आफ्नो
जिमेल अकाउण्टको पासवर्ड बिर्सेर हैरान हुनेहरु धेरै हुन्छन् । यहीँ
हैरानीलाई मध्यनजर गर्दै गुगलले अब जिमेलको पासवर्ड हटाउने तयारी गरेको छ
।गुगलले अहिलेको पासवर्ड प्रणालीलाई हटाउँदै जिमेल अकाउण्ट वालाको युएसबी
कि, मोबाइल फोन तथा गहनालाई जिमेल अकाउण्ट खोल्ने भौतिक साँचोको रुपमा
प्रयोग गर्न सकिने प्रविधिको सुरुवात गर्ने सोँच बनाएको हो ।
गुगलका सेक्युरिटी सम्बन्धी
अनुसन्धानकर्ताहरुले यस प्रकारको साँचो प्रणालीका विषयमा गरेको अनुसन्धानको
निष्कर्ष आउँदो महिना सार्वजनिक गर्नेछन् । अहिलेको पासवर्ड प्रणालीलाई
परिवर्तन गरी आफुले लगाएको गहना लगायतका सामानबाट जिमेलको अकाउण्ट खोल्ने
नयाँ प्रविधि सफल तथा कामयाबी हुने विश्वास अधिकारीहरुको छ ।यस्तो भौतिक
ताल्चालाई युएसबी ड्राइभ मार्फत प्रयोग गर्न सकिने र त्यसले त्यसबाट
प्रयोगकर्ताले आफ्नो इमेल अकाउण्ट खोल्न सक्ने बताइएको छ । यो प्रविधिको
अनुसन्धान गुगलका सुरक्षा सम्बन्धि उपप्रमुख इरिक ग्रसी र इन्जिनियर मायंक
उपाध्यायले गरेका हुन् ।
वास्तवमा गुगलले उत्पादन गर्ने त्यस्ता
स्मार्ट चिप्स जसलाई सेक्युरिटी पासवर्डको रुपमा प्रयोग गर्न सकिन्छ
त्यसलाई प्रयोगकर्ताले आफ्नो गहना तथा मोबाइल फोनमा राख्न सक्छन् । वायरलेस
प्रविधिको माध्यमबाट उक्त चिप्समा जडित सेन्सरले काम गर्छ र
प्रयोगकर्तालाई आफ्नो इमेल लगायतका अकाउण्टमा पहुँच सुरक्षित गर्छ । गुगलले
यस्तो साँचो वा भौतिक पासवर्ड हराउने समस्याबाट समेत प्रयोगकर्ताले टाउको
दुखाउनु नपरोस् भनेर यस्तो साँचो सजिलैसँग परिवर्तन गर्न सकिने विधि समेत
उपलब्ध गराउनेछ ।
