नेता र मन्त्रीहरुहरु लोडसेडिङको अँध्यारोमा के गर्दैछन् ?

र झलनाथका इन्भर्टर काम नलाग्ने, हिटर ताप्न नपाएको मन्त्रीको गुनासो

१२ पुस, काठमाडौं । दिनमा १२ घण्टासम्म हुन थालेको चर्को लोडसेडिङले सर्वसाधारण त हैरान छन् नै, लोडसेडिङ गर्ने सरकारका मान्छे र लोडसेडिङ हटाउनुपर्छ भनेर भाषण गरी हिँड्ने शीर्ष नेताहरु पनि उत्तिकै हैरान हुन थालेका छन् ।
सहमतीय प्रधानमन्त्री फेला पार्न नसकेर हैरान भएका शीर्ष नेताहरुलाई लोडसेडिङको बारेमा राम्रोसित सोच्ने फुर्सद छैन । तर, उनीहरुलाई पनि लोडसेडिङले उसैगरी हैरानी गरेको छ । हुन त प्रायः सबै नेताहरुको घरमा इन्भर्टर, सोलार या अरु वैकल्पिक व्यवस्था छ । नुहाउनको लागि तातो पानी, लेखपढको लागि उज्यालो । तर उनीहरुले पनि बिजुली बत्ती भएको बेलामा जस्तो नभएको बेलामा धित मर्नेगरी कामधन्दा गर्न पाएका छैनन् ।
लोडसेडिङ घटाउन नानाथरि उपाय सोचिरहने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवास बालुवाटारमा पनि अन्यत्र जस्तै बत्ती जान्छ । तर, त्यहाँ जेनेरेटरको भरपर्दो व्यवस्था छ । कोठाभित्र बस्दा जेनेरेटरको उज्यालोले लोडसेडिङ भए नभएको त पत्तो हुँदैन । तर प्रधानमन्त्रीले पनि लोडसेडिङको असर महसुस गर्नु हुने बालुवाटार स्रोतले जनाएको छ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रधानमन्त्रीको जति सुविधा छैन । पहिले जेनेरेटर थियो । अहिले इन्भर्टर मात्र छ । पुरानो इन्भर्टर भएकाले त्यति काम गर्दैन । बत्ती बाल्नको लागि मात्र ठीक्क हुन्छ । प्रायः भेटघाटमै व्यस्त हुनुपर्ने भएकाले प्रचण्डलाई बत्ती भएको बेला पनि लेखपढ गर्ने फुर्सद हुँदैन ।
प्रचण्डको निवासमा सोलारको व्यवस्था पनि छैन । नुहाउनको लागि विद्युत्तीय गिजर राखिएको छ । खाना ग्यासमै पाक्छ ।
कांग्रेस सभापति सुशील कोइरालाको निवासमा चाहिँ जेनेरेटरको व्यवस्था छ । त्यसैले उहाँलाई लोडसेडिङले त्यत्तिको असर गर्दैन । नुहाइ-धुवाइका लागि चौबीसै घण्टा तातो पानी आउने सोलार छ ।
एमाले अध्यक्ष झलनाथ खनालको घरमा दुईवटा इन्भर्टर छ । तर, एउटाले त्यति राम्रो काम गर्दैन । इन्भर्टर चार्ज गर्नका लागि पनि बिजुली आउने समय कुर्नुपर्छ । सामान्य लेखपढको कामचाहिँ उहाँले इन्भर्टरकै माध्यमबाट गर्नुहुन्छ । लेखपढ गर्ने बानी भएकाले इन्भर्टरबाट कम्प्युटर पनि चल्छ । खनालको घरमा पनि सोलार छ । खाना चाहिँ ग्याँसमै पाक्छ ।
