फुटपाथमा पसल राख्न ४ लाख भाडा !

मनोज अधिकारी, पोखरा, माघ १० - पैदल यात्रुलाई भनेर सडक किनारमा बनाइने फुटपाथमा पसल थाप्न व्यवसायीले सटरको भन्दा महँगो मूल्य तिरिरहेका छन्। हजारौं रुपैयाँ भाडामा सटर लिनेभन्दा फुटपाथमा बस्ने व्यापारीले धेरै कारोबार गर्ने भएकाले पोखरामा वर्षौंयता फुटपाथ पसल बिक्री हुँदै आएको हो। पोखरा उद्योग वाणिज्य संघको फुटपाथ व्यवस्थापन एवं अध्ययन समितिले ५० हजारदेखि चार लाख रुपैयाँसम्ममा फुटपाथका ठाउँ बिक्री हुने गरेको भेटेको छ। समिति संयोजक एवं संघका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले अहिलेसम्म एकले अर्काेलाई गर्दै एउटै फुटपाथ पसल १६ पटकसम्म बिक्री भएको फेला परेको जानकारी दिए।


उनका अनुसार करिब ८ सयवटा फुटपाथ पसल महँगो मूल्यमा एकपछि अर्को व्यक्तिलाई बिक्री भएको छ। पोखरामा वर्षौंदेखि खुला सडक र सडकपेटीमा फलामे खाट राखेर फुटपाथ व्यवसाय गर्नेहरु करिब तीन हजार छन्। पोखरा उपमहानगरपाकिाले केही वर्षअघि गरेको अध्ययनमा फुटपाथ व्यवसायी १ हजार ४६ मात्र थिए। अध्ययनका क्रममा तीमध्ये २ सय १९ वटा फुटपाथ पसल मात्र बिक्री नभएको पाइएको छ।
'केही वर्षदेखि अहिलेसम्म पोखराका फुटपाथ किनबेच गर्दा करिब ३० करोड रुपैयाँको कारोबार भएको देखिएको छ,' कोइरालाले नागरिकसँग भने, 'चिप्लेढुंगा-सिद्धार्थचोक खण्डमा सबैभन्दा बढी व्यापार हुने भएकाले यहाँको फुटपाथ महँगोमा बिक्री हुने गरेको छ।'
फुटपाथ व्यवसायीले भने उनको भनाइमा असहमति जनाएका छन्। उनीहरुले काम विशेषले केही व्यापारीले छोडेर जाने बेलामा आफू बसेको फुटपाथ बेचेको स्वीकारे। तर धेरैपटक र करोडौं मूल्यमा भन्ने कुरा सत्य नभएको उनीहरुको दाबी छ।
६ वर्षयता फुटपाथ व्यवसाय गर्दै आएका तारानाथ अधिकारीले चिप्लेढुंगा क्षेत्रमा फुटपाथका १७ वटा ठाउँ बिक्री भएको स्वीकारे। उनले ठाउँ हेरी ५० हजारदेखि ३ लाख रुपैयाँसम्म फुटपाथ पसल बिक्री भए पनि सयौं फुटपाथ बिक्री नभएको जिकिर गरे। सयौं फुटपाथ १६ पटकसम्म करोडौं मूल्यमा बेचेको प्रमाण देखाउन उनले चुनौती दिए।
'काम विशेषले पोखरा छोड्ने, विदेश जाने र सुत्केरी हुने अवस्थामा केही व्यापारीले बेला-बेलामा फुटपाथ बेच्नुपरेको हो,' अधिकारीले भने, 'तर यहाँ सबै फुटपाथ नै बेच्छन् भन्ने प्रचार गरिनु लगत छ।'
कोइरालाले भने एउटै फुटपाथ पसललाई व्यापारीले नाफामा १६ पटकसम्म बिक्री गरेको भेटिएको दाबी गरे। उनले सित्तैमा सडक ढाकेर दैनिक हजारौं व्यापार गर्न पल्केकाहरुले कैयौं विकल्प दिँदा पनि व्यवस्थित ठाउँमा सर्न नमान्नुमा यही कारण रहेको बताए। सटर भाडा लिन नमान्ने र फुटपाथमै लाखौंको कारोबार गर्न पल्केकाहरुका कारण पोखरा दिनानुदिन अस्तव्यस्त र बदनाम हुँदै गएको उनले बताए।
