जम्पर लगाएका लामा भिडियोमा देखिए
११ माघ, काठमाण्डौ । युद्ध अपराधको अभियोगमा करिब एक महिनाअघि बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई नेपाल सरकारले धरौटीमा छुटाउन गरेको प्रयासलाई अस्वीकार गर्दै अझै पाँच महिना थुनामै राखिने भएको छ । सरकारी स्तरबाट हुने कूटनीतिक प्रयास सफल नभए अब कर्णेल लामा आगामी ०७० साल जेठ अन्तिमसम्म बेलायतमै थुनिने भएका छन् ।
बिहीवार लण्डन अदालतमा भएको सुनुवाइमा न्यायाधीशले अर्को सुनुवाइको मिति जून ५ तारिख (वि.स.०७० साल जेठ २२) का लागि तोकेको अन्तराष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । तर, दुई व्यक्तिमाथिको यातनासम्बन्धी
अभियोग खेपिरहेका लामाको अर्को सुनुवाइ जून ५ मा तोकिए पनि अन्तिम फैसलाका लागि उनले थप केही हप्ता कुर्नुपर्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।
अदालतमा उपस्थित गराइएन
बिहीबार कर्णेल लामालाई अदालतमा प्रत्यक्ष उपस्थित गराइएको थिएन । खैरो रंगको जम्पर र चश्मा लगाएर बेलमार्स जेलबाट लामा भीडियोमार्फत् अदालतमा करिब ४० मीनेट दक्षिणपूर्वी लण्डनको ग्रीनवीचस्थित अदालतमा देखा परेका थिए ।
किंगस्टन क्राउन अदालतमा तय गरिएको लामाको जून ५ मा हुने सुनुवाइ अन्तिम हुने अपेक्षा गरिएको भए पनि अन्तिम सुनुवाइका लागि ४ देखि ६ हप्तासम्म लाग्न सक्ने अन्तरराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
दुईवटा यातनासम्बन्धी आरोप खेपिरहेका लामाको एउटा मुद्दाको सुनुवाइ मे १० मा हुने जनाइएको छ । सुडानस्थित राष्ट्रसंघीय मिशनमा नेपाली सनेाको कमाण्ड गरिरहेका लामामाथि जनक राउत र करम हुसैनलाई कपिलबस्तुको गोरुसिंगे ब्यारेकमा यातना दिएको आरोप लगाई बेलायत प्रहरीले एक महिनाअघि लण्डन पुगेका बेला पक्राऊ गरेको थियो । बेलायत प्रहरीले स्थानीय फौजदारी न्याय अधिनियम १९८८ को धारा १३४ )१) अन्तरगत लामालाई मुद्दा चलाइएको छ ।
नेपालको प्रयास असफल
नेपाल सरकारले लामाको गिरफ्तारीलाई नेपालको सार्वभौमिकतामाथिको आक्रमण बताउँदै निन्दा गरेको छ । नेपाल सरकारले लामाको रिहाइका लागि बेलायत सरकारसँग लिखित आग्रहसमेत गरिसकेको छ । साथै उनलाई धरौटीमा छुटाउन आवश्यक रकमको व्यवस्था गर्ने तथा लामाका तर्फबाट वकिलको खर्चसमेत नेपाल सरकारले व्यहोर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
