जिल्लाको दुर्गम गाविस ढोढना- ६ का
गृहणीले घरेलु हिंसाविरुद्ध लड्न एकजुट भएर नौ दिवसीय घरदैलो भिक्षा अभियान
चलाएका हन् । आइतबारबाट सुरु भएको उक्त अभियानमा अधिकारकर्मी महिलाले पनि
सहयोग गरिरहेका छन् ।
ग्रामीण भेगमा हुने घरेलु हिंसा अन्त्य
गर्न र अपराधीलाई कानुनको कठघरामा उभ्याउन नौ दिने भिक्षा अभियान चलाइएको
अभियानकी अगुवा रामकुमारी महराले बताउनुभयो । उहाँले भन्नुभयो- “आर्थिक
अभावमा हिंसा पीडित महिलाहरु अदालतसम्म पुग्न नसकेका कारण भिक्षा सङ्कलनमा
लागेका हौँ ।”
स्थानीय सतौनीदेवी चौधरीको अध्यक्षतामा
भिक्षा अभियान चलाउन महिला सञ्जालसमेत गठन भएको छ । उक्त सञ्जालमा ढोढना
गाविसका १ सय ७० गृहणी आबद्ध रहेका छन् ।
अभियानबाट सङ्कलन हुने रकमबाट कोषको
स्थापना गरिने बताइएको छ । यहाँका अधिकांश महिलाले गरिबीका कारण चुरे
जङ्गलबाट दाउरा ल्याई लहान बजारमा बिक्री गरेर बिहान बेलुकाको गर्जो टार्ने
गरेका सतौनीदेवी बताउनुहुन्छ । दाउरा बिक्री गरेर परिवार चलाउँदै आएका
महिलाले पनि भिक्षा अभियानमा सहयोग गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो- “हामी महिलाहरु धेरै
हिंसा सहन बाध्य भयौँ । अब सहने अवस्था रहेन । अब पनि महिलाहरु हिंसामा परे
भने अपराधीलाई कानुनको कठघारामा उभ्याएरै छाड्छौँ ।”
महिला हिंसाको क्षेत्रमा काम गर्दै आएको
ओरेक नेपाल नामक संस्थाका अनुसार सिरहामा एक वर्षमा १ सय ५५ वटा महिला
हिंसाका घटना घटेका छन् ।
अधिकांश घटनाका अपराधीमाथि कारबाहीसमेत नभएको ओरेक नेपाल लहान सिरहाका संयोजक लेखनाथ कटुवालको भनाइ छ । रासस
