२३ पुस, बारा । जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा सञ्चालित विद्यालयमध्ये ६३ विद्यालयको अध्ययन अनुगमन गरी ३४ वटा विद्यालयको खाता रोक्का गरेको छ ।
यसैगरी ११ ‘झोले’ विद्यालयको दर्ता खारेज गर्न प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । जिप्रकाका प्रशासकीय अधिकृत सुनिलकुमार यादवको नेतृत्वमा रहेको टोलीले हालै विद्यालयको अध्ययनअनुगमन गर्दा ४६ विद्यालय मापदण्डविपरीत सञ्चालन भएकामा ३४ वटा विद्यालयलाई कारबाही गर्न सो विद्यालयको खाता रोक्का गरेको बताइएको छ ।
शिक्षा कार्यालयमा दर्ता भएर पनि कहिल्यै पठनपाठन नभएका गोठघर, मिलघर, ग्यारेजघर र भुसौलीघरमा विद्यालयका बोर्ड टाँगिएको ११ विद्यालयको दर्ता खारेज गर्ने प्रक्रियामा रहेको यादवले बताउनुभयो ।
कारबाहीमा परेका विद्यालयका प्रधानाध्यापकलाई जिप्रकाका उपस्थितिका लागि पत्र लेखी पठाइएको थाहा भएको छ । रासस
