भद्रपुर, ४ माघ । झापाको पूर्वोत्तर गाविस बाहुनडाँगीमा माघको तेस्रो सातादेखि दोस्रो एसियन ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।हात्तीपीडितको सहयोग तथा एसियन ग्रामीण पर्यटन प्रवद्र्धन कोष स्थापना गर्ने उद्देश्यले माघ २१ गतेदेखि साताव्यापी महोत्सवको आयोजना गर्न लागिएको हो ।
सीमावर्ती बाहुनडाँगीगायतका दर्जनौँ गाविसमा भारतको जङ्गलबाट आउने हात्तीका समूहले वर्षौंदेखि स्थानीयवासीको ज्यान लिने, घाइते पार्ने र बालीनाली तथा घरमा क्षति पु¥याउँदै आइरहेका छन् ।
बाहुनडाँगी र छिमेकी गाविस तथा नगरपालिकाभित्रका गैरसरकारी संस्थाका साथै भारत, बङ्गलादेश, भुटान तथा म्यानमारका पर्यटन प्रवद्र्धन संस्थाको पहलमा महोत्सव आयोजना गरिनलागेको हो ।
उक्त महोत्सवमा बचत भएको रकमबाट हात्तीपीडितको सहयोग र ग्रामीण पर्यटन प्रवद्र्धन कोष स्थापना गरिने आयोजक समितिका अध्यक्ष अर्जुन कार्कीले जानकारी गराउनुभएको छ ।
महोत्सवको माध्यमबाट एक अर्काबीचको सांस्कृतिक आदानप्रदान, कृषि प्रविधि तथा उत्पादित वस्तुको आदानप्रदान, जैविक विविधताको महत्व र संरक्षण, जातीय तथा क्षेत्रीय पहिचानका लागि परम्परागत वस्तुको महत्व आदि बारे प्रेरणा प्रदान गर्नु महोत्सवको थप उद्देश्य रहेको उहाँले बताउनुभयो ।
महोत्सवमा ग्रामीण क्षेत्रमा उत्पादित वस्तुहरू, लोपोन्मुख अवस्थामा रहेका सामग्रीलगायत चेतनामूलक सामग्रीको स्टल राखिने छ ।
यसका साथै महोत्सवमा विभिन्न खेल तथा राष्ट्रिय स्तरका कलाकारद्वारा मनोरञ्जन प्रदान गरिने छ ।

