थ्री स्टार ८ वर्षपछि सफल

प्रकाश तिमल्सिना, काठमाडौं, माघ ३ - सदाबहारको दाबेदार थ्री स्टार क्लब लिगमा नेपाल पुलिस क्लबविरुद्ध भने सधैं कमजोर रहने गर्थ्यो। तर यसपटक कथा बेग्लै ढंगले कोरिएको छ। लिगमा ८ वर्षपछि पुलिसलाई हराउँदै मंगलबार थ्री स्टार पुनः अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ। २०६१ पछि थ्री स्टारले पुलिसलाई मंगलबार पहिलोपटक हरायो। त्यतिखेर पहिलो लेगमा पुलिसविरुद्ध २-० ले विजय पाएको थियो। यसपालि पनि थ्री स्टारले सोही नतिजामा हराउँदै पुरानो जितको स्मरण गरेको छ। त्यसबखत लिगमा अपराजित रहँदै थ्री स्टार लिग च्याम्पियन बनेको थियो। त्यसयता सधैं दाबेदारमा हेरिए पनि थ्री स्टारले लिग जित्न सकेको छैन। उता पुलिस भने २०६३ पछि लगातार च्याम्पियन बन्दै आएको छ। २०६० बाट आधुनिक लिग खेल्न थालेको पुलिसलाई थ्री स्टारले हराएको यो दोस्रोपटक हो। २०६३ मा विराटकृष्ण श्रेष्ठ प्रशिक्षक भएयता पुलिस थ्री स्टारसँग हारेको पहिलो खेल हो। लिगमा १ सय ३४ खेलमा पुलिसको यो दसौं हार हो। त्यसमध्ये ४ हार जारी लिगकै हो।
जारी लिगलाई छाड्ने हो भने पुलिस क्लबलाई हराउनु फलामको च्युरा चपाउनुसरह थियो। अझ दाबेदार मानिएका अन्य टोलीसँग पुलिस सधैं सफल रहँदै आएको थियो। लिगमा पुलिस कमजोर बनेको यसैपटक हो। सिएमजी क्लब संकटासँग ३४ वर्षपछि जारी लिगमा पराजित पुलिसले लिगका १३ मध्ये ४ खेल गुमाइसकेको छ। ५ खेल जितेको छ भने ४ खेल बराबरी खेलेको छ। १३ औं चरण समाप्तिमा १९ अंकमा सीमित पुलिसको शीर्ष आठभित्र पर्ने सम्भावना थप कमजोर बन्दै गएको छ। पहिलो चरणका दुई खेल बाँकी रहँदा थ्री स्टार (२९ अंक) ले दोस्रो स्थानको म्याकडोवेल्स आरसिटी र तेस्रो स्थानको एनएमबी मछिन्द्रलाई स्पष्ट ३ अंकले पछि पारेको छ। पछिल्ला दुई खेलमा थ्री स्टारले १ अंकमात्र जोडेको थियो।
पुलिसका प्रशिक्षक श्रेष्ठले शीर्ष आठमा पर्न कठिन रहेको स्वीकारे। ‘सुपर एटमा सात टोलीको लगभग पक्काजस्तै भइसक्यो। बाँकी एउटा ठाउँका लागि सरस्वती र हाम्रोबीचमा प्रतिस्पर्धा हो,' उनले अनुमान लगाए, ‘त्यसमा पनि हामीलाई बढी गाह्रो छ। कम्तीमा आज बराबरी भइदिएको भए सम्भावना रहन्थ्यो।'
दोस्रो हाफको सुरुआतमै गोल खाएपछि सम्हालिन नसकेको पुलिसले खेल सकिन १२ मिनेटअघि अर्को गोलको सामना ग¥यो। थ्री स्टारको जितको आधार विदेशी खेलाडी अबियेडुन इब्राहिमले तयार पारे। ४७ औं मिनेटमा विक्रम लामाको छोटो पासमा पेनाल्टी बक्सभित्रबाट इब्राहिमले गोल गर्दै टोलीलाई अग्रता दिए। ७८औं मिनेटमा सुमन सुवेदीको आत्मघाती गोलपछि भने खेलमा फर्कने पुलिसको सम्भावना लगभग समाप्त सकियो। इडिविमी फेमीको पासमा भिक्टोरले प्रहार गरेको बल सुमनले रोक्न खोज्दा आफ्नै पोस्टमा गोल भयो।
