८ माघ, काठमाण्डौं । सामान्यतः भुस्याहा
कुकुरको रात सडकपेटी या कुनाकाप्चामा बित्छ । कमलादीका २१ कुकुरले भने मासु
भात खाएर सिरक डस्नामा सुत्न पाएका छन् ।
यी कुकुरलाई आफ्नै सन्तान झैं स्नेह गरेर
हुर्काइरहेकी छिन् गणेशस्थान मन्दिर परिसरमा बस्दै आएकी ५४ बर्षकी ज्ञानी
देउलाले । ‘मन्दिर दर्शन गर्न आएकाहरु कुकुरका छाउरा छाडेर हिँड्थे,’ उनले
भनिन् ‘तिनै बेवारिसे बच्चालाई माया गरेर हुर्काउँदै आएको छु ।’
मन्दिरमा फूल बेचेर जीविका चलाउँदै आएकी
उनले त्यसैबाट कुकुरलाई खानेकुरा किन्ने गरेको सुनाईन् । ‘दैनिक सय
रुपैयाँको मासु, दुई किलो चामल र चिया विस्कुट किन्ने गरेको छु,’ उनले
भनिन् ‘मन्दिरमा आएका भक्तहरुले पनि केही विस्कुट किनिदिने गरेका छन् ।’
देउलाले यी कुकुरलाई सिरक डस्नासमेत
व्यवस्था गरेकी छिन् । कुकुर दिनभर उनकै पछि लाग्छन् । उनले भनेका सबै कुरा
मान्छन् । उनीसँगै सुत्छन् । देउला पनि आफुलाई यी कुकुरको आमा भन्न
रुचाउँछिन् । इमान्दारिताका कारण कुकुर औधि मन परेको उनले बताइन् ।
‘स्वर्ग जाने पनि यिनै कुकुर, चन्द्रमा
जाने पनि यिनै,’उनले भनिन्, ‘यिनैलाई कतिपयले घाँडो सम्झेर मन्दिरमा ल्याएर
छाड्ने गरेका छन् ।’ कुकुरले दिउँसोको खाजाका रुपमा दुघ र बिस्कुट खाने
गरेको पनि उनले सुनाईन् ।
उनले मन्दिरमा कुकुर नछाड्न पनि आग्रह
गर्दै आएकी नागरिक दैनिकमा खबर छ । ‘यही भएकालाई स्याहार्न त आफूलाई गाह्रो
छ, अरु त पाल्न सक्दिन होला’, उनले भनिन् ।
