६ माघ, पोखरा । सेताम्मे दाह्री, कपाल । गेरु रङको भोटो, कछाड, पटुका र
ढाकाटोपी । काँधमा झोला, साथमा लौरो । प्रष्ट बोल्ने खुला स्वभाव । उमेरमा
उनी जोसिलो र आत्मविश्वासीसाथ पढ्न र पढाउन व्यस्त भेटिन्छन् । सराङकोट ६
का ९० बर्षका अग्निहोत्री पं. केदारनाथ उपाध्यायको यति बेला जीवनोपयोगी
शिक्षा र सम्पत्ति ठान्ने संस्कृत, त्यसमा पनि वेद, रुद्री, चण्डी,
सन्ध्योपासनलगायत वैदिक संस्कृति शिक्षामै दैनिक बित्ने गरेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
संस्कृत नै नरहे संस्कार, संस्कृति मेटिने भन्दै उनले सबैलाई पढ्न सुझाउने गरेका छन् । जीवनको अनुभव र धर्मग्रन्थ सुनाएर आनन्दित तुल्याउँछ । सारस्वरसहित (हातको इसाराले रुद्री, वेद पढ्ने) सन्ध्योपासन (विधिपुर्वक गायत्री मन्त्र जप्ने) पढाउने उनी वैदिक धर्मको प्रचार, पूर्वीय श्रुति परम्पराको संरक्षण, गुरुकुल पद्धति अनौपचारिक ज्ञान प्रवाह अभियानमा लागिरहेका छन् ।
संस्कृति रहेमात्र आफ्नो अस्तित्व रहने भन्दै उनी पठन पाठन अभियानमा लागेका हुन् ।
