सोलुखुम्बु, माघ १०- सोलुखुम्बुको जुबुका मैयाँ बस्नेतले जन्माउनुभएका तिम्लाहा छोरीको मृत्यु भएको छ। गत पुस २१ गते जन्मिएका सबैको मृत्यु भएको स्थानीय सामाजिक परिचालक विश्वेश्वर राईले जानकारी दिए। ३० वर्षीया मैयाँले सामान्य प्रसव व्यथापछि घरमै तीनजना छोरीको जन्म दिएका थिए। तर तीमध्ये कसैलाई पनि बचाउन नसकिएको जुबु स्वास्थ्य चौकीका अनमी मनोहरा राईले बताए।
गर्भ रहेको आठ महिनामा जन्मिएको र समयअगाडि जन्मिएको कारण पनि बचाउन नसकिएको अनमी राईको भनाइ छ। सुत्केरी भएको अवस्थामा भने बच्चाको अवस्था सामान्य रहेको थियो।
बस्नेतले यसअघि चारजना छोरी जन्माई सक्नुभएको थियो। पाँचौँपटकमा भने एकैपटक तीनजना छोरी जन्मिएका थिए। सुत्केरी मैयाँको अवस्था भने सामान्य रहेको बताइएको छ। रासस
