२१ पुस, काठमाडौं । नेपाली कांग्रेसले नेपाली सेनाका महासेनानी कर्णेल कुमार लामालाई बेलायतले पक्राउ गरेकोमा विरोध गरेको छ ।
कांग्रेसले शनिबार विज्ञप्ती जारी गरि लामाको अनपेक्षित गिरफ्तारीप्रति गहिरो खेद जनाएको छ । विज्ञप्तीमा भनिएको छ-’प्रमाणित आधार र कुनै सूचना विना तथाकथित यातना दिएको भनी गरिएको गिरफ्तारी स्वतन्त्र र सार्वाभौमसत्ता सम्पन्न मुलुकलाई स्वीकार्य हुन सक्दैन ।’
कांग्रेसले कर्णेल लामालाई तत्काल रिहा गर्न र सुडानसिथत शान्ति मिसनमा पठाउन सघाउन बेलायत सरकारसँग माग गरेको छ । दश बर्षे सशस्त्र द्वन्द्वका समयमा भएका मानवअधिकार उल्लंघनका मुद्दाहरुको सत्य निरुपण तथा मेलमिलाप आयोग बनाई सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख छ ।
वर्तमान सरकारको प्रजातन्त्र र मानवअधिकार प्रतिको दोहोरो मापदण्ड र ढुलमुले नीतिका कारण अन्तर्राष्ट्रिय समुदायमा मुलुकको मानवअधिकार प्रतिको प्रतिवद्धतामा गम्भीर प्रश्न खडा हुन गएको कांग्रेसको आरोप छ । विज्ञप्तीमा भनिएको छ-’प्रजातन्त्र र मानवअधिकार प्रतिको सरकारको दोहोरो मापदण्डबाट मुलुकको प्रतिष्ठा र विश्वसनीयतामा समेत आघात पुगेको छ ।
