आयोजनाको निर्माणसँगै रोजगारी सिर्जना


माघ, धनगढी । कैलालीको पूर्वी क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण सुरु भएपछि स्थानीय रुपमा केही रोजगारीका अवसर सिर्जना हुन थालेका छन् । देशकै तेस्रो ठूलो र लामो नदी, कर्णाली मुहान भएको यो सिँचाइ आयोजना निर्माणको सुरुवातसँगै स्थानीय दक्ष ज्यामी एवम् मजदुर, टयाक्टर व्यवसायी र ठेकेदारसमेत गरी तीनदेखि चार सयले काम पाउने अवसर सिर्जना भएको आयोजनाका इन्जिनियर प्रेमकुमार श्रीवास्तवले बताउनुभयो ।
“आयोजनाको निर्माणसँगै पहिलेभन्दा चहलपहल बढ्न थालेकाले चिसापानी बजारमा कारोबार पनि बढेको देखिएको छ”, स्थानीय नवराज खनालले भन्नुभयो । नहर निर्माणका क्रममा विस्थापितहरुलाई रोजगारी दिने सहमति सरकारी पक्ष र निर्माण कम्पनीसँग भएकामा त्यो बमोजिमको व्यवहार नभएको स्वाभिमानी युवा क्लब चिसापानीका अध्यक्ष धिरेन्द्र शाहीले गुनासो गर्नुभयो ।झन्डै तीन अर्ब ५० करोडको लागत अनुमान रहेको देशकै ठूला आयोजनामध्ये यो आयोजनाको निर्माण सम्पन्नपछि जिल्लाको पूर्वी क्षेत्रका आठ गाविस र टीकापुर नगर क्षेत्रको गरी २० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने जनाइएको छ । आयोजनाको दोस्रो चरणको निर्माणसम्ममा जिल्लाको मध्य क्षेत्रको कान्द्रा नदीसम्म नहरको पानी पुर्‍याई थप २० हजार हेक्टरसमेत कुल ४० हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइको सुविधा पुर्‍याउने दीर्घकालीन लक्ष्य रहेको छ ।
वर्षभरिमा जसोतसो दुई बाली लगाउँदै आएका कृषक बाह्रै महिना सिँचाइको व्यवस्था हुने निश्चित भएसँगै वर्षमा तीनपटक बढी मूल्य पाउने बालीको खेती गरेर आयआर्जन गर्न सक्ने देखिएको कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रशाद जोशीले बताउनुभयो । जिल्लामा कुल खेतीयोग्य ९० हजार हेक्टर जग्गा रहेकामा ३० प्रतिशत जग्गामा मात्र हाल बाह्रै महिना सिँचाइ उपलब्ध रहेको छ । विश्व बैंकको अनुदान र ऋण सहयोगमा गत वर्षदेखि निर्माण थालिएको यो आयोजनाको पहिलो चरणको काम आर्थिक वर्ष २०७४/०७५ मा पूरा हुने बताइएको छ । रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......