केपी ढुंगाना, काठमाडौं, पुस २९ - ठगी मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका व्यवसायी सुधीर बस्नेतले आफूलाई हिरासतमुक्त गर्न सरकारसँग आग्रह गरेका छन। उनले आफ्नो राहदानी लगायतका सबै आवश्यक कागजाद सरकारलाई बुझाउन तयार रहेकोसमेत बताए।
महानगरीय प्रहरी आयुक्तको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,'मलाई हथकडी लगाएर हिरासतमा राख्दैमा समस्या समाधान हुँदैन। म कतै भाग्ने पनि होइन। बाहिर निस्किएँ भने सबै समस्या समाधान हुनसक्छ।'
उनीविरुद्ध फ्ल्याटको पैसा बुझाउँदा पनि घर उपलब्ध नगराएको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएका हो। उनलाई ठगी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।
'समस्या समाधान गर्न अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गर्दै रहँदा समातिएँ,' उनले भने, 'राष्ट्र बैंकले अनुसन्धान गरोस् बद्नियत देखिए दण्ड भोग्न तयार छु।'
उनले आर्थिक मन्दीका कारण समस्यामा परेको र समयमा प्रोजेक्ट पूरा नभएको स्वीकारे। हालसम्म ४ सय घर हस्तान्तरण गरिसकेको र ७ सय घर हस्तान्तरण गर्न बाँकी रहेको जानकारी दिए। 'मन्दिका कारण चेक बाउन्स भयो तर मेरो ठग्ने नियत थिएन,' उनले भने।
