'मुद्दा हाले टाउकाको मूल्य तोक्नेहरु बाँकी नरहने '
२९ पुस,
काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गाउँका जाली फटाहाले
हिजोआज शहर पसेर दुःख दिन थालेकाले उनीहरुबाट सबैले सतर्क बन्नुपर्ने
बताउनुभएको छ ।
लमजुङ
जिल्लाको भलायखर्क- ८, बोराङमा अवस्थित महेन्द्र वालविकास माविको ३७ औं
वाषिर्कोत्सवमा आइतबार प्रमुख अतिथि बन्नुभएका भट्टराईले भन्नुभयो-
‘फटाहाहरुको चालबाजी बुझ्न जरुरी छ, हिजो गाउँमा जालसाजी गर्नेहरु शहरका
महलमा थुपि्रएका छन् । अनेक जालझेल गरेर यिनीहरुले जनताको अधिकार खोस्छन्,
हामी सतर्क हुनुपर्छ ।’
विपक्षीहरुले सरकारको आलोचना तीव्र
पारिरहेकै बेला लमजुङ पुगेका प्रधानमन्त्री भट्टराई पनि विपक्षीहरुप्रति
उस्तै कडारुपमा प्रस्तुत
हुनुभएको छ । ‘जनयुद्धमा मारिएका १५ हजारमध्ये १२
हजार कांग्रेस, एमालेका पालामा मारिएका हुन् । टाउको काट्नेलाई ५० लाख दिने
घोषणा गर्नेहरु अहिलेसम्म शीर ठाडो पारेर हिँडिरहेका छन्, यिनीहरुलाई
मुद्दा हाल्यो भने एमाले कांग्रेसका कोही पनि बाँकी रहँदैनन् ।’ प्रमले
प्रश्न गर्नुभयो-’तपाईहरुले के चाहेको हो ?’ माओवादीले गरेको बलिदानलाई विर्सिएर हत्यारा भनिन्छ भने सैहृय नहुने उहाँको भनार्इ थियो ।
अहिलेको अवस्थामा एकले अर्काप्रति बदलाको
भावना लिने नभई मेलमिलापका आधारमा अघि बढ्नुपर्ने प्रधानमन्त्रीले
बताउनुभयो । सरकारले सत्य निरुपण एवं मेलमिलाप आयोग गठनका लागि साउनमै ऐन
बनाउन खोज्दा पनि रोकेर राखिएको भन्दै प्रधानमन्त्रीले केहीलाईमात्रै
मुद्दा चलाएर समस्या समाधान नहुने बताउनुभयो । ‘हामी गरिखाने वर्गलाई
ज्यानको डर हुँदैन, हामी हिम्मत हारेर भाग्नेवाला छैनौं, जबसम्म जनताको
पूर्ण मुक्ति हुँदैन, हामी सन्तोषको सास फेरेर बस्दैनौं । प्रधानमन्त्रीले
भन्नुभयो-’जुनसुकै पेशा गर्नेहरुलाई पनि आफ्नो ज्यान प्यारो हुन्छ । तर,
आफूलाई मन परेकोलाई मात्रै च्यापेर हिँड्नु न्यायसंगत हुँदैन । हामी हात
जोडेका जोड्यै छौं, सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउन ऐन बनाऔं र दोषी
भेटिए नयाँ कानूनअनुसार कारवाही गरौं ।’
संसारमा कहीँ पनि मान्छेहरु सहित नभई
लोकतन्त्र र परिवर्तन नआउने प्रधानमन्त्रीले बताउनुभयो । नेपालमा लोकतन्त्र
आए पनि पुरानो संरचनामा परिवर्तन गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
जिद्दी नगर्न विपक्षीलाई आग्रह
प्रधानमन्त्री भट्टराईले विपक्षी दलहरुलाई
जसरी सरकारको नेतृत्व चाहियो भनेर जिद्दी नलिन आग्रह गर्नुभएको छ ।
एमाओवादी पार्टीमा विभाजन आए पनि अहिले पनि आफ्नो पार्टी नै सबैभन्दा ठूलो
भएकाले चुनाबी सरकारको नेतृत्व आफ्नै दलले गर्न पाउनुपर्ने उहाँले
बताउनुभयो ।
सरकार बनेको १६ महिनासम्म बजेट ल्याउन
नदिएकाले गाउँको विकास गर्न नसकिएको भन्दै प्रधानमन्त्री भट्टराईले विपक्षी
दललाई लक्षित गर्नुभयो-’सयौंवर्ष लगाएर यिनीहरु आफैंले थुपारेको फोहोर
हामीले हटाउन खोज्दा आफैं फोहोर थुपार्दै हामीले हटाउन नसकेको आरोप
लगाइरहेका छन् ।’