नेकपा-माओवादीका उपाध्यक्ष मोहन वैद्य किरणको घरमा पनि एउटा इन्भर्टर छ । यसले कम्प्युटर चलाउने काम मात्र हुन्छ । तर इन्भर्टरले सधैं काम गर्दैन । लोडसेडिङ हुँदा उज्यालोका लागि घरबेटीले सोलार बत्तीको व्यवस्था गरिदिएको भए पनि बुधबार वैद्यले डेरा सरेका पनि सोलारको उज्यालो पाउन छाडेका छन् । डेरा सर्नुअघिसम्म बाथरुममा ग्यास गिजर पनि घरबेटीले नै राखिदिएका थिए । नयाँ कोठमा अब यत्तिको व्यवस्था होला या नहोला भन्ने वैद्य परिवारलाई पिरलो परेको छ ।
मन्त्रीलाई पनि लोडसेडिङको पिरलो
अन्यत्र जस्तै मन्त्री निवासमा पुल्चौकमा पनि लोडसेडिङ हुन्छ । मन्त्रीहरुको सुविधाका लागि सबैको निवासमा इन्भर्टरको व्यवस्था छ । तर इन्भर्टरले बत्ती बाल्न बाहेक अरु काम गर्न मिल्दैन । ‘कहिलेकाहीं बिदेशी पाहुना भेटघाटमा आएका हुन्छन्, कुरा गर्दागर्दै बत्ती झ्याप्प जान्छ’ मन्त्री एकनाथ ढकालले अनलाइनखबरसित भन्नुभयो-’इन्र्भटरले बत्ती त बल्छ, तर हिटर चल्दैन ।’ बिदेशी पाहुनालाई आफ्नो देशको यो अवस्था देखाउनुपर्दा साह्रै हीनताबोध हुने ढकालले बताउनुभयो ।
‘लोडसेडिङले मलाई मात्र होइन, सबै मन्त्रीहरुलाई यस्तै सास्ती दिएको छ’ ढकालले भन्नुभयो-’बिहानको समयमा बत्ती जाने हुँदा चिसै पानीले नुहाउनुपर्ने हुन्छ, इन्भर्टरले त मुश्किलले बत्ती मात्र बल्ने हो ।’ चिसो पानीले नुहाउँदा आफूलाई रुघाखोकीले सताएको पनि उहाँले बताउनुभयो । ‘सबै जनतलाई जस्तै मार हामीलाई पनि परेको छ’ ढकालले भन्नुभयो ।
राति उठेर मोबाइल चार्ज
‘बेलुका सुत्दा नि बत्ति हुँदैन, बिहान उठ्दा पनि कुनबेला आएर गैसकेको हुन्छ, अरुले जस्तै मैले पनि आक्कलझुक्ल मात्र बिजुलीको दर्शन गर्न पाउँछु’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अनलाइनखबरलाई भन्नुभयो -’यो लोडसेडिङले हैरान भएको छु ।’ दिउँसो बाहिरबाट कोठामा फर्किंदा बत्ती नभएको कारण पढ्न र मोवाइल चार्ज गर्न नपाएको उहाँको दुखेसो छ ।
‘पढ्ने बानी त चौपट भैगयो नि’ केसीले भन्नुभयो । मोवाइल चार्ज गर्नको लागि कतिपटक आधार रातमा उठ्नुपरेको उहाँको अनुभव छ । ‘लोडसेडिङ के मात्र अप्ठेरो पारेन भनेर भनीसाध्य नै छैन’ केसीले भन्नुभयो । हुन त अरु नेताको घरमा जस्तै केसीले पनि कोठामा इन्भर्टर राख्नुभएको छ । तर इन्भर्टरले राम्रो काम गर्दैन । ‘छिनछिनमा बिगि्ररहन्छ, बेट्री फेरेर ल्यायो, महिना दिनलाई पनि धान्दैन’ केसीले भन्नुभयो-’हिजोआज त इन्भर्टर पनि बाल्न छाडेको छु, खाना खायो सुतिहाल्यो ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......