काठमाडौ, पुस ६ – कम्ती
हल्ला भएन । अझ यताभन्दा उता, अर्थात् पश्चिमा मुलुकतिर । डिसेम्बर २१ मा
संसार ध्वस्त हुँदै छ भन्ने ‘गलत’ प्रचार कतिले पत्याए । ज-जसले पत्याएनन्,
उनीहरूले पनि चासो राखे । अमेरिका र युरोपमा त यसले सानोतिनो हलचल नै
ल्यायो । थोरै बाछिटा नेपालमा पनि देखियो । वैज्ञानिकहरूले सुरुदेखि नै
भन्दै थिए, ‘डराउनु पर्दैन, केही हुँदैन । अरू दिनजस्तै सामान्य हुनेछ ।’
र, ढुक्क हुनुस्- दिनभर केही हुँदैन ।
अमेरिकी अन्तरिक्ष संस्था नासालगायतका
वैज्ञानिकले यस्तो हल्लाको पछि नलाग्न भनेका छन् । ‘असाधारण दाबीका लागि
असाधारण प्रमाण चाहिन्छ,’ नासाका वैज्ञानिक डा.डान यौम्यान्सले आफ्नो
संस्थाको श्रव्य-दृश्य सामग्रीमा भनेका छन्, ‘विश्वमा घटनाहरूको तथ्यांक
राख्न थालेयता सयौं भविष्यवाणीमा पृथ्वी अन्त्यको दाबी गरिएको छ । तर अहिले
पनि हामी यहीँ छौं ।’
‘सुमेरु सभ्यताको समय खोजिएको काल्पनिक
ग्रह निबिरु पृथ्वीसँग ठक्कर खाने’ हल्ला चलाइएको थियो । वैज्ञानिकहरूको
दाबी छ, ‘त्यसको कुनै आधार छैन । पृथ्वीमा दिउँसै अँध्यारो छाउँदैन ।’
भारतको एमपी विरला तारामण्डलका निर्देशक एवं नासाका खगोलविद् डीपी दुरईले
भारतीय सञ्चार माध्यममा जनाएका छन्, ‘यो एउटा हल्लामात्र हो ।’
त्रिभुवन विश्वविद्यालय, भौतिक शास्त्र
केन्द्रीय विभागका प्राध्यापक उदयराज खनालका अनुसार शुक्रबार वर्षकै छोटो
दिन भने हुनेछ । ‘हरेक वर्ष एकपटक पृथ्वी, सूर्य र आकाशगंगा एक रेखामा
आउँछन्,’ उनले भने, ‘यसले सूर्य, पृथ्वी वा आकाशगंगाको चारैतर्फ र सूर्यको
गतिमा कुनै फरक पर्दैन ।’ प्राध्यापक खनालले शुक्रबार सौर्य आँधी आउनेसमेत
कुनै सम्भावना नरहेको औंल्याए ।
माया क्यालेन्डर उद्धृत गर्दै २१
डिसेम्बरलाई पृथ्वी अन्त्यको दिन भनिएको थियो । प्राध्यापक खनालका अनुसार
उक्त क्यालेन्डरमा दुई सय ९० दिनको एक वर्ष हुन्छ । माया सभ्यताअनुसार यो
केवल एउटा युगको अन्त्य हो, जुन पाँच हजार एक सय २५ वर्षको थियो । माया
क्यालेन्डरलाई १३ बख्तुनमा बाँडिएको छ । एक बख्तुन करिब ३९३ वर्षको हुन्छ ।
१३ बख्तुन २१ डिसेम्बर २०१२ मा समाप्त हुने भएकाले यसलाई पृथ्वी अन्त्यको
रूपमा हल्ला गरिएको हो । यस्तै, प|mान्समा १६ औं शताब्दीका भविष्यवेत्ता
नास्त्रेदमसको भनाइलाई टेकेर पनि यस्तो हल्ला फैलाइएको हो । उनले आफ्नो
कवितामा भविष्यमा हुने घटनाबारे वर्णन गरेको बताइन्छ ।
ज्ञानोदय पञ्चाङ्ग ज्योतिष समितिका अध्यक्ष भक्तिविलास दाहालले त्रास फैलाउन यस्तो हल्ला चलाइएको बताए ।
‘ज्योतिष शास्त्रअनुसार कलियुग बितेपछि
मात्र प्रलय हुन सक्ने शंकामात्रै देखिएको छ,’ उनले भने, ‘अहिले कलियुगको
पाँच हजार एक सय ११ वर्ष चलिरहेको छ । यसैलाई आधार मान्ने हो भने पनि
हजारौं वर्षसम्म पृथ्वी अस्तित्वमा रहन्छ ।’
हल्ला आतंक विश्व ध्वस्त हुने हल्लाका
कारण भक्तपुर बालकोटका ३२ वर्षीय राजु राउत शुक्रबार श्रीमती र दुई
छोरासँगै दिन बिताउने योजना बनाएका छन् । बिहीबार बिहान रसुवाको लाङटाङमा
लागेको आगलागीलाई समेत ज्वालामुखी विस्फोट हुन लाग्यो भनेर उनी आतंकित भए ।
गि्रल वर्कसप व्यवसाय गरिरहेका उनले भने, ‘काम के गर्नु भोलि के हुने हो
।’ यस्तो त्रास बालबालिकामा झन् बढी देखिन्थ्यो । ‘मम्मी भोलि मेची-महाकाली
नै भासिन्छ रे, स्कुलमा साथीले भनेको,’ लोकन्थलीकी सात वर्षकी ममता
श्रेष्ठले बिहीबार स्कुलबाट फर्केपछि आमा तारालाई भनिन्, ‘अब म पढ्दिनँ,
होमवर्क पनि गर्दिनँ ।’