'यहाँका सयौं फुटपाथ पसल बेला-बेला एक-अर्कोलाई महँगोमा बिक्री हुँदै आएको छ,' चिप्लेढुंगास्थित सटरमा व्यवसाय गर्ने एक व्यापारीले नागरिकसँग भने, 'शुक्रबारसम्म एउटाको फुटपाथ आइतबार आउँदा अर्कैको भइसकेको हुन्छ।'
उनले गैरकानुनी रुपमा फुटपाथ बजार राखेर यात्रु र सवारीलाई अवरोध पुर्याउउने यस्ता व्यापारीले सडक बेचिरहँदा समेत नगरपालिका निरिह बनेको आरोप लगाए। महँगो सटर भाडा तिरेर बस्ने आफूहरु जस्ता व्यापारीलाई फुटपाथ व्यवसायीले प्रत्यक्ष मार पारेको उनको गुनासो छ।
'हामी दिनभर ५-६ हजारको व्यापार गर्न सक्दैनौं,' उनले भने,'हाम्रै पसल ढाकेर पेटीमा बसेका उनीहरु १८-२० हजारको व्यापार गर्छन्। भाडा पनि तिर्नुनपर्ने, व्यापार पनि मनग्गे हुने अनि किन चाहियो सटर?'
धादिङ घर भएका एक व्यवसायीले एक वर्षअघि आफूले चिप्लेढुंगामा २ लाख रुपैयाँमा फुटपाथ पसल किनेको बताए। उनले सटर भाडामा लिए पनि खासै राम्रो व्यापार नहुने देखेपछि अन्य व्यवसायीको सल्लाहमा फुटपाथ किनेको स्वीकारे। 'फुटपाथमा बसेर दिनमै १२-१५ हजार रुपैयाँको व्यापार सजिलै हुन्छ,' उनले भने, 'महँगो सटर भाडा तिर्नुभन्दा यही ठिक लाग्यो।'
पोखरामा फुटपाथ ठूलो समस्या बन्दै गएको र यसकै कारण सहर अस्तव्यत बन्न थालेपछि यसलाई तत्काल व्यवस्थित गर्न चौतर्फी दबाब पर्ने गरेको छ। फुटपाथले सटर भाडामा लिएर बस्ने वास्तविक व्यापारी मारमा परेपछि यसलाई हटाउन वाणिज्य संघ पनि सक्रिय भएर लागेको छ।
सोहीअनुरुप फुटपाथ व्यवस्थापनका लागि विकल्प खोज्ने जिम्मेवारी पाएका संघका अध्यक्ष कोइरालाको टोलीले चार ठाउँ खोजेको छ। ती ठाउँमा उपमहानगरपालिकाले प्रमाणिकरण गरेका २ सय १९ फुटपाथ पसललाई मात्र व्यवस्थित गरी अरुलाई विस्थापित गर्ने तयारी गरेको छ।
पृथ्वीचोकस्थित पोखरा मलको भित्रपट्टि ६० वटा, चिप्लेढुंगास्थित कपिल कोइरालाको जग्गामा ६० वटा, बगरस्थित कृषि हार्डवेयरको सटरमा २८ वटा र सिद्धार्थचोकस्थित ढाकाराम पराजुलीको जग्गामा १ सय २० वटा फुटपाथ व्यवसायीलाई स्थानान्तरण गर्न लागिएको हो।
'नेपाली नागरिकबाहेक भारतीय मुलका व्यापारीलाई व्यवस्थापन नगरी विस्थापित गर्ने निर्णय भएको छ,' उपमहानगरका एक अधिकारीले भने, 'अब ठेलामा विभिन्न खानेकुरा बिक्री गर्नेलाई पनि फुटपाथमा बस्न दिइने छैन।'









तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......