प्याकेजमा सहमति नभई सरकार छोडिन्न :

कलेन्द्र सेजुवाल, सुर्खेत, माघ १ २- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्याकेजमा सहमति नहुँदासम्म प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। उनले अहिलेको आवश्यकता राजीनामा नभई राजनीतिक सहमति भएकोमा जोड दिए।
'प्याकेजमा सहमति नभइकन प्रधानमन्त्रीले राजीनामा दिने सवाल हुँदैन,' बिहीबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै उनले भने, 'विपक्षीहरुले प्रधानमन्त्रीको राजीनामा मागेर अनावश्यक रुपमा समय खेर नफाले हुन्छ।' नयाँ निर्बाचन, कानुनी अवरोध निवारण र संघीयतालगायत विषयमा राजनीतिक दलहरुबीच समझदारी भएमा प्रधानमन्त्रीले राजीनामा दिने उनले बताए। उनले कसैलाई जवर्जस्ती निकाल्न लगाएर
सहमति नहुने पनि बताए। यो वास्तविकता बुझ्न उनले लोकतन्त्रवादी दलहरुलाई आग्रह गरे। उनले जेठ १५ भित्र कुनै पनि हालतमा निर्वाचन हुने दावीसमेत गरे। काठमाडौं जाने बित्तिकै निर्वाचनका विषयमा प्रमुख दलहरुसँग बसेर छलफल गर्ने बताउँदै उनले भने, 'निर्वाचन कुनै पनि हालतमा हुन्छ, तपाइँहरु ढुक्क हुनुहोस्।'
उम्मेदवारको हकमा भने आफ्नो पार्टी लचिलो हुने दाहालले बताए। केही दिनअघि बसेको पार्टीको बैठकले उम्मेदवारको हकमा लचिलो हुने निर्णय गरेको उनले स्मरण गराए। 'जेठ १५ भित्र निर्वाचन गराउन जुनसुकै उम्मेदवार भए पनि हामी सहमत हुन्छौँ,' उनले भने, 'यसको लागि कांग्रेस र एमाले पनि लचिलो हुनुपर्छ।'
दाहालले दैलेख घटनाले राजनीतिक दलहरुबीचको सहमति नरोकिने पनि बताए। दैलेख घटनालाई दुःखदायी भएको भन्दै उनले घटनाकै कारण राजनीतिक दलहरुबीचको जारी सहमति र समझदारी नराकिनेमा विश्वस्त हुन आग्रह गरे। द्वन्द्वकालमा भएका घटनाका दोषिहरुलाई कारबाही नहोस् भन्ने पार्टीको चाहना नभएको पनि उनले बताए। 'दैलेखमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नहरुलाई कारवाही नहोस् भन्ने हाम्रो चाहना होइन,' उनले भने, 'तर द्वन्द्वकालका सबै घटनाका दोषिहरु त्यतिकै बराबरी हुन् भन्ने हाम्रो बुझाइ छ।' द्वन्द्वकालमा भएका सम्पूर्ण घटनालाई बिस्तृत शान्ति सम्झौताको भावनाअनुसार सत्य निरुपण आयोग गठन गरेर छानविन गरिनुपर्ने उनले बताए।
उनले बेलायतमा कर्णेल कुमार लामा र दैलेखका डेकेन्द्र थापाको घटनालाई उचालेर शान्ति प्रक्रिया भाड्ने प्रयास भइरहेको बताए। 'सुरक्षा निकाय र माओवादीबीच अहिले राम्रो सम्वन्ध छ,' उनले भने, 'यही सम्बन्धलाई देख्न नचाहने र शान्ति विरोधीहरुले यी दुबै घटनालाई विनाकारण उचालेका छन्।'


तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......