२९ पुस,
काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ
नेतृत्वका लागि शनिबार मतदान भएको छ । मत परिणाम बिहीबारसम्ममा आउने
निर्वाचन मण्डलले जनाएको छ ।
४ हजार ७ सय ९६ मतदाता रहेको राजधानीमा ३
हजार ८ सय २६ मत खसेको छ । मतदाताको परिचय पत्रलार्इ लिएर काठमाडौंमा
केहीबेर तनाव भएको थियो । अन्य स्थानमा
खसेको मतको संख्या आउन बाँकी रहेको निर्वाचन मण्डलका सदस्य रविराज
भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि बेलुकासम्ममा मतपेटिका
काठमाडौं ल्याइनेछ भने पर्सी
सोमबारबाट मत गणना सुरु हुनेछ ।
प्रगतिशील प्यानल
प्रगतीशील तथा
गणतान्त्रिक कानूनव्यवसायी समूहका तर्फबाट बारको अध्यक्षमा हरिकृष्ण कार्की
उठेका छन् भने ५ उपाध्यक्षमा बालकुमार गुप्ता (पूर्वाञ्चल), टीकाराम
भट्टराई (मध्यमाञ्चल), अनिता गुरुङ (पश्चिमाञ्चल), पदमप्रसाद वैदिक
(मध्यपश्चिमाञ्चल) र राजेन्द्र बहादुर साउत (सुदुरपश्चिमाञ्चल) रहेका छन् ।
त्यस्तै महासचिवमा दिनमणि पोखरेल, कोषाध्यक्षमा हरिन्द्रप्रसाद राई र
सदस्यहरुमा निरकुमार राई, पदमबहादुर रोका, सरस्वती श्रेष्ठ, राजलक्ष्मी
बज्राचार्य, कृष्णप्रसाद पोखरेल र वीरेन्द्रप्रसाद साह रहेका छन् ।
लोकतान्त्रिक प्यानल
लोकतान्त्रिक समूहबाट
बारको अध्यक्षमा शेरबहादुर केसीको उमेद्वारी परेको छ भने मिथिलेसकुमार सिंह
मध्यमाञ्चल उपाध्यक्षमा उठेका छन् । लोकतान्त्रिक प्यानलबाट पूर्वाञ्चल
उपाध्यक्षमा जनक पाण्डे, पश्चिमाञ्चल उपाध्यक्ष विश्व घिमिरे,
मध्यपश्चिमाञ्चल वीरबहादुर रोकाया र सुदुरपश्चिमाञ्चल उपाध्यक्षमा नाथुराम
महतो चौधरीको उमेद्वारी परेको छ । लोकतान्त्रिक प्यानलबाट महासचिवमा सुनील
कुमार पोखरेल र कोषाध्यक्ष मोहन इङ्नाम उठेका छन् । त्यस्तै लोकतान्त्रिक
समूहबाट सदस्यका प्रत्याशीहरुमा राजु कटुवाल, गजेन्द्र शंकर तिम्ला, गणेश
अधिकारी, सागर विष्ट, प्रशन्न कृषणदास, नागेन्द्र यादव, विनिता कार्की,
ठाकुर आचार्य र लक्ष्मीदेवी रावल दाहाल छन् ।
स्वतन्त्र समूह
एमाले, माओवादी, एमाओवादी, नेमकिपा,
जनमोर्चा नेपाल लगायतका वामपन्थीहरुले साझा प्यानल तयार पारे पनि एमालेबाट
अलग्गिएको अशोक राई समुहले अलग्गै उमेद्वारी दिएको छ । सुरेन्द्र थापामगर
अशोक राई समूहबाट बारको अध्यक्षमा उठेका छन् ।
अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ९ केन्दि्रय पदका लागि कुल ४५
उम्मेदवार रहेका छन् । ८ हजार बढी मतदाताका लागि देशभर ३३ वटा मतदान
केन्द्र तोकिएको छ । वरिष्ठ अधिवक्ता विनोदकुमार शर्मालाई प्रमुख निर्वाचन र अधिवक्ता लवकुमार मैनाली र रविराज भण्डारी निर्वाचन अधिकृत रहेका छन् ।