थ्री स्टारलाई स्वाभाविक खेल खेल्नबाट रोक्ने योजना पूर्ण रूपमा सफल नभएको पुलिसका प्रशिक्षक श्रेष्ठको भनाइ थियो। ‘सुरुबाट हाम्रा मुख्य खेलाडी घाइते थिए। त्यसमाथि खेल्दा खेल्दै सुरज बिक घाइते भए। त्यसले गर्दा हाम्रो रक्षापंक्तिमा समस्या आयो,' उनले भने, ‘त्यसपछि स्वाभाविक खेल खेल्न नदिने हाम्रो रणनीति थियो। विजय गुरुङ र विराज महर्जनलाई रोक्यौं पनि। तर अनिल ओझाले अघि पछि भने राम्रो खेले।'
उता थ्री स्टारका प्रशिक्षक प्रदीप हुमागाईंले आफ्नो रक्षापंक्तिले उच्च प्रदर्शन गरेको उल्लेख गरे। ‘दुई साइडबाट योगेश श्रेष्ठ र भोला सिलवाल खेल्छन् भन्ने अपेक्षा थियो। साइडबाट खेलेका योगेश चलेनन्। भोला बीचबाट त्यति प्रभावकारी भएनन्,' उनले भने, ‘हाम्रो डिफेन्सलाइनले उच्च प्रदर्शन ग¥यो, जसका कारण जित्न सफल भयौं।'
हिमालयन शेर्पालाई राहत
सहिद स्मारक रेडबुल ए डिभिजन लिगको रेलिगेसन दबाबबाट पूर्ण रूपमा उम्कन नसकेका दुई टोलीबीचको भिडन्तमा यती हिमालयन शेर्पाले १० खेलाडीमा सीमित सामसुङ जावलाखेल २-१ ले हराएको छ। जसबहादुर राई र धिरोज तामाङको गोलमा पाँचौं जित दर्ता गराएको हिमालयन (१६अंक) ११औं स्थानमा उक्ले पनि रेलिगेसन खतरा पूर्ण टरिसकेको छैन। १३औं स्थानको जावलाखेलसँग रेलिगेसन क्षेत्रमा रहेको आइसबर्ग मध्यपुर युथभन्दा ४ अंक बढी छ। जावलाखेलले अब मध्यपुर र पुलिसको सामना गर्नेछ।
हिमालयनले बाँकी दुई खेलमा मध्यपुर र मछिन्द्रसँग खेल्नेछ। एपिएफको १५ अंक लिएर १२औं स्थानमा छ।
प्रशिक्षक मेघराज केसीले विपक्षी १० खेलाडीमा सीमित भए पनि आक्रामकभन्दा अग्रता जोगाउने प्रयासमा लागेको बताए। ‘हामीलाई जित चाहिन्थ्यो। अग्रता लिइसकेपछि हामीले त्यसलाई जोगाउनु थियो,' उनले भने, ‘विपक्षी १० भए पनि हामीले ‘जोनर' बलियो बनाउन आवश्यक थियो। त्यहीं ग¥यौं।' उनले टोली रेलिगेसनमा नपर्ने दोहो¥याए। ‘मैले सुरुबाट भन्दै आएको छु। हामी रेलिगेसनमा पर्दैनौं। यो रेलिगेसनमै पर्ने टोली होइन,' केसीले थपे।
जावलाखेलविरुद्ध पाँचौं मिनेटमा जसबहादुरको गोलबाट हिमालयनले अग्रता लियो। २९औं मिनेटमा धिरोज तामाङले गोल थपेपछि पहिलो हाफमा हिमालयन २-० ले अगाडि रहेको थियो। थोमस बाङ्गिरा बिकेटले ५२औं मिनेटमा गोल फर्काएको केही मिनेटपछि नै जावलाखेल १० खेलाडीमा सीमित भयो। दोस्रो पहेँलो कार्ड पाउँदै अजय थापा ५५औं मिनेटमा बाहिरिएपछि अन्तिम ३५ मिनेट जावलाखेलसँग एक खेलाडी कम थियो। थोमसको गोललगत्तै जुमा बेन्लीको गोल अफसाइड हुनु जावलाखेलका लागि दुर्भाग्य सावित भयो। इन्जुरी टाइमको अन्तिम मिनेटमा सुरज थिङको प्रहार हिमालयनका गोलकिपर विनय श्रेष्ठले जोगाउँदै खेल बराबरी हुनबाट रोकेका थिए।
आफ्नै गल्तीका कारण दुई गोल खाएको जनाउँदै जावलाखेलका प्रशिक्षक किशोर केसीले रेलिगेसनबाट जोगिन संघर्ष गर्नुपर्ने बताए। ‘संघर्ष बाँकी छ। तर पनि मैले त्यसलाई सरल रूपमा लिएको छु,' आशावादी हुँदै उनले भने, ‘अन्तिम दुई खेलमा हामीले १ अंक लिनैपर्छ।'
लिगमा बुधबार
एनआरटीविरुद्ध एपिएफ (१२३० बजे)
आरसिटीविरुद्ध सरस्वती (२३० बजे)

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......