भुटान ८ विकेटले पराजित
११ माघ, काठमाडौं । थाइल्याण्डमा जारी
एसीसी महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात
गरेको छ । प्रतियोगिताको बिजेता बन्दै ट्वान्टी–२० विश्वकपको छनोट चरणमा
प्रवेश गर्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको साबिकको उपबिजेता नेपालले
आफ्नो पहिलो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको छ ।
प्रेम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ
सुरु गरेको भुटानले निर्धारित २५ ओभरमा ८ विकेटको क्षतिमा ६५ रन बनायो ।
उसका लागि देछिन बाङ्ग्मोले २३ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न
सकेनन् । भुटानले २० अतिरिक्त रन जोडेको थियो । उसलाई सस्तैमा समेट्ने
क्रममा नेपाली कप्तान रुविना क्षेत्रीसँगै निरा राजोपाध्यायले समान २–२
विकेट लिइन् भने करुणा भण्डारी, सीता मगर र नेरी थापाले समान १–१ विकेट
आफ्नो नाममा लेखाइन् ।
६६ रनको लक्ष्य लिएर मैदान उत्रिएको
नेपालले १३ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालको
जितमा रोशनी बोहोराले १९ तथा सीता मगरले १८ रन बनाइन् । स्कोर बोर्डमा ३ रन
हुँदा मधु थापालाई व्यक्तिगत १ रनमा गुमाएको नेपालले त्यसपछि सम्हालिएर
ब्याटिङ गरेको थियो । दोस्रो विकेटका रुपमा रोशनी आउट भएपछि सरिता मगरले
सीतालाई साथ दिएकी थिइन् । उनी ११ रनमा अविजित रहिन् ।
