कंगोको विकास निर्माणमा नेपाली सेना उत्कृष्ट

सुरेन्द्रपौडेल,बुनिया (कंगो),माघ ८ - द्वन्द्वग्रस्त मध्यअफ्रिकी राष्ट्र कंगोमा कार्यरत ६ देशका इन्जिनियरिङ कम्पनीमध्ये नेपाली सेनाको इन्जिनियरिङ कम्पनी सबैभन्दा उत्कृष्ट ठहरिएको छ।
पछिल्लो ६ महिनामा ती कम्पनीले गरेको कामको मूल्यांकनका आधारमा नेपाली सेनाको इन्जिनियरिङ कम्पनीलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो।
कंगोको ओरिन्टेल प्रदेशको इटुरी बाहिनीअन्तर्गत नेपाली सेनाको इन्जिनियरिङ कम्पनी कार्यरत छ। इटुरी बाहिनीपति अहिले बंगलादेशका सहायक रथी सबिब उल करिम छन्।
नेपालका अलवा उक्त क्षेत्रमा बंगलादेश, इन्डोनेसिया, दक्षिण अफ्रिका, चीन र उरुग्वेका सेनाको इन्जिनियरिङ् कम्पनी कार्यरत छन्। इटुरीको बुनिया बजारमा क्याम्प रहेको नेपाली सेनाको इन्जिनियरिङ् कम्पनीमा चिकित्सा टोलीसहित १ सय ७५ जना छन्।
‘यहाँको मौसम हामी कल्पना पनि गर्न सक्दैनौं। कतिबेला पानी पर्छ, कतिबेला घाम, पत्तै हुँदैन। यस्तो अवस्थामा नेपाली सेनाको इन्जिनियरिङ कम्पनीले गरेको खासगरी सडक निर्माण कार्य निकै प्रशंसनीय छ,' इटुरी बाहिनीका बंगलादेशी बाहिनीपति तथा सहायक रथी सबिब उल करिमले भने, ‘पछिल्लो ६ महिनाको कामको मूल्यांकनका आधारमा नेपाली सेनाको इन्जिनियरिङ कम्पनीलाई सबैभन्दा उत्कृष्ट घोषणा गरेका छौं।'
नेपाली सेनाको इन्जिनियरिङ कम्पनीले पछिल्लो समय इटुरी खोलमा पुल, फताकी-जीना ५२ किलोमिटर सडक, फराड्जी जोड्ने ८ किलोमिटर सडक निर्माण गरेको थियो।
कम्पनीलाई द्वन्द्वप्रभावित क्षेत्रमा सडक, पुल, विमानस्थल लगायतका विकास निर्माणसँग सम्बन्धित कार्य दिइन्छ। सन् २०१२ को जुलाईदेखि डिसेम्बरसम्म त्यहाँ कार्यरत ६ वटै देशका राष्ट्रिय सेनाको इन्जिनियरिङ कम्पनीले गरेका कामको समयावधि र गुणस्तर मापनपछि नेपाली सेनाको कम्पनी उत्कृष्ट सूचीको पहिलो नम्बरमा पर्न सफल भएको हो। ‘यहीँबाट पनि नेपाली सेनाको गुणात्मक क्षमता हामी बु‰न सक्छौं,' करिमले प्रशंसा गरे।
कंगोमा कार्यरत सेनाको इन्जिनियरिङ कम्पनी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएको एकमात्र नेपाली इन्जिनियरिङ कम्पनी हो। केही महिनाअघि मात्र सुडानमा इन्जिनियरिङ कम्पनी पठाए पनि पनि सो ‘लाइट फिल्ड इन्जिनियरिङ कम्पनी' हो। राष्ट्रसंघको विभिन्न शान्ति मिसनमा ५५ वर्षअघिदेखि नेपाली सेनाले सहभागिता जनाउँदै आए पनि इन्जिनियरिङ कम्पनी भने कंगोमा मात्र छ।
शान्ति मिसनमा खटिएको सेनाको एकमात्र इन्जिनियरिङ कम्पनीले कंगोमा २०६० कात्तिक ६ गतेबाट कार्य प्रारम्भ गरेको थियो। अहिले कार्यरत इन्जिनियरिङ कम्पनी १६ औं हो । कंगोका ११ मध्ये दुई प्रदेश मात्र द्वन्द्व प्रभावित छन्- ओरिन्टेल र उत्तरी किभु। सेनाको इन्जिनियरिङ कम्पनीले ओरिन्टेल प्रदेशको इटुरी क्षेत्रमा पर्ने बुनिया, पिम्बो, डिब्वा लगायतका ठाउँमा विकास निमार्ण कार्य गरिरहेको छ। खटिएको ९ वर्षको अवधिमा सेनाको इन्जिनियरिङ कम्पनीले एक हजार ७ सय किलोमिटरभन्दा बढी सडक, बेली ब्रिज, हेलिप्याड, हवाइ धावनमार्ग कंगोमा निर्माण गरिसकेको छ।
‘यहाँको सडक कार्यालयले कुन बाटो, पुल बनाउने भन्ने निर्णय गर्छ। त्यहीअनुसार हामीले निर्माण गर्ने हो,' बुनियास्थित नेप-व्याट इन्जिनियरिङ कम्पनीका सेनानी पवनकुमार खड्काले जानकारी दिए, ‘हाम्रो कार्य कुशलता र गुणस्तर देखेर थुप्रै नयाँ परियोजना हामीलाई दिइएको छ।'
नेपाली सेनाको कार्यकुशलताबाट प्रभावित भई स्थानीय निकायले अहिले बुनिया मल्टी स्पोर्ट्स कम्प्लेक्स, जुलु पुल पुनर्निर्माण, जुङ्रु पुल निर्माण, बुनिया-बुदना सडक (प्रमुख जलविद्युत सडक), अरु-फताकी परियोजना, बुनिया-जिना सडक लगायत एक दर्जनभन्दा बढि परियोजना नेप-व्याट इन्जिनियरिङ कम्पनीलाई दिएको छ।
‘सडक तथा पुल निर्माणले स्थानीयको व्यापार-व्यवसाय बढ्ने, आवत जावत गर्न सहज र बजार विस्तार हुने हुँदा विकास निर्माणमा खटिदा स्थानिय बासिन्दाले स्वस्फुर्त रुपमा सहयोग गर्न आउँछन्। बुनिया भित्री बजारको सडक नेपाली सेनाले बनाएकोले स्थानीयहरु हामीलाई साथी भनेर सम्बोधन गर्छन्,' सेनानी खड्काले सुनाए।
नेप-ब्याट इन्जिनियरिङ कम्पनीले गरेको कार्य अवलोकन गर्न कंगो पुगेका सेनाका सहायक रथी धनीदास कार्कीले प्राप्त जिम्मेवारीलाई दक्षता र क्षमता देखाउने अवसरका रुपमा लिनुपर्ने बताए। ‘स्थानीय बाधाअड्चन गरे कार्य गर्न सकिँदैन, त्यसैले पहिला स्थानीयसँग सम्बन्ध असाध्यै राम्रो बनाउनुपर्छ। आगामी दिनमा अझ बढी राम्रो काम गर्नुपर्छ,' उनको सुझाव थियो।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......