरु छन्
स्मृतिमा खिचिएको पुरानो तस्वीर
चण्डि पूर्णेको ढोल र झ्याम्टा छन्

ओखलढुंगाको घाम फूल्ने भन्ज्याङमा
भोजपुरको चहकिलो जूनेली बजारभरि
दिक्तेलको ढकमक्क गुराँसे डाँडैडाँडा
शिली गाउँदै होलान् मेरा दौतरीहरु
गुराँसको थुङ्गा जस्तै किराँतेनीहरु
यतिबेला साकेला नाँच्दै होलान्
शिलीमोपाको पछिपछि
र हातमा-
वापा/वाबु/वासीम/आराखा
वासो/चार्मा/बेछुको यारी खेलाउदै
नछुङ्गसँग रिसिया गाउँदै होलान्
इतो, हाकारा कर्छरीपा/टोकायाहरु

मेरो मस्तिष्को धमिलो छाँयामा
स्मृतिको पुरानो साधा चलचित्र
क्रमश क्रमश सुरु हुदै यतिबेला
एउटा ढुङ्गे युगको हेत्छाकुप्पा
थु-थुरीबेद र मुन्धुमको
कहिरन गर्दै होलान् किराँत प्रदेशमा
ढडिया थाप्दै होलान् अझै पनि
साप्सु र दिखुवाको भङ्गालोहरुमा
उस्को शरिरभरि अझै होलान्
असला र बुदुना ङासाको गन्ध
श्वास प्रवासमा मिस्सिएको होलान्
चेफा र तामाको निख्खर स्वाद
छेवैमा तायामा/खियामा-नाईमा
पारुहाङ्ग र सुम्निमाको
कहिरन फलाक्दै होलिन्
शिली गाउँदै होलिन्
धनुकाँड स्याहार्दै होलिन्
र किनेमाको अचारसँग
अकबरे खुसा्रनी मिच्दै होलिन्
आज साकेलाको दर्पणभित्र
म देखिरहेछु इतिहासका
केहि स्वप्निल झझल्कोहरु


यो अनाकन्टार रेगिस्तानमा
कस्ले बजायो बिनायो र मुर्चुङ्गा ?
पसिना पसिना भएर सुकेको
मेरो आलो रगतका थोपाहरु
निरस समुन्द्रझैं सुसाई रहदा
कहाँ बज्यो ढोल र झ्याम्टा ?
छिन्नबिन्न सपना पोका पारेर
म एकाएक बौरिन्छु मध्यरातमा
जब बज्दछ साकेलाको संगीत
म अनुभूत गर्ने छु हाम्रो प्रेम
पानीको सतही तरलित भ्रम
सुर्यास्तमा जूनको आलिङ्गन
अंगालो भरिभरि चुमेरको क्षण
जीवन यतिबेला कोकले शिली जस्तै
साँच्चै पेन्डुलम/साँच्चै पेन्डुलम

यतिबेला क्षितिजको पल्लो कान्लामा
देश दुखिरहदा म कसरी नाँचु साकेला ?
आफ्नै आगनमा आज परदेसी हुँदा
तिमीलाई कहाँ कहाँ खोजँु म ?
बतासिएर उडेको पानीचरा
ओईलि झरेको फूलको सुवास
बिना झरीको छाता हुन सक्छ
उभौली-साकेला मनाई रहदा
जसरी देश आधा पिल्चो भएर
अस्पतालको बेडमा लडिरहेछ
त्यसैले हे- हुर्छुम
चौरीको पुच्छर, सिन्कौली र खुरुम्बी
त्यति खुसी छैन हिजो जस्तो
प्रवासी पत्नीको उदास मुहारजस्तै
निरस छन् ढोल, झ्याम्टाको ताल
उमंग छैनन् शिली टिप्ने गोडाहरुमा
प्रेम गीत छैनन् शिली गाउने ओठहरुमा
आदिमकालदेखि चलिरहेको यो महान पर्व
आज किन फिका-फिका लाग्दैछ मलाई ?
किराँत प्रदेशको खिम, खोली र छाचामाचीहरु
सबैसबै मौन छन् / स्तब्ध छन्
श्रीमतिले घर छोडेको अन्तिम रातजस्तै
जीवन सुन्यसुन्य लाग्दैछ यो समय


मेरी छालुमा
तिमीलाई केहि पठाउन सकिन
यो सालको साकेलामा……
केहि कविताका हरफहरु
बेसुर साकेलाका गीतहरु
निनामा-हैखामा साँचिराखेर
अलिकति मेरो अब्यक्त प्रेम
र सिङ्गो मन संम्प्रेषण गर्दैछु
सक्छौ भने-
साकेला थानमा चढाई दिनु
खोलीबुङ्गहरुलाई मन्साई दिनु
सक्दैनौ भने-
त्यहि तिम्रो दिलको खहरेबाट बगाई दिनु
जहाँबाट बर्षौ पहिले मलाई
तिम्रो त्यहि दिलबाट बगाएकी थियौ ।


स्यामुना


रेगिस्तानी कवी
तीर्थ संगम राई
रचनाकाल-२६ मे २०६८

कवितामा भएका चाम्लिङ्ग भाषाका केहि शब्दार्थहरु:-

(१)वापा-कुखुराको भाले(२)वाबु-चिण्डो(३)वासीम-जाँड(४)आराखा-रक्सी(५)वासो-राईहरुको धामीले प्रयोग गर्ने भालेको प्वाँख(६)चार्मा-कोदो(७)बेछु-अदुवा(८)यारी-अदुवालाई काटेर चित र पोट हेरीने जोखाना(९)नछुङ्ग-राईहरुको बिजुवा(१०)रिसिया-नछुङ्गले लयात्मक तरिकाले फलाक्नु(११)इतो-एउटा (१२)हाकारा-दुईटा(१३)कर्छरिपा/टोकाया-नछुङ्गलाई बाटो देखाउने साथी ढोले अथवा सहयोगीहरु(१४)हेत्छाकुप्पा-क्रान्त्रिकारी किराँत(१५)ङासा-माछा(१६)तायामा/खियामा/नाईमा-हेत्छाकुप्पाको दिदीहरु/परि अथवा पार्वतिकी छोरी(१७)कहिरन-ईतिहास वा गाथा(१८)हुर्छुम-चाम्लिङ्गहरुको एक पितृदेव(१९)खिम-घर(२०)खोली-जंगल(२१)छाचामाची-केटाकेटी(२२)छालुमा-चाम्लिङ भाषामा पुकारीने काईली दर्जा(२३)निनामा-हैखामा-आकाश-धर्ती (२४)खोलीबुङ्ग-जंगलीफूल (२४)खुरुम्बी-अर्ध चन्द्र आकारको हसिया जस्तै एक प्रकारको किरातिनी स्त्रीहरूले प्रयोग गर्ने हतियार(२५)शिलीमोपा-साकेला नाचको मुख्य नायक


(किराँत राई यायोख्खा शाखा कतारले आयोजना गरेको उभौली साकेला -२०६८ दोहा कतार पर्व हिजो २७ मे २०११मा कतार स्थीत केरला कल्चर सेन्टरमा भव्यताका साथ सम्पन्न भयो त्यहि कार्यक्रमा बाचन गरेको कविता तपाईहरुमा समर्पित । म चाम्लिङ भाषाका ज्ञाता पक्कै हैन केहि त्रुटिहरु भएकाछन् । त्यसैले भाषाका ज्ञाताहरुबाट सुझावको अपेक्षा लिएको छु ।)

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......