सत्तारुढ मोर्चा पनि आन्दोलनमा

काठमाडौं, माघ ३  (नागरिक)- सत्तारुढ दलहरुको गठबन्धन संघीय गणतान्त्रिक मोर्चाले पनि नयाँ निर्वाचन गराउन सकारात्मक वातावरण बनाउन भन्दै जिल्लादेखि केन्द्रसम्म जनपरिचालन कार्यक्रम गर्ने जनाएको छ।
मंगलबार प्रतिपक्षी दलको गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले केन्द्रमा मात्रै रहेको गणतान्त्रिक मोर्चालाई जिल्ला तहमा पनि विस्तार गरी जनपरिचालन गर्ने निर्णय गरेको हो। 'संघीय गणतान्त्रिक मोर्चालाई जिल्ला तहमा पनि विस्तार गरी दबाबमूलक जनपरिचालनका कार्यक्रम गर्ने निर्णय भएको छ,' बैठकपछि मोर्चाका प्रवक्ता प्रेमबहादुर सिहले नागरिकसँग भने, 'कार्यक्रमको विस्तृत योजनाबारे पर्सि (बिहीबार) बस्ने बैठकले निर्णय गर्नेछ।'
बैठकले जनपरिचालनलगायत नयाँ चुनावका लागि दबाबमूलक कार्यक्रम तयार गर्ने जिम्मा सचिवालयलाई दिएको छ। 'विस्तृत कार्ययोजना बनाउने जिम्मा सचिवालयले पाएको छ,' सिंहले भने, 'बिहीबारको बैठकमा सचिवालयले पेस गरेपछि जनपरिचालन अभियान सुरु हुन्छ।'
बैठकले संविधानसभा पुनर्स्थापना एजेन्डालाई केन्द्रमा राखेर आन्दोलनका कार्यक्रम तय गर्नेसमेत निर्णय गरेको छ।
'राष्ट्रिय सहमति कायम गराउन संविधानसभा पुनर्स्थापना एजेन्डा खुला राख्ने निर्णय भएको छ,' सिंहले भने। बैठकले चुनाव, संविधानका अन्तर्वस्तुलगायत विषयमा प्याकेजमै सहमति नभई सरकार नछाड्ने अडानसमेत दोहोर्‍याएको छ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......