कलेन्द्र सेजुवाल/गोविन्द केसी, दैलेख, पुस २५ - चर्को दबाबपछि पत्रकार डेकेन्द्र थापाको हत्या आरोपमा पक्राउ गरेका व्यक्तिमाथिको अनुसन्धान रोकिएको छ। अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद पाएको दैलेख प्रहरीले सोमबारदेखि बयान स्थगन गरेको छ।
प्रहरीले हत्या आरोपमा पाँच जनालाई पक्राउ गरी हिरासतमा राखेको छ। तीमध्ये एकजना लक्षीराम घर्तिमगरको मात्र बयान लिइएको छ। प्रहरीले आइतबार सरकारी वकिलसमक्ष उनको बयान लिएको थियो। 'त्यसपछि कसैको पनि बयान लिने काम भएको छैन,' प्रहरीस्रोतले भन्यो, 'माथिबाट थप बयान लिने काम नगर्नू भन्दै दबाब आएपछि काम स्थगन भएको हो।'
अनुसन्धानका लागि जिल्ला अदालतले दिएको म्याद बिहीबार सकिँदैछ। कर्तव्यज्यान मुद्दामा अनुसन्धानका लागि बढीमा २५ दिन म्याद पाइने भए पनि सुरुमै बयान लिने काम रोकिँदा प्रहरी अनुसन्धान सफल हुनेमा शंका उब्जेको छ।
स्रोतका अनुसार प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रहरी र सरकारी वकिल कार्यालयका माथिल्लो निकायले चर्को दबाब दिएका छन्। अनुसन्धान प्रक्रियालाई अघि बढाए जागिर खानेसम्मको धम्की आएको स्रोतको भनाइ छ। 'जागिर त सबैलाई प्यारो छ,' एक प्रहरीले भने, 'तर यस्तो केसलाई त्यत्तिकै छोड्नसमेत मन छैन, यस्तो संकट त कहिल्यै परेको थिएन।'
दैलेख प्रहरीले सोमबारदेखि क्रमशः अरु आरोपितको बयान लिने तयारी गरेको थियो। जिल्ला प्रहरी र सरकारी वकिल दुवै कार्यालयमा 'बयान नलिनू' भन्ने आदेश आएपछि भने चार जनाको बयान हुन सकेको छैन। 'हाम्रोतर्फबाट कार्यालयमा अनुसन्धान प्रक्रिया त सबै सिध्याइसकेका छौं,' एक प्रहरी अधिकृतले भने, 'तर सरकारी वकिलसमक्ष बयान दिन रोक लगाइएपछि कसरी त्यसले मान्यता पाउँदैन।' उनीहरुले हत्यामा आफ्नो संलग्नता स्विकारेका ती प्रहरीको भनाइ छ।
प्रहरीले द्वारीका लक्षीराम र हरिलाल पुन, बालुवाटारका वीरबहादुर केसी र निरक घर्तिमगर तथा रानीवनका जयबहादुर शाहीलाई पक्रेको छ। उनीहरुमध्ये लक्षिराम, निरक र हरिलाल नेकपा-माओवादीका जिल्ला तथा भेरी-कर्णाली राज्य समितिका सदस्य हुन् भने वीरबहादुर एकीकृत माओवादीका जिल्ला कमिटी सदस्य हुन्।
दबाबसँगै किटानी जाहेरीमा परेका अन्य तीनजना बमबहादुर खड्का (कट्टी), बमबहादुर खड्का (छिउडीपुसाकोट) र केशव खड्कालाई पक्रने तयारीमा रहेको प्रहरी पछि हटेको छ। पक्राउ गरेकालाई नै छोड्नुपर्ने अवस्था आएका बेला अरुलाई पक्रन गाह्रो नभएको एक प्रहरीले बताए। 'उनीहरु कहाँ छन् भन्ने पहिचान गरेर घेराबन्दीसमेत गरिसकेका थियौं,' ती प्रहरी अधिकृतले भने, 'तर दबाबले हात हाल्न सकिएन।'
घटना अनुसन्धान अधिकृतको जिम्मा पाएका प्रहरी निरीक्षक विनोद शर्माले दबाबबारे अनभिज्ञता प्रकट गर्दै आफ्नो काम जसरी पनि फत्ते गर्ने बताए। 'मैले पाएको जिम्मेवारीलाई म जसरी पनि अघि बढाउँछु,' उनले भने, 'म यो केसमा दबाबबाट पछि हट्दैन।' उनले आरोपीलाई बुधबार बयानका लागि सरकारी वकिलको कार्यालयमा लैजाने जानकारी दिए।
