काठमाडौँ, माघ ४ - कुनै समय थियो विशाल बजारभित्र रहेको नेपालकै पहिलो विद्युतिय भर्यााङ चढ्नका लागि भिड लाग्थ्यो। अहिले तिनै भर्या(ङ रित्तै तलमाथि गर्छन। ग्राहक आउने प्रतिक्षामा।
झण्डै चार दशकअघि पहिलो चरणमा सञ्चालनमा आएको नेपालकै पहिलो सुपरमार्केट यति बेला चहलपहल घटेको छ। २०५० सालतिर दैनिक दशौँ हजार सर्वसाधरण आउने यस बजारमा अहिले हजारको हाराहारीमा झरेको छ। बढ्दो सपिङ मल र घट्दो भारतीय पर्यटकको कारण व्यापार ह्वात्तै घटेको हो।
'व्यापार ९० प्रतिशत घटेको छ,' विशाल बजार व्यापार संघका जयराम श्रेष्ठले भने, ' कुनै समयमा भ्याइ-नभ्याइ हुने पसल अहिले ग्राहक कुरेर बस्न बाध्य छन्।' विगतमा विदेशी ब्राण्डका सामान र चिनियाँ सामाग्रीको खरिदको लागि भारतीय पर्यटकको भिड लाग्ने गरेको उनले सुनाए। 'अब ती सामानहरु भारतीयले आफ्नै देशमा पाउन थाले,' उनले भने, 'चिनियाँ सामाग्रीले बजार पिटेपछि यहाँको व्यापार चौपट भयो।'
चार तल्ले यस भव्य भवनमा २ सय ७५ पसल रहेको विशाल बजार कम्पनीका कार्यकारी प्रमुख जगनाथ दुलालले बताए। 'अहिले व्यापारमा कमी आएको हो,' उनले भने, 'भारतीय पर्यटक नआए पनि स्वदेशी ग्राहक भने आउँदै छन्।'

