काठमाडौं- हेटौंडा सुरुङमार्ग निर्माणको काम यसै महिना सुरु गर्न निर्माता कम्पनी तयार

काठमाडौं, माघ ११ - काठमाडौं-हेटौँडा द्रुत (सुरुङ) मार्ग निर्माणको काम यसै महिना प्रारम्भ गर्न आफू तयार रहेको उल्लेख गर्दै निर्माता कम्पनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारबाट स्वीकृति पाउने बित्तिकै काम थाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीका पदाधिकारीहरूसँग नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हिजो आयोजना गरेको एक कार्यक्रममा कम्पनीका अध्यक्ष कुशकुमार जोशीले प्रस्तावित सुरुङ मार्गको ढाँचा भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयमा प्रस्तुत गरिसकिएको जानकारी दिँदै उक्त मार्ग प्रयोग गरेबापत बुझाउनुपर्ने कर (टोल ट्याक्स) निर्धारण भइनसकेको जानकारी दिए ।

'टोल ट्याक्स तोकेर सरकारले काम थाल्न अनुमति दिनेबित्तिकै हामी कार्यक्षेत्रमा पुग्छौ', माघ भित्रमा काम थाल्ने कम्पनीको लक्ष्य रहेको दोहोर्यामउँदै अध्यक्ष जोशीले भने ।
राष्ट्रिय गौरवको सो मार्गमा लगानी गर्न स्वदेशी-विदेशी लगानीकर्ताले अभिरुचि देखाएकाले रु २० अर्बको उक्त आयोजनामा रकमको अभाव नहुने उनको भनाइ थियो।
सेजनका अध्यक्ष प्रदीप चापागाईंले आर्थिक विकासको मेरुदण्ड भौतिक पूर्वाधार विकास भएको बताउँदै निजी-सार्वजनिक साझेदारीमा निर्माण गरिने उक्त मार्गले भारतसँगको विद्यमान व्यापार घाटा घटाउन उल्लेख्य सहयोग पुग्ने बताए ।
काठमाडौँबाट ४५ मिनेटमा हेटौडा पुगिने महात्वाकाङ्क्षी उक्त मार्ग सञ्चालन भएपछि दैनिक छ लाख लिटर डिजेल किन्नुपर्ने बाध्यताबाट नेपाल मुक्त हुने बताइएको छ।
पचास किलोमिटर लामो प्रस्तावित सुरुङ मार्ग निर्माण, हस्तान्तरण र सञ्चालन काम थालेको साढे तीनवर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ।
'डिभाइडर'सहित चार 'लेन'को द्रुतमार्गमा दुईतर्फी सवारी साधन सञ्चालन गरिने र कम्तीमा ३९ वर्षका लागि 'लिज'मा दिइनुपर्ने प्रस्ताव कम्पनीले सरकारसमक्ष प्रस्तुत गरेको थाहा भएको छ। रासस





तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......