दैलेखका जिल्ला न्यायाधिवक्ता डम्मर काफ्लेले भने यो मुद्दा 'कम प्राथमिकतामा परेकाले' बयान स्थगन भएको बताए। 'केही पुराना मुद्दाको बयान थाँती रहेको छ, आन्तरिक समस्या पनि छन्,' उनले भने, 'त्यसैले पत्रकार मुद्दाको बयान अघि बढ्न सकेको छैन।' बुधबार प्रहरीले बयानका लागि ल्याए बयान लिने वा नलिने भन्नेबारे अहिल्यै भन्न नसकिने उनले बताए।
हत्याको आठ वर्षपछि दैलेख प्रहरीले पत्रकार थापा हत्याकाण्डका आरोपीलाई पक्रेलगत्तै स्थानीयस्तरमा समेत नेकपा-माओवादी र एकीकृत माओवादीले रिहाइका लागि चर्को दबाब दिएका थिए। दुवै पार्टीले संयुक्त बैठक गरी छुट्टाछुट्टै विज्ञप्ति निकालेर रिहाइ नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए। प्रधानमन्त्री बाबुराम भट्टराईको जस्तै उनीहरुले समेत यसलाई 'शान्ति प्रक्रियाविरोधी' गतिविधिको संज्ञा दिएका थिए।
माओवादी दबाबविरुद्ध पत्रकार आन्दोलित
मंगलबार नेकपा-माओवादी र एकीकृत माओवादीको उच्च नेताहरुले प्रहरी प्रमुख र न्यायाधिवक्ताको कार्यालयमा दबाब दिएर अभियुक्तको बयान लिन अवरोध गरेको भन्दै नेपाल पत्रकार महासंघ दैलेखको आयोजनामा पत्रकारहरुले जिल्ला प्रहरी कार्यालयअगाडि विरोध गरेका छन्। माओवादी दबाबको विरोध गर्दै प्रहरी कार्यालयमा पत्रकारहरुले २ घन्टा धर्नासमेत दिए। नेपाल पत्रकार महासंघका जिल्ला सचिव विष्णुकुमार शाहीले माओवादी उच्च नेताले प्रहरीको अनुसन्धान रोक्न दबाब दिएको र त्यसको मूल्य उनीहरुका लागि चर्को हुने बताए।
८ वर्षपछि यसरी पक्रिए अभियुक्त
१८ गते भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी माधवप्रसाद नेपाल दैलेख आएका बेला यहाँका क्रियाशील पत्रकारहरुले डेकेन्द्र हत्याका अभियुक्तलाई कानुनी दायरामा ल्याउन चर्को रुपमा आवाज उठाएका थिए। एसएसपी नेपालले दैलेख प्रहरी प्रमुखलाई पत्रकारहरुकै रोहवरमा अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिए।
दैलेख प्रहरीले पुस १९ देखि पत्रकार डेकेन्द्रको हत्या अभियोगमा किटानी जाहेरी भएकालाई जिल्लाभर व्यापक रुपमा खोजी कार्यलाई सक्रिय पार्यो। २० गते दिउँसो द्वारीमा घाँस काट्दै गरेका लक्षीराम घर्तीलाई प्रहरीले सदरमुकाममा ल्यायो। बयानका क्रममा उनले ९ जनाको प्रत्यक्ष संलग्नता भएको स्विकारे। घर्तीको बयानका आधारमा प्रहरीले थप ४ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गर्यो। उनीहरुले आफ्नो संलग्नता भएको प्रहरीसमक्ष बयान दिए। थप अनुसन्धानका लागि जिल्ला अदालतले २२ गते सुरु हुने गरी ५ दिन म्याद थप्यो। प्रहरीले जिल्ला अदालतमा २२ गते नै मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढायो। २२ गते लक्षीरामले मात्र सरकारी वकिल कार्यालयमा हत्या गरेका स्वीकार गर्दै सजाय भोग्न तयार भएको बयान दिए सरकारी वकिल कार्यालय स्रोतले बतायो।
अदालतद्वारा अनुसन्धानका लागि थपिएको ५ दिन म्याद सकिन १ दिन बाँकी रहँदा अभियुक्त छुटाउन माओवादी दबाबमा प्रहरीको उच्च स्रोतबाटै चर्को दबाब आएपछि अन्य ४ अभियुक्तको बयान लिइएको छैन।
