राष्ट्रसंघ मौन रहनु दुःखद : डा. सिवाकोटी

'कुमार लामालाई बेलायतले तत्काल फर्काउनुपर्छ

५ माघ, काठमाडौं । गोरखा सैनिकहरुको अधिकारका लागि बेलायत सरकारसित मुद्दा लडेको अनुभवसमेत संगाल्नुभएका अन्तराष्ट्रिय कानूनका ज्ञाता प्राध्यापक तथा त्रिभुवन विश्वविद्यालय मानवअधिकार केन्द्रका कार्यकारी निर्देशक डा. गोपाल सिवाकोटी ‘चिन्तन’ महासेनानी कुमार लामा बेलायतमा पक्राउ परेपछि संयुक्त राष्ट्रसंघ मौन रहनु दुःखद भएको बताउनुहुन्छ ।

 ’कर्णेल लामा संयुक्त राष्ट्रसंघमा कार्यरत रहेको अवधिमा घटित घटनालाई लिएर उनीमाथि मुद्दा चलाइएको होइन । विगतमा उनको पृष्ठभूमि, संलग्नता र कपिलवस्तु घटनाबारे राष्ट्रसंघलाई पक्कै पूर्वजानकारी थियो । त्यसैले आफ्नो मिशनमा रहेको एउटा मानिस यसरी पक्राउ पर्दा यसको नैतिक तथा कानुनी जिम्मेवारी उसले लिनपुथ्र्यो, बोल्नुपथ्र्यो । राष्ट्रसंघ यसरी आफ्नै पदाधिकारीमाथि मौन रहन्छ भने अब भविष्यमा उसको शान्ति सेनामा सहभागी हुन कोचाहिँ तयार होला त ?’ – चिन्तनले अनलाइनखबरसँग भन्नुभयो ।
 धरौटी मुद्दाको प्रकृतिमा निर्भर हुने
नेपाल सरकारले लामालाई धरौटीमा छुटाउने भने पनि यो विषय उनीमाथि लगाइएको अभियोगको प्रकृतिमा निर्भर रहने चिन्तन बताउनुहुन्छ । ‘सामान्य यातना दिएको भन्नेमात्रै मुद्दा छ भने धरौटाीमा छुट्न सकिन्छ, तर यातनाका कारण ज्यान मारे मराएको अभियोग भए धरौटीमा छुट्न गाह्रो हुन्छ ।’ उहाँले भन्नुभयो- ‘बेलायतले यसरी आफ्नो राष्ट्रिय कानूनअनुसार संयुक्त राष्ट्रसंघमा कागजमा खटिएका सेवारत् नेपाली नागरिकमाथि ठाडो कारवाही चलाउने कोशिस गर्नु एउटा नौटङ्की मात्र हो । यसको केही काम छैन । यसलाई नेपालबाट जसरी उछालिएको छ, यो सबै गलत, विदेशी स्वार्थ र डलरखेतीको परिणाम हो ।’
 बेलायतले नेपाललाई सम्पर्क नगर्नु दुःखद
लामालाई प्रहरीले पक्राउ गरिसकेपछि बेलायत सरकारले नेपाल सरकारसँग तत्काल सम्पर्क गरी उनलाई ‘तिम्रौ देशमा अनुन्धार र कारवाही गर्छाै कि के गरौं भनेर सोध्नुपर्ने’ चिन्तनको भनाइ छ । ‘बेलायत सरकारले नेपाललाई यसबारे कुनै सम्पर्क नगर्नुले नेपालमाथि बलमिच्याईँ गरिएको प्रष्ट हुन्छ ।’, डा. चिन्तन भन्नुहुन्छ- ‘हामी संविधान निर्माणकै प्रक्रियामा छौं, यस्ता विषयमा के कसरी अनुसन्धान, सत्य निरुपण, मेलमिलाप र न्यायनिसाफका बारेमा शान्ति सम्झौतामा प्रष्ट व्यवस्था छ तथा बेपत्ता र सत्य निरुपणसम्बन्धी आयोगसम्बन्धी आयोग गठनका लागि आवश्यक अध्यादेश राष्ट्रपतिसमक्ष विचाराधीन छ, यसरी सम्पूर्ण मुलुक नै संक्रमणकालीन अवस्थामा रहेको स्थितिमा तत्कालै कसैलाई कारबाही गरिएन भन्नु तातै खाउँ जली मरुँ भनेजस्तै हो । यस्ता कुरामा समय लाग्छ । निश्चित हदम्याद भन्ने कुरा हुन्न । यो सबै नेपाललाई बदनाम गर्दै असफल राष्ट्र घोषणा गर्ने षडयन्त्र हो ।’
 लामालाई बेलायतले तत्काल फर्काउनुपर्छ
‘नेपाल र बेलायतबीचको सम्बन्ध अमेरिका र बेलायतको क्युबा, उत्तर कोरिया र इरानसँगको जस्तो होइन । दुबै देशबीच पुरानो कूटनीतिक सम्बन्ध छ । यस्तो अवस्थामा नेपाललाई सोध्दै नसोधी अपमान गर्ने बेलायतको यस कार्यलाई अन्तराष्ट्रिय मानवअधिकार कानुन एवं कूटनीतिक मूल्य र मान्यताका आधारमा समेत शोभनीय मान्न सकिँदैन ।’ चिन्तन भन्नुहुन्छ- ‘अमेरिका र बेलायतले अहिले पनि इराक, अफगानिस्तान र पाकिस्थानमाथि दिनहुँजसो अन्धाधुन्ध बम हान्दै निर्दाेष र निहत्था मानिसहरु मारिरहेका छन् । बेलायतले नै पनि हजारौँ नेपाली गोर्खाहरुलाई मारेमराएको छ, बेपत्ता पारेको छ, भोड्कामा मताएर फक्ल्यान्डमा लड्न पठाएको छ । त्यसो भए हामीले पनि उनीहरु नेपाल आएका बेला कारबाही चलाउन थाल्नुपर्ने भयो । यस्तो भयो भने विश्वमा न्यायिक एवं कूटनीतिक अराजकता हुन्छ ।’
सिवाकोटीका अनुसार अहिले नेपालमा मानवअधिकारको अन्तर्राष्ट्रिय क्षेत्राधिकारको अपव्याख्या भइरहेको छ । अनलाइनखबरसँग विहीबार कुरा गर्दै उहाँले भन्नुभयो- ‘यस्ता विषयमा आवश्यक कारबाही र सजाय गर्नुपरेमा त्यसका लागि रोम महासन्धिअन्तर्गत गठित अन्तर्राष्ट्रिय फौजदारी अदालत छ । तर, उनीहरुले यसलाई अनुमोदन गरेमा आफ्ना सैनिक पदाधिकारीहरुविरुद्ध संसारभरिबाट हेगमा मुद्दाको बाढी चल्ने स्थिति छ । तसर्थ कर्णेल कुमार लामालाई तत्काल नेपाल फर्काएर बेलायतले आफ्नो नैतक दायित्व पूरा गर्नुपर्छ भने नेपालले उनीमाथि बृहत् शान्ति सम्झौता र अब बन्ने कानूनअन्तर्गत आवश्यक अनुसन्धान र कारबाहीको अगाडि बढाउनु पर्दछ ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......